स्कुल नपढेका मास्टर
‘फोदाङ, फोदाङ’ पचास वर्ष अघिको यो शब्द आज पनि मेरो कानमा गुन्जिरहेको छ । कुरा २०२६ साल अन्त्यतिरको हो । सन्दर्भ थियो– फुङलिङ गाउँ पञ्चायतको चुनाव । तोक्मेडाँडामा रहेको तत्कालीन भानु हाई स्कुलको खेलमैदानको मध्य भागमा मतदानको लागि विभिन्न रंगका बक्साहरू राखिएको थियो । बुबाको साथ लागेर म त्यो खेलमैदानमा ओर्लदै थिएँ । खेलमैदानको मुखैमा प्रधानपञ्चको उम्मेदवार गंगा दाहाल ‘फोदाङ, फोदाङ’ भन्दै हुनुहुन्थ्यो । फुङलिङ गाउँपञ्चायतको प्रधानपञ्चको उम्मेद्वार गंगा दाहालको चुनाव चिन्ह सेतो भएकोले लिम्बू भाषामा उनले आफ्नो चुनाव प्रचार गरेका रहेछन् । पुलिसले थाहा पाएपछि गंगा दाहालको ‘फोदाङ’ प्रचार तत्कालै बन्द भयो । त्यति नै बेला सेतो दौरा–सुरुवाल र कालो कोटको पहिरनमा मझौला कद भएको गहुँगोरो मान्छे बुबालाई ‘माल्दाइ’ भन्दै देखा पर्नुभयो । उहाँ चक्रबहादुर पालुङ्वा हुनुहुँदो रहेछ । मैले उहाँलाई पहिलो पटक त्यहीँ नै देखें । उतिबेलाको त्यो क्षण अहिले पनि मेरो स्मृतिमा घुर्मैलो आकृतिको रूपमा रहेको छ ।
हाम्रो पसल चोकमा भएर पनि हुनसक्छ, ताप्लेजुङका राजनीतिक तथा सामाजिक व्यक्तित्वहरू भेट्ने, गफगाफ गर्नेे फल्चा जस्तो । चक्रबहादुर पालुङ्वाको घर बजारभन्दा केही तल भए पनि उहाँ बजारमा आइरहनु हुन्थ्यो । ‘चक्र मास्टर’, ‘मास्टर चक्रबहादुर’, ‘साउनेपानी मास्टर’ लगायतको उपनामले ताप्लेजुङमा परिचित उहाँले मलाई ‘छोरा’ भनेर बोलाउनु हुन्थ्यो । अलि पछि मात्रै थाहा भयो उहाँ त चिर्बुबा (मितेरी साइनोमा) पो हुनुहुँदो रहेछ । अर्थात् मेरी आमाको मित बहिनीको श्रीमान् ।
हाम्रो समाजलाई जोड्न र सम्बन्धलाई मजबुत बनाउन मितेरी साइनोको ठूलो भूमिका रहेको पाइन्छ । मित सम्बन्ध अत्यन्तै आत्मीय, प्रिय र सम्मानित भएको पाउछौं । मित साइनोलाई मित्रताको उच्चतम रूप मानिन्छ । दुई जनाले एक अर्कामा मित लगाएपछि त्यसले पारिवारिक सम्बन्धको रूप लिन्छ, रगत कै सम्बन्ध जस्तो । मितेरी सम्बन्ध भित्र विवाह हुँदैन । जब म मित र मितेरी सम्बन्धबारे सोच्न थाल्छु– मेरो मनमा यो मित लगाउने चलन कहिले र के प्रयोजनको लागि सुरुवात भएको होला ? भन्ने प्रश्न उठ्न थाल्छ । मित लगाउँदा जाति हेरिदैन । मेरो बुबाले कथित अछुत जाति भनिएकोसँग पनि मित लगाउनु भएको थियो भने मेरो अजाले भुजेलसँग मित लगाउनु भएको थियो । सामान्यतः मित्रताको कडिको रूपमा मित लगाएको पाइन्छ । तर मेरो मावली अजा (बाजे) पदमलाल श्रेष्ठ (लिम्बूदिन) ले मितेरी सम्बन्धलाई आफ्नो शक्ति विस्तारसँग जोड्नु भएको हो कि जस्तो देखिन्छ । उहाँले आम्बेगुदिनका भीमबहादुर थेबे (पुर्व मन्त्री विजयप्रकाश थेबेको बाजे), मेहेलेका सुबेदार पदमबहादुर कडरिया (गौरीमान कडरिया, पूर्ण कडरियाको हजुरबुबा), पेदाङका राइटर मनप्रसाद भण्डारी (पुर्व सभापति श्रीप्रसाद भण्डारीको बुबा), तेल्लोकका राइटर मानबहादुर भट्टराई (राईटर कालिदास भट्टराई, विदुर भट्टराईको बुबा), याम्फुदिनका थरिमुखिया गर्जमान गुरुङ (भवानी गुरुङको बुबा), सिनामका मुखिया ईन्द्रराज अधिकारी, मिश्रटारको …पति मिश्र (वेदको प्रकाण्ड विद्वान), च्याङ्थापुको वीरबहादुर तामाङ (!) लगायत याङरुप क्षेत्रका उसबेलाका सबै प्रभावशाली व्यक्तिहरूसँग मित लगाउनु भएको देखिन्छ । अजा पदमलाल श्रेष्ठ मुखिया, थरि मुखिया हुँदै पछि ठिंग्रो मुंग्रोको अधिकार प्राप्त सुब्बा भए । (यद्यपि गैर लिम्बूहरूले सुब्बांगी पाउदैन भन्ने भनाइ पनि छ । उनी कसरी सुब्बा हुन पुगे ? यो खोजकै विषय छ, यसलाई आधिकारिक पुष्टि गर्न तेह्रथुम मालपोत कार्यालयको उतिबेलाको ढड्डा नै पल्टाउनु पर्ने हुन्छ) । यस्तै हाम्रो मामा भीमनारायण श्रेष्ठले फुङलिङ, मेदिबुङको सुब्बा बिर्खबहादुर पालुङ्वाको छोरा प्रेम पालुङ्वा (सकुन्तला मादेनको श्रीमान) सँग र मेरी आमा गंगामाया श्रेष्ठले हाङदेवा जयवर्ण पतङ्वाकी छोरी बुधरानी पतङ्वा (मित्रप्रसाद एङदेनको आमा) सँग मित लगाउनु भएको थियो । विष्णुमाया पालुङ्वा (पतङ्वा) उनै मितामा (मितआमा) बुधरानी पतङ्वाकी बहिनी । त्यही मितेरी साइनोले जोडेको थियो हामीलाई पालुङ्वा परिवारसँग ।
हामी नेवारहरू आमाको बहिनीलाई चमा भन्छौं । हाम्रो ‘चमा’हरू ताप्लेजुङ बाहिर बस्नुहुने भएकोले भेटघाट त्यति हँुदैन थियो । त्यसैले पनि होला ‘चमा’को तिर्सना उहाँ (विष्णुमाया पालुङ्वा) बाटै पूरा हुन्थ्यो । चमाको मसिनो र नम्र बोली अनि वात्सल्यपूर्ण व्यवहारबाट हामी ज्यादै प्रभावित थियौं । चमा बेला–बेला हाम्रो घरमा आइरहनु हुन्थ्यो । उहाँ माइति (हाङदेवा) जादा वा फर्कदा सकेसम्म हाम्रोमा निस्कनु हुन्थ्यो । चमा कहिलेकाहिँ बस्ने गरी पनि आउनु हुन्थ्यो । चमा र मेरी आमाको आ–आफ्नै दुःखका पहाडहरू थिए । अहिले पो हाम्रो समाजमा धेरै सकारात्मक परिवर्तनहरू आएको छ, विभेदहरू कम हुँदै आएको छ । उतिबेला महिलाहरूको लागि ‘कहाँसम्म सपना हो !, कहाँदेखि विपना !’ भन्ने स्थिति थियो । विवाह भएर आइसकेपछि सम्पूर्ण रूपले समर्पित हुनुपर्ने, हर मोडमा सम्झौता गर्नुपर्ने, अकल्पनीय दुःख कष्टहरू भोग्दै अघि बढ्नु पर्ने । अनि त्यो मनको वह पोखाउने ठाउँ पनि जहाँ तहिँ कहाँ हुन्थ्यो र ! दिदी–बहिनी भेट भएपछि दुःखसुख साटासाट गर्नुहुन्थ्यो । उहाँहरूको गन्थनले कहिले काहिँ रात बितेको पनि थाहा हुन्न थियो । २०४१ सालतिर चमा र उहाँहरूको परिवार तराइ बसाइँ जानुभयो । यो ‘बसाइँ’ भन्ने शब्दले मलाई गहिरो पीडाबोध हुन्छ । म ६÷७ वर्षको हुँदा हाम्रो छिमेकी राजधन गुरुङ सपरिवार मुगलान (आसामतिर) बसाइँ जानुभयो । राजधन गुरुङलाई आमाले ‘मितबा’ भन्नुहुन्थ्यो । झिटी–गुन्टा बोकेर गुरुङ परिवार बसाइँ हिंड्दा रुवावासी भएको थियो । विछोड, वियोग त्यसैपनि पीडादायी हुन्छ । त्यही माथि एउटा घनिष्ट छिमेकी, साथी, अभिभावक सधैंको लागि छाडेर जाँदा त्यसले ठूलो पीडा दिने नै भयो । त्यो वियोगको पीडाबाट आमा लामोसमयसम्म गुज्रिनु भयो । चक्रबहादुर पालुङ्वा परिवार गाउँघर छाडेर तराई झर्दा पनि आमालाई झड्का लाग्यो । ‘बहिनीसँग अब कहिले, कहाँ भेट हुने’ भन्ने भयो । आमा पछिसम्म पनि ‘अब कहिले भेट हुन्छ होला ?’ भनिरहनु हुन्थ्यो । आमा तराई, धरानतिर झर्नुभएको बेला कहिले काहिँ चमासँग भेट हुन्थ्यो । पछि आमा काठमाडौं बस्न थाल्नुभएपछि चमा धरानबाट काठमाडौं आउँदा आमालाई भेट्न आइरहनु हुन्थ्यो । भेट हुँदा उही दुखसुखका अन्त्यहिन कहानी !
म लेख्न बसेको थिएँ– मास्टर चक्रबहादुर पालुङ्वाको बारेमा । तर, कुरा अन्तै मोडियो, बतासियो ! अनि साँच्चै भन्नुपर्दा उहाँको बारेमा लेख्ने मसँग त्यस्तो खासै धेरै खुराक छैन । प्रश्न उठ्न सक्छ, के भेटघाट नभएर हो ? कुरा त्यस्तो भने होइन । पालुङ्वा परिवारसँग सबैभन्दा धेरै भेटघाट उहाँसँगै भयो । म सानैदेखि प्रायः पसलमा बस्थें । पसल जिल्लाभरिका व्यक्ति÷व्यक्तित्वहरूको भेटघाट गर्ने चौतारी जस्तो ! जहाँ ताप्लेजुङको पहिलो सांसद के.एम. इजमदेखि ताप्लेजुङको पहिलो रापंस चन्द्रबहादुर पालुङ्वा, ताप्लेजुङको पहिलो सभापति मानबहादुर लिवाङ, गंगा दाहाल, अम्बिका साँवा, सूर्यमान गुरुङ, विष्णु मादेन, हरिप्रसाद साँवा, श्रीप्रसाद भण्डारी, धर्मानन्द अधिकारी, प्रेमलाल गौतम, चिरन्जीवि अधिकारी, तार्सदिप भण्डारी, श्रीप्रसाद भण्डारी, श्रीप्रसाद भट्टराई, रामचन्द्र भट्टराई, भीमप्रसाद बस्नेत, घनेन्द्र अधिकारी, खगेन्द्रसिं आङबुहाङ, कालुसिंह वनेम, गणेश वनेम, नैनसिं लिम्बु, धनबहादुर मादेन, पर्शुराम धिताल, घनेन्द्र खालिङ, भवानी गुरुङ, रामप्रसाद पालुङ्वा, लक्ष्मी अधिकारी, भीमप्रसाद थेबे, चक्रबहादुर पालुङ्वा, तेजकुमार एङदेन, दिलबहादुर मादेन, मचिन्द्र मादेन, तुलशी दाहाल, दुर्गाप्रसाद पराजुली, कालीप्रसाद बोखिम, पृथ्वी बोखिम … आदि (उतिबेलाका ताप्लेजुङका चिनिएका नामहरूको सूची अझै लामो छ । कतिपयको अनुहार सम्झना आउँछ तर नाम बिर्सन थालें) मैले सानै उमेरमा उहाँहरू सबैलाई जान्ने चिन्ने मौका पाएँ । अहिले पनि उहाँहरूमध्ये धेरैको हाउभाउ, बोली, व्यवहारको झल्को आउने गर्छ । त्यस्तै हाउभाउ, बोली र प्रस्तुतिबाट आफ्नो प्रभाव छाड्न सक्ने एउटा व्यक्तित्व मास्टर चक्रबहादुर पालुङ्वा हुनुहुन्थ्यो । उहाँको उपस्थितिले एउटा बेग्लै माहौल सिर्जना गर्दथ्यो । उहाँ आउनु भएपछि तर्क, बहस, छलफल अनिवार्य जस्तो हुन्थ्यो । उहाँ जहाँ पुग्नु हुन्थ्यो, केही न केही विषयमा जोडदार वहस हुन्थ्यो । आफुलाई लागेको कुरा स्पष्टसँग बोल्नुहुन्थ्यो । आफुले अघि सारेको कुराबाट उहाँ पछि हट्नु हुन्न थियो । म भने ति वहस र छलफलमा प्रायः स्रोता वा दर्शकको रूपमा मात्रै हुन्थें । उहाँसँग अन्तरंग कुरा कहिले पनि भएन । भेट्मा उहाँले ‘के छ छोरा ?’ भन्नुहुन्थ्यो । म ‘ठिकै छ’ भन्थें । उहाँ ताप्लेजुङ रहुन्जेल यसरी नै बित्यो । जब म ताप्लेजुङको बारेमा केही अध्ययन गर्न थालें । त्यतिबेला थाहा पाएँ, उहाँ ताप्लेजुङको वामपन्थी आन्दोलन र भाषा–संस्कृति आन्दोलनसँग पनि जोडिनु भएको रहेछ । रुद्र शाक्य (स्व.) ले ताप्लेजुङको वामपन्थीहरूको नाम लिदा चक्रबहादुर पालुङ्वाको पनि नाम लिनु भएको थियो । त्यसपछि अन्यले पनि त्यो कुरा पुष्टि गर्नुभए पछि मैले उहाँलाई सम्पर्क गर्न खोजें । उहाँका काइँला छोरा अधिवक्ता राजेन्द्र पालुङ्वा (स्वं) बाट नम्बर लिएर फोनबाटै कुरा गरें । उहाँले ‘म र महेन्द्र थापा सुरुमा रुद्र शाक्यबाटै प्रभावित भएर पार्टीमा लागेका हौं । पछि द्रोणाचार्य क्षेत्री र नन्दकुमार प्रसाईबाट पनि वामपन्थी राजनीतिसँग जोडिन पुगियो । तर लामो समय वाम राजनीतिमा रहिनँ । पछि मेरो ध्यान धमर्, संंस्कृति र भाषाको संरक्षणतिर गयो’ भन्नुभयो । उहाँसँग फोनबाट उतिबेलाका केही कुराहरू भएको थियो । बाँकी भेटेरै धेरै कुरा गर्ने इच्छा थियो । तर, त्यसपछि त्यो विषय त्यतिकै अलमलियो । म पनि लामो समय अलमलमा रहें । भेटेर उहाँसँग कुराकानी गर्ने कुरा त्यतिकै सेलायो । उहाँको बेलायत यात्रापछि भाइ वीरेन्द्र पालुङ्वासँग फोन नम्बर लिएर एकपटक फेरि फोन कुराकानी गरें । तर, भेटघाट भने जुरेन !
मास्टर चक्रबहादुर पालुङ्वाले धेरै उतार चढाव पार गरेर जानुभयो । सानैमा आमा गुमाएपछि अघिकांश बालबालिका र किशोरहरूको अवस्था हाम्रो समाजमा कारुणिक बन्ने गर्छ । चक्रबहादुर पालुङ्वाको जीवन पनि त्यस्तै भयो । स्कुल त पढ्न पाउनु भएन नै, साथमा भाइबहिनीहरूको रेखदेखको जिम्मेवारी पनि थियो । उता ‘पढ्नु पर्छ’ भनेर आमाले शिक्षाको भोक जगाइ दिनुभएको थियो । घरको काम सकेर साँझ बिहान आफुलाई पढाइमा लगाउनु भयो । स्वअध्ययनबाटै बाह्रखरी छिचोलेर उहाँले धेरै क्षेत्रको ज्ञान हासिल गर्नुभयो । भाग्य र भविष्यको खोजीमा ‘मुगलान’ पुग्दा पनि त्यो पढाइले काम ग¥यो । उहाँले त्यहाँ केही समय मास्टरी पनि गर्नुभयो । फर्केर आएपछि घर नजिकैको स्कुल बालसुवोधिनी संस्कृत माविमा पढाउन थाल्नुभयो । र, स्कुल नै नटेको एउटा मान्छेले ‘मास्टर’को पहिचान बनाउनु भयो । यो चानचुने कुरा थिएन । मास्टर पहिचान असाधारण आँट, लगन र क्षमताले अजमाएको पहिचान थियो । पछि त्यसै स्कुलको व्यवस्थापन समितिमा बसेर पनि उहाँले शैक्षिक सेवा पु¥याउनु भयो ।
पछिल्लो समय उहाँले आफुलाई धर्म, संस्कृति र भाषाको संरक्षण र विकासमा अलि बढि लगाउनु भयो । शाह वंशीय राजाहरूले अन्य जातिका भाषा, धर्म र संस्कृतिमाथि आक्रमण गरी एउटै धर्म, भाषा र संस्कृतिलाई जोड दिन थाल्यो । सम्भवतः वामपन्थी राजनीतिमा लाग्दा चक्रबहादुर पालुङ्वामा विद्रोहको चेत आएको हुनसक्छ । त्यही चेतले उहाँलाई आफ्नो धर्म, भाषा र संस्कृतिको जगेर्ना अर्थात् पहिचानको आन्दोलनमा लाग्न प्रेरित गरेको हुनसक्छ । उहाँ लगायतका केही अगुवाहरूले २०२५ सालतिरबाट त्यो आन्दोलनलाई अगाडि बढाएको पाइन्छ । यसरी मास्टर चक्रबहादुर पालुङ्वा अत्यन्तै प्रतिकुल पारिवारिक तथा सामाजिक अवस्थाहरूसँग जुझ्दै एउटा बहु आयामिक व्यक्तित्वको रूपमा स्थापित हुन सफल हुनुभयो । उद्देश्य, आँट र दृढ ईच्छाशक्ति भयो भने कसरी शिखरमा चढ्न सकिन्छ, भन्ने उदाहरण दिएर जानुभयो ।
अन्त्यमा,
हक्की स्वभाव, इमान्दार र संघर्षशील जीवन बाँचेर धेरै योगदान र सन्देशहरू भावि पुस्तालाई छाडेर मास्टर चक्रबहादुर पालुङ्वा यो लोकबाट विदा हुनुभयो । मास्टर चक्रबहादुर पालुङ्वाको कर्मशील जीवनलाई र उहाँले नेपाली समाजलाई पु¥याउनु भएको योगदानलाई चिरस्थाई बनाउन उहाँको कृतिलाई समावेश गरेर पालुङ्वा परिवारले जुन यो ग्रन्थ प्रकाशित गरेको छ, यो कार्य ज्यादै स्तुत्य छ । ग्रन्थ प्रकाशनमा संलग्न सबै प्रशंसाका पात्र हुनुहुन्छ । यो पुस्तकले मास्टर चक्रबहादुर पालुङ्वालाई र तत्कालीन समाजलाई बुझ्न सघाउने छ । अनि हाम्रो समाज र आउने पीढीका लागि उहाँको संघर्षशील र कर्मशील जीवन प्रेरणादायी बन्न सकोस् भन्दै मेरा चिर्बुबा अर्थात् मास्टर चक्रबहादुर पालुङ्वाप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्न चाहान्छु ।



















