को हुन् उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला ?

एजेन्सी। संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेन विजयी भएका छन् । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति बनेकी छिन् ।
अमेरिकामा यो उच्चस्तरमा पुगेको उनी नै पहिलो महिला पनि हुन् । विश्वको शक्तिराष्ट्र मानिएको र लगभग विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने देश संयुक्त राज्य अमेरिकामा सन् २०१६ को नोभेम्बरमा अमेरिकामा एउटा नयाँ विषयको ठूलो बहस चलेको थियो ।
के अब अमेरिकाले महिला राष्ट्रपति पाउला ? महिला समानता, लैंगिक समानता तथा नारी अधिकारका साथै मानवअधिकारका बारेमा विश्वलाई नै पाठ पढाउने अमेरिकाले महिला राष्ट्रपति पाउन नसकेको चर्चा उक्त समयमा अमेरिकामा सुरु भएको थियो ।
विश्वका कैयौं अविकसित र दक्षिण एशियाली राष्ट्रहरुमा कार्यकारी प्रमुखका रुपमा महिलाले हाँकिसकेका अवस्थामा पनि अमेरिकामा महिला राष्ट्रपति नभएको कारण उक्त बेलामा चर्चाको विषय थियो ।
अमेरिकामा ४५ औँ राष्ट्रपतिको लागि सो निर्वाचन हुन लागेको थियो । अमेरिकी राष्ट्रपतिको यस निर्वाचनको प्रतिस्पर्धामा एक जना महिला नेत्री पूर्व विदेशमन्त्री हिलारी रोधम क्लिन्टन पनि उम्मेदवार रहेकी थिइन् ।
विश्वको एक प्रमुख शक्तिराष्ट्रको रुपमा परिचित रहेको यस देशको राष्ट्रपति पदमा एक जना पनि महिला आउन सकेका थिएनन् । यद्यपि भारत, दक्षिण कोरिया, अल्जेरिया, ब्राजिल नेपातलगायत विश्वका कैयन् ठूला साना राष्ट्रहरुमा महिलालाई राष्ट्रपति बन्ने अवसर प्राप्त भइसकेको छ ।
अमेरिकाको ४५ औँ राष्ट्रपतिका लागि हुन गइरहेको यस निर्वाचनमा मात्र होइन यसअघिका निर्वाचनहरुमा पनि राष्ट्रपतिका लागि महिलाहरुले उम्मेदवारी नदिएका भने होइनन् । तर क्लिन्टन अमेरिकी राजनीतिमा एक शक्तिशाली महिला थिइन् ।
निर्वाचनमा उम्मेदवारी दर्ता एवं प्रचारप्रसारको सुरुवातदेखि नै चुनावी मैदानमा अन्य उम्मेदवारहरु उत्रेका देखिए तापनि रिपब्लिकन पार्टी तर्फका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्यटिक पार्टीकी उम्मेदवार, पूर्वविदेशमन्त्री हिलारी क्लिन्टबीच मात्र प्रतिस्पर्धा भएजस्तो देखियो र यो अवस्था अन्त्यसम्म पनि कायमै रह्यो ।
प्रचारप्रसारको सुरुदेखि नै अमेरिकी जनता, पर्यवेक्षक र अमेरिकी राजनीतिसँग सरोकार वा चासो राख्ने बाह्य विश्व समूदायले हिलारी क्लिन्टनले जित्ने नै बलियो अनुमान गरेका थिए ।
अमेरिकाको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति बन्न विजयको नजिकै पुग्न लागेकी क्लिन्टनले अन्तिम क्षणमा पराजयको पीडा भोग्नु प¥यो । मत प्राप्तिका रुपमा अगाडि नै रहेकी क्लिन्टन अमेरिकाको मतदानको पराम्पराअनुसार राज्यको हिसाबबाट पछि पर्दै हारेकी थिइन् ।
विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने संयुक्त राज्य अमेरिकाको इतिहासमा नै पहिलो पटक सशक्त महिला उम्मेदवार चुनावी मैदानमा उत्रनाले विश्वभर नयाँ चर्चाको विषय बनेको यथार्थमा फेरि एक पटक सेलायो ।
सम्पूर्ण विश्वलाई महिला अधिकारको पाठ सिकाउने अमेरिकाको ४५ औं राष्ट्रपति पदमा पनि बर्षौदेखिको राजनितिक इतिहास बोकेकी एउटी महिला विजयी हुन सकिनन् । अमेरिकामा ४५ औं राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका नेता डोनाल्ड एक पुरुष नै उदय भयो । महिलालाई अत्यन्त शक्तिशाली देशको राष्ट्रपतिको रुपमा हेर्ने चाहाना बोकेका विश्वका कैयौ महिलालाई नराम्रो अनुभव गरायो ।
तर समयको पर्खाइपछि अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति बनीन् । जमाइकाली मूलका डोनाल्ड ह्यारिस र भारतीय मूलकी श्यामला गोपालनकी जेठी छोरीका रुपमा ५५ वर्षअघि कमलाको जन्म भएको हो ।
उनीहरुकी जेठी छोरीका रुपमा कमलाको जन्म भएको थियो । बिहे गरेको केही वर्षमै कमलाका बावु र आमाको सम्बन्ध विच्छेद भएको थियो । पितासँग अलग भएपछि कमला र उनकी बहिनी माया दुवै छोरी आमासँगै हुर्किएका थिए ।
हाइस्कुलको पढाइ सकिनेबित्तिकै कमलाले वकिल बन्न अगाडिको पढाइ तयारी गरेकी थिइन् । ५५ वर्षीया कमला ह्यारिसले शुरुमा अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवार हुने बताएकी थिइन् । तर उनी गत डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी हुन् ।
क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी ह्यारिसका पिता जमैकाली नागरिक र आमा भारतीय नागरीक हुन् । उनकी आमा भारतमा जन्मीएकी र पिता जमैकामा जन्मेकाले उनीहरुलाइ अमेरिकाका लागि अस्वेत तथा अफ्रो एसियाली पहिलो महिला उपराष्ट्रपतिका रुपमा विश्वमा मिडियाले प्रचार गरेको छ ।
उनले हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन् । उनले सधैँ आफूलाई “एक अमेरिकी“ भन्ने गर्थिन् । भारतीय–जमैकन मूलकी उनी क्यालिफोर्नियाकी सांसद थिइन् र कुनैबेला त उनले राष्ट्रपतिकै उम्मेदवारका लागि जोन बाइडेनलाई समेत चुनौती दिएको चर्चा पनि व्यापक भएको थियो ।
पछि उनी राष्ट्रपतिको उम्मेदवारको दाबीबाट हटेपछि पनि उनको नाम चर्चामा नै रहेको थियो । ह्यारिस क्यालिफोर्नियाको महान्यायाधिवक्ता पनि भइसेकी हुन् । उनले केही समयमात्र अघि अमेरिकामा देशव्यापीरूपमा भएको रंगभेदविरुद्धको प्रदर्शनका क्रममा अमेरिकी प्रहरीमा सुधार हुनुपर्ने माग पनि राखेकी थिइन् ।
त्यस क्रममा पनि उनी चर्चामा आएकी थिइन् । उनले त्यस आन्दोलन ताका ट्रम्प प्रशासनका साथै प्रहरीमा पनि व्यापक मात्रामा सुधार गर्न आह्वान समेत गरेकी थिइन् ।
कमला ह्यारिसका आमा श्यामला गोपालन पनि अधिकारको संघर्षमा लाग्ने महिला हुन् । श्यामलाले मानवअधिकारका पक्षमा लागेर यसैको अभियानमा काम गर्दा छोरी ह्यारिसलाई पनि साथमा लाने गरेकोले उनकै प्रभावले आफू पनि अधिकारको आन्दोलनमा लागेको अनुभव कमलाले समय समयमा मिडियालाई बताउने गरेकी छिन् ।
केही समयअघि अमेरिकाका एकजना अस्वेत नागरिकलाई प्रहरीले गरेको दुव्र्यवहारका कारण अमेरिकाभर भएको आन्दोलनमा पनि कमलाले ट्रम्प प्रशासनको विरुद्धमा र अमेरिकी अस्वेत नागरिकको पक्षमा लागेर काम गरेकी थिइन् ।
कमला अमेरिकामा उच्च पदमा पुग्न सफल भइन् । अव अमेरिकी राष्ट्रपति पदमा महिला पुग्नको लागि एक पाइला मात्र बाँकी छ ।