युद्धको तयारीमा चीन र भारत
एजेन्सी। भारत र चीनबीच लद्दाखको गलवान घाटीमा हालै भएको भिडन्तपछि दुई देशबीच द्वन्द्व बढेको छ। सीमामा दुवै देशका सेनाको फौज बढाइएको छ। उनीबीच सहमतिका लागि वार्ताहरू भइरहे पनि विवाद शान्त हुने भने देखिएको छैन।
भारत र चीनले दुवै देशबीचको आपसी विश्वास बढाउन सन् १९९६ र सन् २००५ मा सम्झौताहरू गरेका थिए। सम्झौताअनुसार दुवै देशका सैनिक गस्तीको समयमा आमनेसामने भए पनि गोली चलाउन निषेध गरिएको थियो। यसका साथै दुवै देशका सेनाले गस्तीको समयमा एलएसीको दुई किलोमिटरसम्म आफ्नो राइफलको ब्यारललाई जमिनतिर झुकाएर राख्नुपर्ने नियम राखिएको थियो। बिनासूचना एलएसीको १० किलोमिटरभित्र दुवै देशका सैन्य विमानको उडानलाई पनि प्रतिबन्ध लगाइएको थियो।
यही सम्झौताले गर्दा नै सन् १९७५ यता एलएसीमा शान्ति कायम थियो। आजसम्म दुवै देशबीच त्यस्तो घटना भएको थिएन। तर, अहिले उक्त सम्झौताविपरीत कदम चालिएको भन्दै दुवै देशले एकअर्कालाई दोषारोपण गरिरहेका छन्।
चीनले तिब्बती लडाकुलाई सैनिक तालिम दिनका लागि भर्ना खोलेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। यस्तै, भारतले पनि सीमा नजिक आफ्ना फौजको सङ्ख्या बढाएको छ। त्यहाँको स्थिति हेरेर परिआएमा हतियार चलाउन समेत सैनिकलाई आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सहमतिका लागि पटक पटक वार्तामा बसेका दुवै पक्षले भित्रभित्रै युद्धको तयारी गरिरहेको खुलेको छ। दुवै तर्फले सीमामा सैनिक लगायत विभिन्न हातहतियार तयारी अवस्थामा राखेको जनाइएको छ।



















