नेकपाको विवाद चाँडो टुंगो लगाउन काँग्रेसको आग्रह
काठमाडौं। काँग्रेसले नेकपाको आन्तरिक झगडाका कारण राष्ट्र र संसद्लाई लामो समय बन्धक राख्न नमिल्ने भन्दै विवाद चाँडो टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल समुहलाई आग्रह गरेको छ ।
वैधानिक रुपमा नेकपा विभाजन हुने–नहुने टुंगो लाग्न नसक्दा भावी सत्ता समीकरण अन्योलमा बढ्दै गएको छ ।
काँग्रेसले प्रधानमन्त्री ओलीलाई पार्टी विभाजनका लागि अप्ठ्यारो परेमा दल विभाजनलाई सहज हुने गरी यसअघि ल्याएकै अध्यादेशलाई विधेयकका रुपमा ल्याए सहयोग गर्ने संकेत पनि दिएको छ ।
प्रधानमन्त्री ओलीले भने दल विभाजनसम्बन्धी कानुन विधेयकका रुपमा नभएर अध्यादेशकै रुपमा ल्याउने बताइरहेका छन् । अधिवेशनलाई केही दिन चलाएर अन्त्य गरिदिने, त्यसपछि अध्यादेश ल्याउने संकेत उनले दिएका छन् ।
स्रोतका अनुसार ओलीको यस्तो प्रयासलाई साथ दिन नसकिने काँग्रेसले जनाएको छ ।



















