वित्तीय संस्था पुग्न थालेपछि साहुबाट चर्को ब्याजदरमा ऋण लिने चलन हट्दै
ताप्लेजुङ। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र समृद्ध पहाड परियोजनामार्फत ताप्लेजुङको दुर्गम गाउँमा वित्तीय संस्था पुग्न थालेकाले साहुबाट चर्को ब्याजदरमा ऋण लिने चलन अहिले हट्दै गएको छ।
वि. सं. २०६१ मंसिर महिनामा विवाहका लागि ३६ प्रतिशत ब्याजदरमा साहुबाट रू. ६० हजार ऋण लिनुभएका बिर्खबहदुर लिम्बूले ऋण तिर्न नसक्दा विदेशिनु प¥यो। त्यस्तै तिरैतो खेती गर्न साहुबाट त्यत्तिकै ब्याजदरमा रू चार लाख ऋण लिनुभएका केरसिंङ लिम्बूलाई ऋण चुक्ता गर्न तीन वर्ष लाग्यो।
केही वर्ष अघिसम्म घर खर्च चलाउन साहू–माहाजनकहाँ रक्सी, मासुलगायत कोसेली बोकेर चर्को ब्याजदरमा ऋण माग्न जानुपर्थ्यो। बैंक तथा वित्तीय संस्थामा पहुँच पुग्ने ती साहू–महाजनले त्यहीबाट सस्तो ब्याजदरमा ऋण लिएर गाउँमा चर्को ब्याजदरमा ऋण दिलाउने गरेको फक्तुङलुङ गाउँपालिका–६ का श्याम लिम्बूले बताए।
साहूले ऋण दिएपछि तिनको गुलामी बन्नु पर्ने र उनीहरूलाई चित नबुझे प्रहरी प्रशासन लगाएर दुःखसमेत दिने प्रचलन अहिले हट्दै गएको उहाँको भनाइ थियो। ती दुबै संस्थाले फक्ताङलुङ र सिरिजंघा गाउँपालिकालाई कार्यक्षेत्र बनाएर विगत छ वर्षदेखि हिमाली गाउँ बस्तीहरूमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले विभिन्न चार सहकारीमार्फत सुलभ ब्याजदरमा कर्जा प्रवाह गरी आय आर्जनका काममा लगाएर बचतसमेत गर्ने बानीको विकास गर्दै आएको उक्त परियोजनाका कार्यक्रम संयोजक चित्राकुमारी चङसुले बताए।
यसरी सञ्चालित सहकारीमध्ये फक्ताङलुङ गाउँपालिका ५ तापेथोकस्थित तागेरा बचत तथा ऋण सहकारी संस्थामा २४३ महिला २१५ गरी ४५८ सदस्य, सोही गाउँपालिकाको वडा नं. ६ स्थित संरक्षण बचत तथा ऋण सहकारीमा २०६ महिला २३२ पुरुषसहित ४३८ सदस्य र वडा नं ७ स्थित बालुङ बचत तथा ऋण सहकारीमा ५१ महिला ५३ पुरूष गरी जम्मा १०४ सदस्य रहेका छन् भने सिरिजङघा गाउँपालिकाको वडा नं. ७ स्थित यालुखाङ बहुउदेश्यीय सहकारीमा ८० महिला र ८० पुरूष गरी १६० सदस्य रहेका छन्।
ती सहकारीले ऋण प्रवाह गर्नाका साथै बचत गर्ने बानीको विकास र व्यापार व्यवसाय सञ्चालनका लागि उत्प्रेरित गर्दै आइरहेका छन्। बित्तीय पहुँचबाट टाढा रहेका दुर्गम तथा हिमाली क्षेत्रमा बसोबास गर्ने ती समुदायको जिविकोपार्जन, दिगो विकास र अन्य आर्थिक कृयाकलापमा टेवा पुर्याउनका लागि सहकारीमार्फत कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक चङसुले बताए।
अहिले सहकारीबाट ऋण लिएर युवाहरूले कुखुरा फर्म, कृषि फर्म तथा काठ काटने उपकरण खरिदलगायतका व्यपार व्यवसाय गर्दैआएको स्थनीय कुशल लिम्बूले जानकारी दिए। रासस



















