प्रधानमन्त्री र अध्यक्ष दुबै पद ओलीलेनै सम्हाल्ने

काठमाडौं। पार्टीभित्रको विवाद समाधान गर्ने उद्देश्यले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलले सहमतिको खाकासहितको प्रतिवेदन तयार पारेको छ। सो प्रतिवेदन छिटै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइने तयारी गरिएको जनाइएको छ।
अध्यक्षद्वय ओली र दाहालका बीचमा पछिल्लो समय सरकारी नियुक्तिका विषयमा विवाद भएकाले प्रतिवेदन बुझाउनमा केही ढिलाइ भएको पनि बताइएको छ।
शनिबार वा आइतबार०सम्म सो प्रतिवेदन बुझाइने बताइएको छ। साथै काम सकेर अन्तिम चरणमा पुगेको र प्रतिवेदन कार्यान्वयन भए पार्टीको विवाद समाधान हुने पनि बताइएको छ।
नेकपा महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहने गरी ६ सदस्यीय कार्यदल गत शुक्रबार गठन भएको थियो। कार्यदलले गत शनिबारदेखि काम सुरु गरेको हो।
कार्यदलका एक सदस्यका अनुसार गत ४ मंसिर २०७६ मा भएको सहमतिअनुसार नै प्रतिवेदनमा ओली र दाहालको कार्यविभाजनलाई पुनव्र्याख्या गरिएको छ। ओलीले पूर्ण रूपमा सरकार सञ्चालन गर्ने र दाहालले कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने गरी प्रतिवेदन तयार गरिएको छ।
स्थायी कमिटीमा माग भएअनुसार ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनु नपर्ने व्यवस्था गरिएको छ। दाहालले पार्टी एकताको काम सकेर गत माघमा केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार आगामी चैत अन्तिम साता एकता महाधिवेशनको तयारी गर्ने गरी कार्यविभाजन भएको छ। ओलीले सरकार सञ्चालन गर्ने क्रममा महत्वपूर्ण नियुक्तिका विषयमा पार्टीमा छलफल र निर्णय गरेर गर्ने गरी अगाडि बढ्नुपर्ने विषय पनि प्रतिवेदनमा समेटिएको छ।
मंसिर ४ को सहमतिअनुसार कार्यदलले दुई अध्यक्षबीचको अधिकार बाँडफाँडका साथै संघीय र प्रदेश सरकार पुनर्गठनको विषयमा समेत उल्लेख गरेको छ। सरकार र पार्टीको काम प्रभावकारी बनाउन संघीय सरकारका केही मन्त्रीहरू फेर्ने र नयाँ बनाउनुका साथै प्रदेशका केही मुख्यमन्त्रीसमेत फेरबदल हुने भएको छ। यस्तै, सरकारको काम प्रभावकारी बनाउन उच्चस्तरको संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको भए पनि त्यसको मोडालिटीबारे पनि टुंगो लागेको छैन।
गत शुक्रबार गठन भएको कार्यदललाई सोमबारको सचिवालय बैठकले औपचारिकता प्रदान गरेको थियो। त्यसयता कार्यदलका सदस्यहरूले अध्यक्षद्वय ओली र दाहालका साथै वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपालसहितका शीर्ष नेतासँग छलफल गरेको छ।