कोरोना सङ्क्रमितको अहिले सम्मकै लामो उपचार, निको भएर घर फर्किए

वेलकम खबर
असार ८, २०७७

एजेन्सी। बेलायतका एक कोरोना भाइरस सङ्क्रमित ९२ दिनको लामो उपचार पछि निको भएका छन्। स्टिब ह्वाइट नाम रहेका ति व्यक्ति ४३ दिन कोमामा थिए। त्यति बेला डाक्टरहरूले उनको बाँच्ने सम्भावना एक प्रतिशत मात्र भएको बताएका थिए। तर उनी सबैभन्दा लामो समय ९२ दिन अस्पताल बसेर निको हुन सफल भएका हुन्।

यो सँगै स्टिब ह्वाइट कोरोना भाइरस सङ्क्रमण पछि सबैभन्दा लामो समय उपचार गरेर निको हुने व्यक्ति बनेका छन्। ५६ वर्षीय ह्वाइट ९२ दिन अस्पताल बसेर घर फर्किएका छन्। उनलाई हियरपोर्ड काउन्टी अस्पतालमा १९ मार्चमा भर्ना गरिएको थियो। अप्रिलमा उनको परिवारलाई चिकित्सकले उनी अब केही दिनको पाहुना मात्र भएको बताएका थिए। लामो उपचारपछि उनलाई १८ जुनमा डिस्चार्ज गरिएको छ।

परिवारले डाक्टरसँग उनलाई भेन्टिलेटरमा राख्न लगातार आग्रह गरेका थिए। त्यसैकारण लामो समय उनलाई भेन्टिलेटरमा राखिएको थियो। उनले ६७ दिन सघन उपचार कक्ष (आईसीयू) मा बिताएको बताइएको छ। दुई बच्चाका पिता रहेका उनको अहिले बेलायतमा निकै चर्चा भइरहको छ। उनले आफू कोरोनासँग जुधिरहेका मान्छेहरूका लागि आशाको किरण रहेको बताएका छन्। हिम्मत नहार्न पनि उनले उपचाररत सङ्क्रमितलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु