विश्वव्यापी महामारी बन्न सक्ने क्षमता भएको नयाँ फ्लु भाइरस चीनमा भेटियो
एजेन्सी। विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लु भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन्। उनीहरूका अनुसार मानिसहरूलाई सङ्क्रमण गर्न सक्ने उक्त भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको हो।
उक्त भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि फैलिने सम्भावनाले अनुसन्धानकर्ताहरू चिन्तित भएका छन्। तत्कालका लागि समस्या नभए पनि उक्त भाइरसमा मानिसलाई सङ्क्रमण हुने आवश्यक सबै गुण भएकाले चनाखो हुनुपर्ने बताइएको छ। उक्त भाइरस नयाँ भएकाले मानिसहरूमा त्यसलाई प्रतिरोध गर्ने क्षमता पनि न्यून वा शून्य रहेको बताइएको छ।
प्रोसीडिङ्स अफ द न्याश्नल अक्याडमी अफ साईअन्सेज नामक जर्नलमा वैज्ञानिकहरूले सुँगुरमा उक्त भाइरस नियन्त्रण गर्न तथा सुँगुर पालन उद्योगमा काम गर्ने मानिसहरूलाई निगरानी गर्न आवश्यक उपायहरू राम्ररी कार्यान्वयन हुनुपर्ने उल्लेख गरेका छन्।
यो नयाँ भाइरस सन् २००९ मा फैलिएको स्वाइन फ्लुसँग मिल्दोजुल्दो रहेपनि केही भिन्नता भएको जनाइएको छ। यो अहिले नफैलिएको तर यसबारे अनुसन्धान भइरहेको बताइएको छ। अनुसन्धानकर्ताहरूले उक्त भाइरसलाई ‘G4 EA H1N1’ नामाकरण गरेका छन्। यो भाइरस मानिसको श्वासनलीमा भएका कोषमा बढ्न र फैलिन सक्ने बताइएको छ। वैज्ञानिकहरूले वधशाला र सुँगुर पालनसँग सम्बन्धित कृषि उद्योगमा कार्यरत मानिसहरूमा यस भाइरसले सङ्क्रमण भएको प्रमाण फेला पारेको जनाइएको छ।



















