ब्राजिलका राष्ट्रपति कोरोना सङ्क्रमित

वेलकम खबर
असार २४, २०७७

एजेन्सी। ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। राष्ट्रपति जायर बोलसोनारोको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको हो। ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले मङ्गलबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको जानकारी गराएका छन्।

धेरै मात्रामा ज्वरो आएपछि उनले कोरोना भाइरसको परीक्षण गराएका थिए। आफूलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिँदै उहाँले भनेका छन। ‘डराउनुपर्ने कुनै कारण छैन। यही हो जीवन। जीवन यसरी नै चल्छ।’ राष्ट्रपति बोलसोनारोले यस अघि पनि पटक–पटक कोरोना भाइरसबाट डराउनु नपर्ने बताउँदै आएका छन्।

उनले कोरोना भाइरसको सङ्क्रमणलाई सामान्य ज्वरोको पनि सञ्ज्ञा दिएका छन्। उहाँले सामाजिक दूरी राख्नुपर्ने चिकित्सकको सल्लाहलाई पनि पटक–पटक मजाकमा उडाएका थिए। कोरोना सङ्क्रमणका हिसाबले अमेरिका पछि सबैभन्दा बढी प्रभावित मुलुक ब्राजिल रहेको  छ। अहिले सम्म ब्राजिलमा कुल सङ्क्रमितको सङ्ख्या १६ लाख ७४ हजार ६५५ पुगेको छ। भने मृत्यु हुनेको सङ्ख्या ६६ हजार ८६८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु