ओलीनिकट युवासंघको अध्यक्षमा किरण पौडेल, बचनबहादुर सिंह साढे ३ महिनामै बिदा
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीनिकट युवासंघका अध्यक्ष बचनबहादुर सिंहलाई साढे तीन महिनामै बर्खास्त गरी किरण पौडेललाई मनोनीत गरिएको छ । युवासंघको बैठकबाट सोमबार पौडेललाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ उपाध्यक्ष पौडेललाई अध्यक्ष बनाउन निर्देशन दिएपछि सिंहलाई अध्यक्ष बनाएको साढे तीन महिनामै कु गरिएको छ । बचनबहादुर सिंह २०७७ माघ २६ मा युवासंघको अध्यक्ष मनोनीत भएका थिए । नेकपाको एकता भंग भएपछि युवासंघ पुनर्गठन गरी ओलीले बचनबहादुरलाई अध्यक्ष बनाएका थिए । एमाले-माओवादी एकताअघि रमेश पौडेल युवासंघ अध्यक्ष थिए । महेश बस्नेतले माघ २६ मै किरणलाई अध्यक्ष बनाउन खोजेका थिए । तर रमेश पौडेलहरु हावी मात्र भएनन्, भेला भएको तुल्सीलाल अमात्य प्रतिष्ठानमा हात हालाहाल नै भएपछि महेश बस्नेतहरु पछि हट्न बाध्य भएका थिए ।
बचनबहादुर सिंहलाई अध्यक्ष बनाउँदा ६ महिनापछि छाड्ने सहमति भएको थियो । ४० बर्षे उमेरहदले पनि उनी अध्यक्षबाट बिदा हुनुपर्ने सर्तनामा गराइएको थियो । ६ महिना पनि नबित्दै प्रधानमन्त्री ओलीलाई कन्भिन्स गरी महेश बस्नेतहरुले पौडेललाई अध्यक्ष बनाउन सफल भएका छन् । पौडेललाई अध्यक्ष बनाउन सफल भएपछि युवासंघमा महेश बस्नेत हावी भएका छन् । रमेश पौडेलको गुट युवासंघमा कमजोर भएको छ ।
पौडेल अध्यक्ष मनोनतीसँगै युवासंघमा कार्यविभाजन पनि गरिएको छ । उपाध्यक्ष १७, उपमहासचिव ४, सचिव २०, कोषाध्यक्ष र सहकोषाध्यक्षमात्रै ५ भन्दा बढी गरी ५० भन्दा बढी जम्बो पदाधिकारी मनोनीत गरिएको युवासंघमा रमेश पौडेल निकट रोशन बस्नेतलाई प्रकाशन विभाग दिइएको छ । रमेशका निकटहरुलाई पाखा पार्दै महेश बस्नेतका प्रियहरुलाई रोजेको विभाग दिइएको छ । महत्वपूर्ण मानिने प्रचार विभागको प्रमुखमा तातोपानी र रसुवाको ब्यापार गर्ने अशोक चौलागाईलाई जिम्मेवारी दिइएको छ । युवासंघमा ३१ वटा विभाग छन् । पदाधिकारीलाई नै विभाग नपुग्ने अवस्था छ ।



















