संसद विघटनविरुद्ध उभिन ताप्लेजुङका चार राजनीतिक दलको संयुक्त आह्वान
ताप्लेजुङ ।संसद विघटनविरुद्ध उभिन ताप्लेजुङका ४ राजनीतिक दलले आइतबार सार्वजनिक आह्वान गरेका छन् । आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, नेकपा एमाले (माधव पक्ष), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले सो आह्वान गरेका हुन् । विज्ञप्तिमा नेपाली काँग्रेसका जिल्ला उपसभापति मणिप्रसाद लावुङ, नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङ, माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजयप्रकाश वनेम र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कीर्तिमान मादनले हस्ताक्षर गर्नु भएको छ ।
विज्ञप्तिमा नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा १ सय ४९ जना सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा पुग्दा समेत राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानमा भएको व्यवस्थाअनुसार कारवाही प्रक्रिया अघि नबढाएको भन्दै रोष प्रकट गरिएको छ । विज्ञप्तिमा राष्ट्रपतिको उक्त कदम प्रधानमन्त्री केपी शर्मा ओलीको संसद भंग गर्ने निर्णय र राष्ट्रपतिद्वारा गरिएको सदरलाई लोकतन्त्र र संबिधान बिरोधी गतिविधिको संज्ञा दिइएको छ ।
नेपालमा शान्ति, स्थिरता नचाहाने विभिन्न शक्तिकेन्द्रको आडभरोसा र इसारामा असंवैधानिक, स्वेच्छाचारी, प्रतिगमनकारी एवम् अपराधिक र दुरासायपूर्ण भावनाबाट दोस्रो पटक संसद विघटन गरी कथित मध्यावधि निर्वाचनको घोषणा गर्नु देशलाई थप अँध्यारोतिर धकेल्ने काम भएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपाली जनता प्रताडित भइरहेका बेला जनतालाई खोप उपलब्ध गराउनुपर्ने, उपचारको व्यवस्था गर्नुपर्ने, राहत उपलब्ध गराउन नलागी मध्यावधि निर्वाचन घोषणा गरेर जनताको स्वास्थ्यमाथि खेलवाड गरिएको दलहरुले भनेका छन् । गैर संवैधानिक रुपमा मध्यावधि निर्वाचनको नाटक मञ्चन गरेर जनताका अधिकारलाई खारेज गर्ने, देशमा तानाशाह एवम् निरंकुसता स्थापित गर्न खोज्ने उक्त प्रतिक्रियावादी कदमविरुद्ध सशक्त रुपमा प्रतिरोध गर्न र संविधान तथा लोकतन्त्रको रक्षाका लागि एकजुट हुन जनसमुदायलाई विज्ञप्तिमार्फत अपिल पनि गरिएको छ ।



















