मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री : आजै सपथ हुनसक्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका केही नेतालाई केही मन्त्रालयको जिम्मेवारीसहित आजै मन्त्रीको शपथ गराउने तयारी छ ।
नेकपा (एमाले) पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आज साँझ ५ बजेसम्म शपथको तयारी भइरहेको बताउनुभयो । कुन कुन मन्त्रालय कसलाई दिने भन्ने सूचीबारे आफूलाई जानकारी नभएको तामाङलेब ताउनुभयो ।
यसअघि माओवादी केन्द्र परित्याग गरी एमालेमा आउनुभएका नेताहरुले सम्हाल्नुभएका मन्त्रालय अहिले खाली छ । सोही मन्त्रालय जसपाका नेताहरुलाई जिम्मा दिएर शपथ गराउने तयारीमा ओली रहेको बताइन्छ ।
प्रधानमन्त्री ओलीसँग अहिले मौजुदा रहेका मन्त्रालयमा गृह, उद्योग बाणिज्य तथा आपूर्ति, उर्जा जलस्रोत तथा सिंचाई, शहरी विकास, खानेपानी, श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद, मन्त्रालय छन् । सोही मन्त्रालयको जिम्मेवारी जसपाका नेताहरुले सम्हाल्नुहुने करिब तय भएको छ ।
प्रधानमन्त्री ओलीले हिजो राती वाल्वाटारमा जसपाका अध्यक्ष ठाकुरसँग लामो छलफल गर्नुभएको थियो । सोही छलफलका आधारमा जसपाबाट केही नेताहरुलाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी भएको हो ।
जसपा स्रोतकाअनुसार नेता राजेन्द्र महतोको नेतृत्वमा जसपाले सरकारमा आजै सहभागी हुने तयारी गरेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्री परिषद्को तयारी भएपनि अहिलेसम्म अन्तिम टुङ्गो लालागि नसकेको बताउनुभयो । जसपाको पार्टी निर्णय भएर तयारी साथ आएमा प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्नुहुने उहाँले बताउनुभयो ।



















