कात्तिक १ बाट नेपाल-भारत हवाई उडान खोल्न प्रस्ताव
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतका लागि हवाई उडान सुरु गर्न प्रस्ताव गरेको छ। मन्त्रालयले आगामी १ कात्तिकबाट भारतको उडान खोल्न प्रस्ताव गरेको हो। चैत ११ पछि भारतमा नियमित उडान भएको छैन। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा यस्तो प्रस्ताव पठाएको मन्त्रालयले जनाएको छ। भारतमा रहेका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकको दूतावासको पहलमा घर फर्काउन सक्ने गरी भारतले ‘एयर बबल स्किम’ जारी गरेको छ।
सोहीअनुसार भारतमा एक दर्जनभन्दा बढी मुलुकमा उडान सञ्चालन गरिरहेको छ। यो स्किम पाकिस्तानबाहेक भारतका नेपालसहित सबै छिमेकी मुलुकमा खुला छ। अर्थात नेपालले नयाँ दिल्लीस्थित दूतावासको समन्वयमा भारतमा रहेका नेपालीलाई घर फर्काउन सक्ने गरी उडान खोल्न सक्छ। तर, भारतमा बढ्दो कोरोना भाइरसको सङ्क्रमणका कारण सरकारले भारतका लागि उडान खोल्नेबारे निर्णय लिइसकेको छैन। तर, नजिकिएको दशैं, भारतमा उपचार र अध्ययनका लागि जानु पर्ने वा त्यहाँबाट फर्कनु पर्ने ठूलो सङ्ख्यामा नेपाली हवाई उडान खुल्ने मितिको प्रतीक्षामा छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ‘एयर बबल स्किम’मा सहभागी हुन सक्ने गरी भारतले गत अगस्ट मै नेपाललाई सन्देश पठाएको हो। यस्तो जानकारी भारतले नियमित उडान गर्दै आएका विश्वका सबै मुलुकलाई दिएको थियो। यो स्किम अनुसार भारतमा रहेका नागरिकलाई नेपालले स्वदेश फर्काउन हवाईमार्गको प्रयोग गर्न सक्छ। त्यसका लागि भारतले अनुमति पनि दिन्छ। सोहीअनुसार नेपालले भारतको उडानको तयारी गरेको प्राधिकरणले जनाएको छ।
१ कात्तिकमा उडान खोल्नेबारे प्रस्ताव सीसीएमसीबाट पास भएमा यो निर्णय मन्त्रिपरिषद्मा जाने छ। मन्त्रिपरिषद्ले पास गरेपछि मात्र भारतका लागि उडान खोल्ने औपचारिक निर्णय हुनेछ।



















