ओलीले गल्ती सच्याउनुभयो, अब एमालेलाई २०७५ जेठ २ को अवस्थाबाट सञ्चालन गर्नुपर्छ : भट्टराई
काठमाडौँ । माधवकुमार नेपाललगायत चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने निर्णयलाई सकारात्मक भन्दै झलनाथ खनाल-माधवकुमार नेपाल समूहका एक नेता योगेश भट्टराईले अब पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।
पार्टी सचिव तथा नेपाल समूहका नेता योगेश भट्टराईले नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि कारबाही गरेर भएको आफ्नो गल्ती अध्यक्ष ओलीले सच्याएको बताएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले चार नेतालाई ६ महिनाका लागि निलम्बन गर्ने गत चैत महिनाको निर्णय फिर्ता लिएको थियो । उक्त बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी सञ्चालनबारे आफूमा भएका सबै अधिकार दिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताएका थिए ।
स्थायी कमिटीको उक्त निर्णपछि सचिव योगेश भट्टराईले अब पार्टीलाई सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलाअनुसार २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढाउनुपर्ने बताएका छन् । ‘हाम्रो मुख्य कुरा भनेको २०७५ जेठ २ गतेको अवस्थाबाट नेकपा (एमाले)लाई सञ्चालन गर्नुपर्छ भन्ने हो । त्यसमा अध्यक्षबाट सकारात्मक सम्बोधन हुनेछ भन्ने अपेक्षा छ,’ चार नेतालाई गरिएको कारबाही फुकुवाको निर्णयबारे उनले भने, ‘यो कारबाही गर्नु आवश्यक थिएन । उहाँहरूले गल्ती गर्नुभएको थियो, आफ्नो गल्ती सच्याउनुभयो ।’
एमालेको एकता कायम राख्नका लागि अध्यक्ष ओलीलाई पार्टीको २०७५ जेठ २ गतेको संगठनलाई ब्युँताउनुपर्ने भट्टराईको भनाइ छ । ‘यो कुरालाई पनि अध्यक्षले सम्बोधन गर्न तयार हुनुहुन्छ भन्ने आश गर्छु,’ उनले भने ।
एमालेको खनाल-नेपाल समूहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिँदा सरकार अल्पमतमा परेको छ । बैशाख २७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेका थिएनन् । खनाल र नेपाल समूहका सांसद उक्त बैठकमा अनुपस्थित रहेका थिए । पछिल्लो समय यो समूहका सांसद राजीनामा दिने भन्नेमा पुगेको बेला नेताहरूमाथिको कारबाही फुकुवा गरिएको हो ।



















