कांग्रेस सांसद वैद्यको आपत्तिजनक अभिव्यक्तिविरुद्ध चौतर्फी विरोध
काठमाडौँ ।नेपाली कांग्रेसका बाग्मती प्रदेश सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता बचाउनकै लागि देशघाती सम्झौता गरिरहेको जनाउँदै हाल नाथुराम गोड्से जस्ता व्यक्ति आवश्यक रहेको बताएका छन् ।
बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसद वैद्यले दिएको यो आपत्तीजनक अभिव्यक्तिको हाल चौतर्फी विरोध भइरहेको छ ।
‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ’ वैद्यले भने । नाथुराम गोड्से ती व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए ।
वैद्यको अभिव्यक्तिले देशभर तरंग सिर्जना गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आत्मालोचना गर्न निर्देशन दिएका छन् । ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन,’ शर्माले ट्वीट गरेका छन् ।



















