भारतमा गुण्डा नाइके पक्रन गएको प्रहरी टोलीमाथि आक्रमण, ८ प्रहरी मारिए
एजेन्सी। भारतको उत्तर प्रदेश राज्यस्थित कानपुरमा गुण्डा नाइके पक्रन गएको प्रहरी टोलीमाथि बिहीबार राति आक्रमण हुँदा डिएसपीसहित आठ भारतीय प्रहरी मारिएका छन्। घटनामा कयौँ प्रहरी घाइते भएको बिबिसी हिन्दीले जनाएको छ।
घटनापछि त्यहाँ हाल ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। बिबिसी हिन्दीका अनुसार कानपुर प्रहरी त्यहाँ विकास दुबे नाम गरेका कुख्यात अपराधीलाई पक्राउ गर्न गएको थियो। उक्त ठाउँमा उनको समूह रहेको सूचना पाएपछि पक्राउ गर्न प्रहरी त्यहाँ गएको बताएका छन्।
मारिनेमा एक डिएसपी, तीन सब-इन्सपेक्टर र चार कन्स्टेबल रहेका छन्। घटनामा घाइते प्रहरीको नजिकको रिजेन्सी अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
प्रहरी आउने सूचना पाइसकेको दुबेको समूह त्यहाँ जेसिबीले बाटो अवरूद्ध गरेर बसेका थियो। उनीहरूले त्यसपछि प्रहरी त्यहाँ पुग्ने बित्तिकै परीपरीका घरको छतबाट गोली बर्साएका थिए।



















