कोरोनाविरुद्धको खोप बनिसकेको रुसको दावी

एजेनसी। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरसविरुद्धको खोप विकास गरेर प्रयोगमा ल्याएको दावी गरेका छन्। पुटिनले कोरोनाविरुद्धको खोप आफ्ना दुई छोरीलाई लगाएको र उनीहरुलाई कुनै साइड इफेक्ट नदेखिएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।
पुटिनले मङ्गलबार खोपको विकास गरी दर्ता भएको जानकारी दिएका हुन्। कोरोनाविरुद्धको खोप दर्ता गर्ने रुस पहिलो राष्ट्र बनेको छ। रुसका अधिकारीहरुले यो खोप डाक्टर, स्वास्थ्यकर्मीसहित मेडिकल कर्मचारी, शिक्षक र अरु उच्च जोखिममा रहेका वर्गमा दिइने जनाएका छन्।
समाचार एजेन्सी एजेन्सी एएफपीको जानकारी अनुसार यो खोप मस्कोको गामेल्या इन्स्टिच्युटले बनाएको हो। रुसी राष्ट्रपति पुटिनले रुसमा चाँडै नै यो खोपको उत्पादन सुरु गर्ने र ठूलो सङ्ख्यामा खोपको डोज बनाउने बताएका छन्।
अब यदि रुसले गरेको दाबी सही साबित भएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले खोपलाई मञ्जुरी दियो भने विश्वको लागि यो एउटा ठूलो राहत साबित हुन सक्ने बताइएको छ।
अहिले विश्वभर नै कोरोना भाइरसविरुद्धको खोप बनाउनको लागि कैयौँ ठाउँमा परीक्षण भइरहेको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार झण्डै सयभन्दा धेरै खोप बनाउनको लागि काम भइरहेको छ। जसमा अमेरिका, बेलायत, इजरायल, चीन, रुस, भारत जस्ता देश सामेल छन्।