नेपाल पक्षको रणनीति हेर्दै, स्थायी कमिटीको बैठक सार्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आह्वान गरेको स्थायी कमिटीको बैठक मंगलबार बिहानलाई सारेका छन् । माधवकुमार नेपालले नयाँ दल गठनको तयारी गरेका बेला ओलीले आइतबारदेखि स्थायी कमिटीको बैठक सार्दै मंगलबार बिहानलाई पुर्याएका हुन् ।
स्थायी कमिटीको बैठक राख्नु अघि झलनाथ खनाल तथा माधव नेपाल लगायतका नेताहरुलाई लक्षित गर्दै गाली गरेका ओलीले स्पष्टिकरण सोधेका १२ जना नेतालाई कारवाही गर्ने संकेत गरेका छन् । आइतबार महिला आयोगले आयोजना गरेको महिला अधिकार सम्बन्धी सार्वजनिक कार्यक्रमलाई बालुवाटारबाटै सम्बोधन गर्दै नेपाललाई आफ्नै सरकार ढाल्न हिडेको भन्दै गाली गरेका थिए । तर त्यसलगत्तै बस्ने भनिएको स्थायी कमिटी बैठक भने सोमबार बिहानसम्मका लागि स्थगित गराए तथा सोमबार बिहान पनि बैठक स्थगित गरेर मंगलबार बिहान पुर्याए ।
आइतबार ओलीले नेता नेपाललाई लक्षित गर्दै मुल सफा नभएपछि तलतिर फोहोर हुने नै भो भनेर गाली गरेका थिए । उनले नेता नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वभाविक भएको टिप्पणी गरे । उनले उनीहरुले मुलुकविरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गरे । ‘तीनले खाएको शपथ झुटो हो, तीनको शपथ बेइमानी हो।
तीनका शपथभित्र स्वार्थ पुरा गर्ने कपट लुकेको हुन्छ। अहिले तीनले खाएका शपथ सम्झनुहोस् त। तीनले कहाँ(कहाँ शपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन, सम्मानीय राष्ट्रपति ज्यूकोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नु भएछ गर्वसाथ। शरम छैन । जब नेतृत्व तह यस्तो हुन्छ, माथिबाटै धमिलो पानी बगेपछि तल संग्लो कहाँबाट आउँछ रु माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भईरहेको छ। यो चिन्ताको विषय छ’, ओलीले भने । ओलीले आइतबार यसो भनिरहँदा नेपाल पक्षका १२ जनालाई पनि कारवाही गर्न सक्ने संभावना बढेको आशंका थियो । तर ओली यसपटक एकै पटक सबैलाई कारवाही गर्ने कि नगर्ने भन्ने दोधारमा रहेका छन् ।
ओलीले स्थायी कमिटीको बैठक रोकेर १२ जना मध्ये कस–कसलाई कारवाही गर्ने कि एकपटक स्पष्टिकरण सोधेर राख्ने भन्ने बारेमा छलफल थालेका छन् । तर नेपाल समूहका नेताहरु भने अझै पनि पार्टीको विवाद मिलाउन सकिन्छ कि भनेर लागिरहेका छन् । नेपाल पक्षका नेता बेदुराम भूषालले पार्टीले कारवाही गरेर के हुन्छ भन्दै अझै पार्टीको विवाद मिलाउने पक्षमा रहेको बताउँछन् ।
यद्यपि उनले ओलीमा कुनैपनि प्रकारको आत्म ग्लानी र सुधार नभएको दावी गरे । ‘कारवाहीको अर्थ छैन यस्ता विषयहरु आइरहन्छन् हामी अझै आशावादी छौं, पार्टी विभाजन हुँदैन भन्नेमा विश्वस्त छौ । यदि भएन भने नेकपा एमालेलाई हामी पुर्नगठन गरेर अघि बढ्छौ’, नेता भूषालले भने । तर ओली समूहका नेताहरुले भने माधव नेपाल लगायत कारवाही गरिएका नेताहरुलाई पार्टीमा ल्याउन असंभव जस्तै रहेको बताउछन् । उनीहरुको राजनीति सकिएको ओली समूहका नेताहरुको दावी छ ।
हुनतः ओली आफैले माधव नेपाल अब पास टेन्स भएको बताएका थिए । ओलीको भनाईलाई नै आधार मान्ने हो भने नेपाल बाहेक अन्य नेताहरुलाई भने पार्टीबाट कारवाही गर्न चाहेका छैनन । भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञावाली बाहेक अन्य नेताहरुलाई भने ओलीले खास निकाल्न चाहेका छैनन । तर पनि ओलीले यसपटक समानुपातिक सांसदहरुलाई पनि पार्टीबाट निकालेका छन् ।
ओली समूहका नेता कर्ण थापाले नेपाल समूहका लागेका नेताहरु आत्मआलोचना गरेर पार्टीमा फर्किन कसैलेपनि नरोक्ने बताउँछन् । उनले पार्टीभित्र सबैलाई समान व्यवहार गरिएको समेत दावी गरे । ओली समूहको तयारी भने नेपाल समूहमा रहेका नेता कार्यकर्तालाई तानेर नेपाललाई कमजोर बनाउने रहेको छ ।
उनीहरुले जतिसक्दो चाँडो नेपाल समूहका नेता कार्यकर्तालाई आफ्नो पक्षमा पार्न लविङ गरिहरेका छन् । ओली समूहको यो रणनीति बुझेका नेता नेपालले गत बुधबार आफ्ना समूहका स्थायी कमिटी सदस्यहरुको नामसहित संयुक्त वक्तब्य जारी गरे । नेपाल समूहका १५ नेताले बुधबार सयुक्त वक्तव्य जारी गर्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध एकजुट हुन आव्हान गरेका थिए ।
ओली समूहले नेपाल पक्षले नयाँ दल गठन गरिहाले त्यहाँ गएर बाँकी रहेका नेताहरुलाई भने एमालेभित्रै राख्ने प्रयास स्वरुप अहिले नै सबै नेतालाई कारवाही गरेर निकाल्ने प्रयासमा देखिदैन । धेरै नेतालाई पार्टीबाट निकालेर विभाजनको दोष खेप्नु पर्ने भएकाले ओलीले स्थायी कमिटीको बैठक सारेर नेपाल पक्षको रणनीतिलाई नियालिरहेका छन् ।



















