नेपाल-खनाल पक्षले बोलाएको एमाले कार्यकर्ता भेला आजदेखि

वेलकम खबर
चैत्र ४, २०७७

काठमाडौ । सत्तारूढ नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरू हुने भएको छ।

भेलाको सबै तयारी पूरा भइसकेको उक्त समूहले बताएको छ। ललितपुर सानेपास्थित होटल हेरिटेज गार्डेनमा बुधबार बिहान ११ बजे भेला सुरू हुने भएको हो।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले भेला नगर्न भने पनि उक्त समूहले पूर्वनिर्धारित भेलालाई जारी राख्ने भएको छ।

भेलामा जिल्लाका अगुवा कार्यकर्ता र केन्द्रीय समिति सदस्य गरी दुई हजार जनाभन्दा बढी सहभागी हुने एमाले नेता योगेश भट्टराईले बताएका छन्।

अध्यक्ष ओलीले एकलौटी हिसावले गत फागुन २८ मा केन्द्रीय समिति बैठकबाट नेकपा माओवादीका नेता रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेपछि नेपाल(खनाल समूह असन्तुष्ट छ। उक्त निर्णय पार्टी विधानविपरीत हुने भन्दै फिर्ता लिन उक्त समूहले माग गरेको छ।

तर पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष ओली र नेपाल पक्षबीच भएको छलफलमा फागुन २८ को निर्णयबारे समीक्षा र पुनरावलोकन गर्न सकिने भए पनि फिर्ता लिन नसकिने ओली पक्षले बताएको थियो।

राष्ट्रिय कार्यकर्ता भेला बिहीबारसम्म चल्नेछ। तोकिएको समय र स्थानमा भेला चल्ने भएकोले भ्रममा नपर्नेसमेत नेता भट्टराईले आग्रह गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*