लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन हुँदै, मतपरिणाम आजै
काठमाडौं – राष्ट्रिय सभा अन्तर्गत लुम्बिनी प्रदेशतर्फ रिक्त सदस्य पदका लागि आज उपनिर्वाचन हुँदै छ । एमालेतर्फ चन्द्रबहादुर खड्का र नेपाली काँग्रेस, माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनका तर्फबाट कांग्रेसका दीर्घनारायण पाण्डे मैदानमा छन् ।
निर्वाचन आयोगका अनुसार सोमवार बिहान ९ बजेबाट ३ बजेसम्म मतदान हुने छ । मतदान सकिए लगत्तै मत गणना शुरु हुने छ । मतगणना शुरु भएको एक घण्टामै परिणाम आउने आयोगको अनुमान छ ।
निर्वाचनमा प्रदेश सभातर्फका ७९ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता छन् । प्रत्येक मतदान केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित ८ जनाका दरले कर्मचारी खटाइने छ ।



















