सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने विषय प्रदेश सभामा प्रवेश
ताप्लेजुङ । संघीय सरकारले बजेट भाषण मार्फत ताप्लेजुङको सुकेटार बिमानस्थलको नाम परिवर्तन गर्ने बिषयले प्रदेश सभामा समेत प्रवेश पाएको छ ।
प्रदेश सभाको आज बसेको बजेट अधिवेशनको दोश्रो बैठकको शून्य समयमा बोल्दै सत्तापक्षकै प्रदेश सभा सदस्यहरुले विमानस्थलको नाम रवीन्द्र अधिकारीको नाममा परिवर्तन गर्ने कुराले ४७ वर्षको इतिहास बनाएको सुकेटारको इतिहास मास्ने काम भएको बताएका छन् ।
प्रदेश सभा सदस्य बलबहादुर साम्सोहाङले युवा नेता रविन्द्र अधिकारीसँग जोडर सुकेटारको नाम राख्ने आधार नभएकाले त्यसमा पनि युवा नेता अधिकारी जस्ता युवा नेताको पनि अपमान गर्ने काम संघीय सरकारबाट गरिएको उनले बताए । उनले तत्काल संघीय सरकारले सुकेटार इतिहास मास्ने र युवा नेताको अपमान गर्ने आफ्नो निर्णय सच्याउनुपर्ने माग समेत राखे । उनले पाथीभराको तल्लो भेगमा युवा नेता अधिकारीको सम्मानका लागि रविन्द्र अधिकारीको नाममा पार्क बनाउने कामका अघि बढी रहेको पनि बताए ।
त्यसैगरी माओवादी केन्द्रकी प्रदेश सभा सदस्य सीतादेवी थेबेले सुकेटारको नाम परिवर्तन गर्ने बिषयले वस्तुनिष्ठ र ऐतिहासिकतामाथि हस्ताक्षेप गर्ने काम भएको बताइन् । उनले नाम परिवर्तनको कुरालाई हलुका रुपमा नलिन पनि संघीय सरकारसँग आग्रह गरिन् ।



















