किन मनाइन्छ विश्व आदिवासी दिवस ?

वेलकम खबर
साउन २५, २०७७

विशिष्ट संस्कृतिलाई एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने आदिवासीको संस्कृतिले मानिस र वातावरणलाई जोड्ने बलियो भूमिका खेल्छ

सन्दर्भ : अन्तर्राष्ट्रिय आदिवासी दिवस

विश्वका ९० देशमा बसोवास गर्ने आदिवासीको कुल जनसंख्या झन्डै ३७ करोड अर्थात् पाँच प्रतिशत रहेको अनुमान छ । तर, संसारका सबैभन्दा गरिब जनसंख्यामा तिनको हिस्सा १५ प्रतिशत छ । पृथ्वीमा बोलिने कुल सात हजार भाषामध्ये आदिवासीले नै धेरै भाषा बोल्छन् । तिनले पाँच हजार विभिन्न सभ्यताको पनि प्रतिबिम्बित गर्छन् ।

आदिवासी जनता विशिष्ट संस्कृति अभ्यास गर्छन् र त्यसलाई एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्छन् । तिनको संस्कृतिले मानिस र वातावरणलाई जोड्ने बलियो भूमिका पनि खेल्छन् । अलग–अलग आदिवासीबीच उल्लेख्य सांस्कृतिक भिन्नता देखिन्छ । तर, त्यसको बाबजुद, विश्वभरिका आदिवासी जनताबीच अभ्यासमा रहेका संस्कृतिको पहिचान र संरक्षण गर्नु साझा समस्या रहँदै आएको छ ।

आदिवासीले वर्षौंदेखि तिनको पहिचान, जीवनशैली र ती बसोवास गर्दै आएको परम्परागत जमिन, भूगोल र प्राकृतिक स्रोतमाथिको दाबीलाई अरू मानिसले पनि स्विकारून् भन्ने चाहेका छन् । तर, इतिहास हेर्ने हो भने तिनको अधिकार सधैँ हनन् भएका छन् । आज आदिवासी सम्भवतः विश्वका सबैभन्दा सुविधाहीन र जोखिमपूर्ण समुदाय हुन् । अहिले आएर विश्व समुदायले तिनको अधिकार, विशिष्ट संस्कृति र जीवनशैलीलाई संरक्षण गर्न विशेष कदम चाल्नुपर्ने आवश्यकता महसुस गरेका छन् ।

यो समूहको आवश्यकताबारे जनचेतना वृद्धिका लागि, अगस्ट ९ मा प्रत्येक वर्ष विश्व आदिवासी जनताको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । यो दिवस सन् १९८२ मा जेनेभामा बसेको संयुक्त राष्ट्रसंघको आदिवासी कार्यकारी समूहको बैठकले छनोट गरेको थियो । सन् २०१९ को विषय : आदिवासीका भाषा : सन् २०१९ लाई अन्तर्राष्ट्रिय आदिवासी भाषा वर्षको रूपमा मनाउने पूर्वघोषणालाई ख्याल गरेर यो वर्षको आदिवासी दिवसको नारा ‘आदिवासी जनताको भाषाहरू’मा केन्द्रित गरिएको छ ।

खतरामा रहेका बहुसंख्यक भाषा आदिवासी जनताले बोल्छन् । एक अनुमानअनुसार, प्रत्येक दुई हप्तामा एउटा आदिवासी भाषा लोप हुन्छ । भाषा लोप हुँदा त्यससँग जोडिएको आदिवासी संस्कृति र ज्ञान प्रणाली जोखिममा पर्छ । यही कारणले यो अन्तर्राष्ट्रिय दिवसको लक्ष्य आदिवासी भाषाको डरलाग्दो रूपमा भइरहेको विनाशप्रति ध्यानाकर्षण गराउनु हो । साथमा यसको संरक्षण, पुनः ताजगी र राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा यस्ता भाषाको प्रवद्र्धनप्रति ध्यान तान्नु पनि यसको अर्को उद्देश्य देखिन्छन् ।

आदिवासीले वर्षौंदेखि तिनको पहिचान, जीवनशैली र ती बसोवास गर्दै आएको परम्परागत जमिन, भूगोल र प्राकृतिक स्रोतमाथिको दाबीलाई अरू मानिसले पनि स्विकारून् भन्ने चाहेका छन् ।

आदिवासी भाषाभाषीको अन्तर्राष्ट्रिय दिवस : भाषाले सबै मानिसको दैनिक जीवनमा अत्यन्त महत्व भूमिका निभाउँछन् । यसले मानव–अधिकारको संरक्षण, शान्ति निर्माण र दिगो विकास क्षेत्रमा महत्वपूर्ण हुन आउँछ । तथापि, तिनको ठूलो मूल्यका बाबजुद, विश्वभरिका भाषाभाषी डरलाग्दो दरमा लोप हुने क्रम जारी छ । यसमा कैयन् कारण जिम्मेवार छन् । लोप हुनेमध्ये धेरै आदिवासी भाषा छन् ।

आदिवासीको भाषा आदिवासी मुद्दाको बृहत् क्षेत्रमा ममहत्वपूर्ण  तत्व  हो । यसमा पनि शिक्षा, वैज्ञानिक तथा प्राविधिक विकास, पर्यावरण र वातावरण, अभिव्यक्तिको स्वतन्त्रता, रोजगारी र सामाजिक समावेशिता पर्छन् । यी विषयलाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघको महासभाले ‘आदिवासी जनताको अधिकार’बारे एउटा प्रस्ताव अंगिकार गरेको थियो । त्यसले नै सन् २०१९ लाई आदिवासी भाषाभाषीको अन्तर्राष्ट्रिय वर्ष घोषणा गरेको थियो ।

किन अन्तर्राष्ट्रिय दिवस : अन्तर्राष्ट्रिय दिवस सर्वसाधारणलाई आमचासोको मुद्दामा शिक्षित गराउन र विश्वव्यापी समस्या सम्बोधन गर्न राजनीतिक इच्छाशक्ति जगाउन मनाउने गरिन्छ । साथै स्रोत परिचालन गर्न, मानव जगत्ले हासिल गरेको उपलब्धिलाई थप सबल बनाउन र यी अवसरमा रमाउन पनि यस्ता दिवस मनाइन्छन् । अन्तर्राष्ट्रिय दिवस संयुक्त राष्ट्रसंघको स्थापनाअघि पनि मनाइन्थे । तर, संयुक्त राष्ट्रसंघले सम्बन्धित विषयमा शक्तिशाली वकालत गर्न यस्ता दिवसलाई औजारको रूपमा अंगिकार गरेको छ ।
(संयुक्त राष्ट्रसंघको वेबसाइटबाट)

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु