कृष्णसेन इच्छुक सम्झनामा ताप्लेजुङमा स्वास्थ्य सामग्री हस्तान्तरण

वेलकम खबर
जेष्ठ १३, २०७८

ताप्लेजुङ, । प्रेस संगठन नेपाल ताप्लेजुङले १९ औं कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा जिल्लामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । दिवसका अवसरमा प्रेस संगठनले नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखामार्फत सेनिटाइजर र मास्कजस्ता स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको हो ।

सदरमुकाम फुङ्लिङस्थित नेकपा (माओवादी केन्द्र) को कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य चन्द्र पन्दाक ‘प्रयास’ ले पत्रकार महासंघ ताप्लेजुङ शाखाका अध्यक्ष आनन्द गौतमलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै पन्दाकले कोरोना महामारीको विषम परिस्थितिमा प्रेस संगठनले उपलब्ध गराएको थोरै सहयोगले भए पनि जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुलाई राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रगतिशील साहित्यकार, लेखक तथा पत्रकार शहीद कृष्णसेनको योगदानलाई भूल्न नहुने बताउँदै परिवर्तन र जनपक्षीय पत्रकारिता गर्नुपर्नेमा पनि जोड दिनुभयो । यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) ले उत्पीडित वर्ग तथा परिवर्तनको पक्षमा कलम चलाएकै कारण तत्कालीन राज्य पक्षद्वारा कृष्णसेनको हत्या गरिएको बताउँदै शहीद कृष्णसेनले देखाएको बाटोलाई अनुशरण गर्दै निडर भई निश्पक्ष पत्रकारिता गर्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजयप्रकाश वनेम, जिल्ला कार्यालय सदस्य विष्णुकुमार हाङ्बाङ लगायतको उपस्थिति रहेको थियो । यस अवसरमा १० लिटर सेनिटाइजर र दुई सय थान सर्जिकल मास्क पत्रकार महासंघलाई हस्तान्तरण गरिएको प्रेस संगठन नेपाल ताप्लेजुङका सचिव जीवन कालिकोटेले जानकारी दिनुभयो । कालिकोटेका अनुसार शहीद कृष्णसेन इच्छुकप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*