सुकेटार बिमानस्थलको नाम परिवर्तन नगर्न फुङ्लिङ नगरपालिकाले पत्राचार गर्ने
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सुकेटार बिमानस्थलको नाम परिवर्तन गर्ने सरकारी निर्णय सच्याउनका लागि केन्द्र सरकारमा अनुरोध गर्ने निर्णय गरेको छ ।
नगरप्रमुख छत्रपति प्याकुरेलको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको सोमवार सम्पन्न ७० औं बैठकले सुकेटार बिमानस्थलको नाम परिवर्तन गरी रवीन्द्र अधिकारी अधिकारी नामाकरण गर्ने सरकारी निर्णय सच्याउन सम्वन्धित मन्त्रालयमा ध्यानाकर्षण पठाउने निर्णय गरेको हो ।
सामाजिक सञ्जाल फेसबुकमा नगर कार्यपालिकाको निर्णय सार्वजनिक गर्दै उपप्रमुख भट्टराईले फुङ्लिङ नगरपालिका वडा नं १० र ११ को गोरुजुरेमा बिस्तृत परियोजना प्रतिबेदन(डिपीआर)समेत तयार भइ सकेको रवीन्द्र स्मृति पार्कमा बजेटको व्यवस्था गरी कार्य सम्पन्न गर्ने प्रकृयाका बारेमा समेत केन्द्र सरकारलाइ ध्यानाकर्षण पत्र पठाउने निर्णय गरेको उल्लेख गर्नु भएको छ । सरकारले बजेट बक्तब्यमार्फत ताप्लेजुङस्थित सुकेटार बिमानस्थलको नाम परिवर्तन गर्ने निर्णय लिएपछि अधिकाँसले त्यसको तीव्र बिरोध जनाउन थालेका छन् । सरकारले शनिवार आर्थिक २०७८।०७९ का लागि प्रस्तुत गरेको बजेट बक्तब्यमार्फत सुकेटार बिमानस्थलको नाम रवीन्द्र अधिकारी बिमानस्थल र तेह्रथुमको चुहानडाँडास्थित बिमानस्थलको नाम आङछिरिङ शेर्पा बिमानस्थल नामाकरण गर्ने निर्णय लिएको थियो ।



















