अमेरिकाको राष्ट्रपति चुनाव लड्ने तयारीमा चर्चित र्यापर कान्ये वेस्ट
एजेन्सी। अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा चर्चित र्यापर कान्ये वेस्टले उम्मेदवार बन्ने घोषणा गरेका छन्। उनको घोषणा यदि सत्य भएको खण्डमा वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र राष्ट्रपति पदका अर्का उम्मेदवार जोए बाइडेनसँग उनको प्रतिष्पर्धा हुनेछ।
यसअघि निर्वाचनमा ट्रम्पका समर्थक रहेका वेस्टले ट्विटर मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। यद्यपि कतिपयले यसलाई ठट्टाको रुपमा पनि लिएका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘भगवानमाथि विश्वास राख्दै अब अमेरिकाको त्यो विश्वासलाई बुझ्नुपर्छ, एक भिजनसहित देशको भविष्यबारे सोच्नुपर्छ। म अमेरिकाको राष्ट्रपति चुनाव लड्ने तयारीमा छु।’
कान्ये वेस्टको यो घोषणा सोसल मिडियामा ट्रेन्ड भइरहेको छ। राष्ट्रपति ट्रम्पलाई समर्थन गर्ने कान्ये वेस्टको चुनावी मैदानमा उत्रिनुलाई निकै महत्वले हेरिएको छ। उनको यो घोषणाले सबैको उत्सुकता बढाएको छ। ‘तर वेस्टले उम्मेदवारीका लागि प्रशासनिक कागजात तयार पारेको बारे केही जनाएका छैनन्।
अधिकांश राज्यमा उम्मेदवारी दर्ता गर्ने अवधि सकिएको छैन। यसअघि वेस्ट र उनकी पत्नी चर्चित सेलिब्रेटी किम कार्दसियनले यसअघि नै ह्वाइटहाउसमा पुगेर ट्रम्पलाई भेट गरेका थिए।



















