योगेश भट्टराई : ‘कोरोनामुक्त देश’का पर्यटनमन्त्री !
काठमाडौं । डेढ महिनाअघि पर्यटन मन्त्री योगेश भट्टराई नेपाल भ्रमण वर्षको उद्घाटन र प्रचार गर्न अष्ट्रेलिया पुग्दा त्यहाँ आगलागीको कोलाहल थियो । भीषण आगलागीका दर्दनाक समाचार र तस्वीर मिडियामा आइरहेका थिए । मन्त्री भट्टराई भुतले खाजा खाने समयमा अष्ट्रेलिया पुगेजस्तो भयो ।
त्रासदीकै माहोलमा मन्त्री भट्टराई सिड्नीको सडकमा नेपाल भ्रमण वर्षको प्रचार र्यालीमा सहभागी भए । पीडामा छटपटाइरहेको देशमा भ्रमण वर्षको प्रचार गर्न गएर असभ्यता एवं संवेदनहीनता देखाएको भनेर पर्यटनमन्त्री भट्टराई आलोचनाको घेरामा परे ।नेपाललाई बुद्धको देश वा सगरमाथाको देश भनिरहनुभन्दा ‘कोरोनामुक्त देश’ भनेर प्रचार गर्दा बढी पर्यटक आउने सोचेका हुन् कि ?
कार्यक्रम पूर्वनिर्धारित थियो, ठीक छ । तर, परिस्थिति हेरेर त्यसलाई रद्द गर्दा देशलाई केही आर्थिक नोक्सानी हुन्थ्यो होला, रद्द नगर्दा देशको छविमा नोक्सानी भयो । नेपालीको मानवीय भावनामा प्रश्न उठ्यो । मन्त्री भट्टराईले सो घटनाबाट अझै पाठ सिकेको देखिँदैन । अहिले लगभग त्यही प्रकृतिको अर्को काम उनीबाट भएको छ ।
अहिले कोरोना भाइरसको प्रकोपबाट आक्रान्त छिमेकी देश चीनका नागरिकलाई नेपाल भ्रमणमा निम्त्याउन मन्त्री भट्टराईले विवादास्पद रणनीति अघि सारेका छन् । नेपाललाई ‘कोरोना फ्री जोन’का रुपमा प्रचार गर्नका लागि श्रव्यदृश्य सामग्री बनाउन उनले निर्देशन दिएको समाचार आएको छ । समाचारमा आए अनुसार मन्त्री भट्टराईले चिनियाँ भाषामा समेत त्यस्ता प्रचार सामग्री तयार पारेर ७ दिनभित्र चिनियाँ सञ्चार माध्यम तथा चीनस्थित नेपाली नियोगमार्फत सम्प्रेषणको व्यवस्था मिलाउन भनेका छन् ।
नेपालको पर्यटनका लागि भारतपछि चीन दोस्रो ठूलो स्रोत बजार हो । अघिल्लो वर्ष सन् २०१९ मा झण्डै एक लाख ७० हजार चिनियाँले नेपाल भ्रमण गरेका थिए । यसपालि भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको नेपालले चीनबाट मात्रै पाँच लाख पर्यटकको आशा राखेको छ । तर, कोरोनाको प्रकोपले गर्दा चीनबाट पर्यटक आगमन ठप्प प्रायः बन्न पुगेको छ । चीनबाट मात्र होइन, अन्य देशबाट पनि पर्यटक नेपाल आउन डराइरहेका छन् । यसले गर्दा सरकारले भ्रमण वर्षका लागि लिएको लक्ष्य हासिल हुन कठिन देखिएको छ ।
अहिलेसम्म नेपाल कोरोना प्रभावित छ भनेर अन्तर्राष्ट्रियस्तरमा प्रचार भएको छैन । तर, पनि चीनको निकट छिमेकी भएको हिसाबले अन्य देशका पर्यटकहरु नेपाल आउन हिच्किचाउँदा यस वर्ष पर्यटन क्षेत्र गम्भीर रुपमा प्रभावित हुने भएको छ । यही दूर्भाग्यपूर्ण स्थितिले गर्दा सरकारले अत्यधिक महत्व दिएको ‘भ्रमण वर्ष’ असफलताउन्मुख बनेको विषयले प्रधानमन्त्रीदेखि पर्यटनमन्त्रीसम्म चिन्तित बनेका छन् । यही चिन्ता र हताशाकै परिणामस्वरुप पर्यटनमन्त्रीको दिमागमा ‘कोरोनामुक्त देश’ भनेर प्रचार गर्ने जुक्ति निस्केको हुन सक्छ ।
नेपाललाई बुद्धको देश वा सगरमाथाको देश भनिरहनुभन्दा ‘कोरोनामुक्त देश’ भनेर प्रचार गर्दा बढी पर्यटक आउने सोचेका हुन् कि ? यो रणनीतिलाई कार्यान्वयनमा लगेमा पर्यटनमन्त्री फेरि एकपटक असंवेदनशील ठहरिनेछन् । यदि चीनबाहेकका मुलुकमा यो अभियान लैजाने भनेको भए त्यति धेरै विवादास्पद मानिने थिएन । तर, पर्यटनमन्त्रीको फोकस नै चीनमा छ ।
अहिले नेपालले चिनियाँ पर्यटक आएनन् भनेर पुर्पुरोमा हात लगाउने समय नै होइन । चीन चाँडोभन्दा चाँडो कोरोना भाइरसबाट मुक्त होस् भनेर कामना गर्ने, अनि उसलाई साथ दिने समय हो । चीनको सरकारले प्रभावित क्षेत्रका बासिन्दालाई घरबाट बाहिरसमेत निस्कन नदिएर संरक्षण गरिरहेको छ । अनि, नेपालले चाहिँ ‘नेपालमा कोराना छैन है, घुम्न आओ’ भन्दै सञ्चार माध्यममा फुक्दा कस्तो सन्देश जाला ? यस सम्वन्धमा स्पष्टीकरण दिँदै मन्त्री भट्टराईले फेसबुकमा लेखेका छन्, ‘आजसम्म नेपालमा कोरोनाको कुनै बिरामी भेटिएको छैन । नेपाल आजसम्म सुरक्षित छ । हामीले उच्च सतर्कता अपनाएका छौं । मित्रराष्ट्र चीनलाई सिंगो नेपालको ऐक्यवद्धता छ । यो सन्देश विश्वभरि फैलाऔं भन्ने कुराको विरोध किन हो ? हीनतावोधको मानसिकता ।’
हो, नेपालमा आजका मितिमा कोरोना संक्रमित कोही भेटिएका छैनन् । संक्रमण देखिएका एक बिरामी पनि अहिले सञ्चो भइसकेका छन् भने नयाँ कुनै केस आएका छैनन् । तर, पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपाललाई कोरोनाको जोखिम राष्ट्रकै सूचीमा राखिरहेको छ । चीन र नेपालको निकटता अनि आवागमनले गर्दा संक्रमणको जोखिम अझै पनि कायम छ । अहिले पनि चीनबाट आउने यात्रुहरुको विमानस्थलमा राम्रो निगरानी नहुने गरेको रिपोर्टहरु आइरहेका छन् । त्यसैले हामीले ‘संक्रमणमुक्त छौं’ भन्दैमा विदेशीहरुले पत्याइहाल्न नसक्लान् ।
ठीक छ, आजका मितिमा नेपाललाई कोरोनामुक्त नै मानौं। तर, पर्यटन प्रवद्र्धनका लागि यसैलाई हतियार बनाउन मिल्छ कि मिल्दैन ? कोरोनाको खानीमै गएर ‘हामीलाई त सरेको छैन है’ भन्दै झ्याली पिट्दा त्यसको के अर्थ लाग्छ ? एउटा अखबारले मास्क लगाएका माओत्सेतुङको तस्वीर प्रकाशित गर्दा आक्रामक विज्ञप्ति जारी गर्ने देशले सरकारबाटै यस किसिमको रवैया भयो भने सामान्यरुपमा लेला ? या आफ्नो देशको विपत्तिमा नेपालले व्यापार गर्न खोजेको अर्थमा बुझ्ला ?
नेपाल भ्रमण वर्षलाई सफल बनाउन मन्त्री भट्टराईले सबै उपायहरु लगाइरहेका छन् । तर, समयले उनलाई साथ दिएको छैन । भट्टराईले अब तत्काललाई होइन, भविश्यलाई हेरेर काम गर्नुपर्छ । यसपालि लक्षित संख्या नपुगोस्, तर भ्रमण वर्षले भविश्यका लागि आधारशिला खडा गर्न सक्छ । आज नेपाल आउन नसकेका चिनियाँ पर्यटक भोलि आउन सक्छन् । आजै पर्यटन मन्त्रीले पत्रकारहरुसँग भनेका छन्, ‘कोरोनामुक्त भएसँगै चिनियाँ पर्यटकहरु वाफ उडेजसरी देश बाहिर निस्किन्छन्, त्यसको लाभ हामीले लिन सक्छौं ।’ हो, उनले त्यही समयको प्रतीक्षा गर्नुपर्छ ।
विवादका श्रृंखला
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रका आफ्ना आलोचक योगेश भट्टराईलाई पर्यटन मन्त्री नियुक्त गर्दा निकै ठूलो चर्चा भएको थियो । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको असामयिक निधन भएपछि रिक्त भएको स्थानमा ओलीले अधिकारीजस्तै जुझारु नेतालाई चयन गरेका थिए । यसले सामाजिक सञ्जालमा सकारात्मक भाइब्रेसन पैदा भयो । प्रतिपक्षी नेताहरुसमेत भट्टराईलाई बधाई दिन प्रतिस्पर्धामा उत्रिएका थिए । युवापुस्तामा पहिल्यैदेखि लोकप्रिय नेता भट्टराई प्रष्ट, निर्भिक र जुझारु नेताका रुपमा चिनिँदै आएका छन् । यसअघि कहिल्यै मन्त्री नबनेकाले उनी ‘अनटेस्टेड’ पनि थिए । त्यसैले उनीबाट आशा राखिनु अन्यथा थिएन । तर, मन्त्री नियुक्त भएयता भट्टराई एकपछि अर्को विवादमा फस्दै गइरहेका छन् ।
मन्त्री भएपछि केही समय चुपचाप काममा लाग्नुपर्ने थियो उनले । तर, सुरुदेखि भाषणबाजीमा केन्द्रित भए । दसौं लाख मानिसहरु जुटाएर निजगढ विमानस्थलको शिलान्यास गराउने हास्यास्पद गफ दिए । कुनै आयोजनाको शिलान्यास गर्नकै लागि यत्रो भिड जुटाउनु किन आवश्यक पर्छ ? विमानस्थलको निर्माणपूर्वका गृहकार्यहरुमा केन्द्रित हुनुपर्नेमा उनले शिलान्यासलाई मात्रै महत्व दिइरहे । शिलान्यास भनेको त दुईवटा ईंट्टा खप्टिने कुरा न हो, यसले मात्रै कुनै आयोजनाको निर्माण सुनिश्चितता हुँदैन । बग्रेल्ति आयोजनाहरु शिलान्यासपछि थन्किएका उदाहरण छन् । अहिलेसम्म पनि मन्त्री भट्टराईले निजगढ विमानस्थलको गाँठो फुकाउन सकेका छैनन् ।
त्यसपछि आयो पशुपति काण्ड । मन्त्री भट्टराईले पशुपति मन्दिरमा रात्रिकालीन आरती गर्दा नेपालको राष्ट्रियगान बजाउन फर्मान जारी गरे । त्यसमा पनि उनी चुके । भलै, उनको सोच र नियत पवित्र थियो होला । देशकै प्रमुख मन्दिरभित्रको धार्मिक अनुष्ठानमा आध्यात्मिकसँगै राष्ट्रियताको जागरणसमेत सिर्जना गर्ने सोच थियो होला उनको । तर, आर्यघाटमा शव जल्दै गर्दा राष्ट्रिय गान बजाउनु व्यवहारिक थिएन । केही दिनको प्रयोगपछि यो मजाक बन्द भयो । भट्टराईसँग अझै तीन वर्ष छ, आफूलाई प्रमाणित गर्ने । मन्त्रालयभित्र र बाहिरका विज्ञहरुसँग राय–सल्लाह लिएर चल्ने र गल्ती हुँदा त्यसलाई महसुस गरेर सच्चिने हो भने भट्टराईले आफ्नो गुम्दै गएको छवि पुनः स्थापित गर्न सक्नेछन् ।
त्यसैगरी, पर्यटन मन्त्रालयले नारायणहिटी दरबारभित्रका कोठाहरु रेस्टुरेन्ट खोल्न भाडामा दिन लागेको समाचार मिडियामा आयो । स्रोतको हवाला दिँदै प्रकाशित समाचारलाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि मन्त्री भट्टराईले त्यसको खण्डन गरे । उनले भने, नारायणहिटी दरबारको ऐतिहासिकता तथा पुरातात्विक महत्वलाई असर पर्ने कुनै पनि काम सरकारबाट हुनेछैन ।’ समयमै स्पष्ट पारेकाले यसमा मन्त्री भट्टराई धेरै विवादित बनेनन् । तर, नारायणहिटी संग्रहालयबाट आम्दानी सिर्जना गर्ने उपायहरु खोज्ने क्रममा यो विकल्पमा गृहकार्य भएकै हो । सुरुमै विवाद आएपछि मन्त्रालय पछि हटेको हो ।
केही समयअघि भट्टराईको एउटा भिडियो क्लीप भाइरल भयो । एक अमेरिकी पर्यटकले त्रिभुवन विमानस्थलभित्रको शौचालय अत्याधिक फोहोर गरेको भन्दै सामाजिक सञ्जालमा बिल्ला गरेका थिए । उनको स्टाटस भाइरल भएपछि मन्त्री भट्टराईले एक कार्यक्रममा जवाफ दिएका थिए । तर, उनको जवाफ विवादित बन्यो । मन्त्री भट्टराईले भनेका थिए, ‘एकजना अमेरिकीले के–के न पत्ता लगाइदिइछन्, वैज्ञानिक नै जस्तो । हाम्रा ट्वाइलेटहरु अलिअलि फोहोर छन् त के ठूलो कुरा भयो र ? तिनका पनि फोहोर नै थिएन नि । सन् १९७० सम्म कालाहरुलाई शौचालयमा दिसा पिसाब गर्न दिन्थे ? आफ्नो इतिहास पनि हेर्नुपर्यो नि ।’
एउटा विदेशी नागरिकले विमानस्थलको शौचालयमा प्रश्न उठाएको सुनेपछि मन्त्रीले त्यसलाई जवाफ दिइरहनुभन्दा चुपचाप यसमा सुधार ल्याउन सम्वन्धित निकायलाई निर्देशन दिनुपर्थ्यो । जवाफै दिए पनि त्यो नरम र ओजपूर्ण हुनुपर्थ्यो । हालै पर्यटन मन्त्रालयले ल्याएको हवाइ नीतिको मस्यौदा पनि त्रुटिपूर्ण मानिएको छ । यसले वायु सेवा कम्पनीहरुलाई न्यूनतम भाडादरको सिलिङ तोक्न प्रस्ताव गरेको छ । अर्थात्, सरकारले तोकेको भन्दा कम मूल्यमा टिकट बेच्न पाइने छैन । यस्तो नीति उपभोक्ताविरोधी भएको भन्दै आलोचना भइरहेको छ । सरकारले भने हवाई उड्डयन क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढेकाले सिलिङ तोक्नुपरेको तर्क गरेको छ ।
मन्त्री भट्टराईले ७ महिनामा के गरे ?
मन्त्री नियुक्त भएयताका ७ महिनामा योगेश भट्टराईले सबै खराबै खराब मात्रै गरे भन्दा उनीमाथि अन्याय हुनेछ । काम गर्ने क्रममा उनीबाट श्रृंखलाबद्ध गल्तीहरु भएका छन् । तर, गल्ती उहीबाट हुने हो, जसले केही काम गर्छ । केही नगरेर निस्क्रिय बसेको भए गल्ती पनि हुँदैनथ्यो । धेरै मन्त्रीहरु केही नगरेर विवादमुक्त बसिरहेका पनि छन् ।
मन्त्री नियुक्त भएदेखि नै भट्टराईले केही गर्ने हुटहुटी र जाँगर देखाइरहेका छन् । सुरुमा उनले संकटग्रस्त अवस्थामा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई सुधारको बाटोमा ल्याउन पहल थाले । यसका लागि बाटो पहिल्याउन उनले एउटा अध्ययन समिति बनाए । समितिको प्रतिवेदन उनको गोजीमा छ । यसले दिएका सुझावलाई टेकेर उनले एयरलाइन्सलाई सही ट्र्याकमा ल्याउन सक्छन् । त्यस्तै ६ वर्षदेखि बहसमा रहेको प्राधिकरण टुक्र्याउने कानूनलाई उनले संसदमा पुर्याएका छन् । हवाई उड्ययन क्षेत्रको सेवा प्रदायक र नियामक निकाय एउटै हुन नहुने अन्तर्राष्ट्रिय मापदण्ड छ । यही मापदण्ड पूरा नगरेका आधारमा नेपाली वायुसेवा युरोपेली आकाशमा प्रतिवन्धित बनेको हो । नेपाललाई यूरोपेली आकाशको कालोसूचीबाट हटाउन यो ऐन निर्णायक हुन सक्ने मानिएको छ ।
नेपाल भ्रमण वर्ष सफल बनाउन भट्टराईले निकै जोड लगाएका छन्, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुधारका लागि धाइरहेका छन् । यसलाई उनले आफ्नो प्रतिष्ठाकै विषय बनाएको देखिन्छ । यो राम्रो पनि हो । सरकारले घोषणा गरेको महत्वाकांक्षी अभियानमा मन्त्रीबाट यही स्तरको संवेदनशीलता र चिन्ता आवश्यक छ । तर, यस क्रममा उनीबाट भएका गल्ती कमजोरीहरुले गर्दा जस पाउनुपर्ने ठाउँमा अपजस पाइरहेका छन् । मन्त्री भट्टराईले केही लोककल्याणकारी अवधारणा पनि अघि सारेका छन् । वृद्धवृद्धालाई हवाई टिकटमा छुट दिने उनको घोषणा क्रमशः कार्यान्वयनमा आइरहेको छ ।
मन्त्री भएयता भट्टराईको खटाइ र सक्रियताको मन्त्रालयका अधिकारीहरु प्रशंसा गर्ने गर्छन् । मन्त्रालयका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘मन्त्रीज्यूका धेरै कुराहरु राम्रा छन् । उहाँ छिटो कुरा बुझ्नुहुन्छ र जत्ति पनि खट्न सक्नुहुन्छ । आफ्नो जिम्मेवारीमा दत्तचित्त भएर लाग्नुहुन्छ ।’ तर, ती अधिकारीका अनुसार उनी कुनै पनि महत्वपूर्ण निर्णय लिँदा मन्त्रालयकै जिम्मेवार व्यक्तिहरुसँग सल्लाह लिँदैनन् । आफ्नै कोटरीभित्रका व्यक्तिहरु, जसँग कुनै विज्ञता हुँदैन, उनीहरुकै सल्लाहमा चल्छन् । र, बारम्बार विवादमा आउनुको मुख्य कारण पनि नै यही हो ।
नेपालीमा एउटा उखान छ– आश गरेको केटो…. । मन्त्री भट्टराईमाथि यति टिप्पणी आवश्यक पर्नुको कारण पनि यही हो कि उनी आशा गरिएका मन्त्री हुन् । उनीजस्ता मन्त्रीबाट पनि जनता निराश हुने अवस्था दुःखद हो । भट्टराईसँग अझै तीन वर्ष छ, आफूलाई प्रमाणित गर्ने । मन्त्रालयभित्र र बाहिरका विज्ञहरुसँग राय–सल्लाह लिएर चल्ने र गल्ती हुँदा त्यसलाई महसुस गरेर सच्चिने हो भने भट्टराईले आफ्नो गुम्दै गएको छवि पुनः स्थापित गर्न सक्नेछन् ।
मन्त्री भट्टराई भन्छन्- मैले केही अन्टसन्ट बोलेको छैन
मैले भन्न खोजेको कुरो के थियो भन्ने मन्त्रालयको विज्ञप्तिमा प्रष्टै छ । मान्छेहरुले त्यो विज्ञप्ति नै हेरेनन् । त्यो विज्ञप्तिमा दुईवटा पोइन्ट छन् एउटा- नेपाल कोरोनामुक्त छ, त्यो मैले भनेकै हो । नेपाल आजसम्म कोरोना फ्री जोन हो । त्यसकारणले नेपालमा घुम्न सुरक्षित छ, तपाईहरु आउनोस् भनेर विश्व बजारमा हाम्रो प्रचार लानुपर्यो ।
दोस्रो पोइन्टमा मैले के भनेको थिएँ भने चीनचाहिँ अहिले कठीन अवस्थामा छ । त्यसकारणले चीनलाई हाम्रो सहानुभूति, सहयोग ऐक्यवद्धताको सन्देश पठाउनुपर्यो र हामीले चीन छिटै कोरोनाबाट मुक्त भएपछि चिनियाँ पर्यटकहरुलाई स्वागत गर्न आतुर छौं भन्ने सन्देश दिनुपर्यो । यही हो मैले भनेको । तर, यसलाई बुझ्दै नबुझी पर्यटन मन्त्रीले चिनियाँ पर्यटकहरु ल्याउनु भन्यो भनियो । मेले चिनियाँ पर्यटक ल्याउने भनेकै छैन । चीन बाहेकको अरु दुनियाँमा हाम्रो नेपाल सुरक्षित छ, आऊ भन्नुपर्यो ।
चीनमा चाहिँ तिमीहरुलाई दुःख छ, हाम्रो ऐक्यवद्धता छ, छिटै मुक्त होऊ, त्यसपछि तिमीहरुका पर्यटक जब घुम्न निस्कन्छन्, त्यसपछि हामी नेपालमा स्वागत गर्न तयार छौं भन्नुपर्यो । त्यो सन्देश पठाउनुपर्यो, दुईवटा अलग-अलग भन्या हो मैले । मैले दुईवटा अलग-अलग वक्तव्यको कुरा गरेको छु । चिनियाँ बाहेकको दुनियाँलाई नेपाल सुरक्षित छ, आऊ भन्नुपर्यो । हामीले चाइना बाहेकका अरु देशका उडानहरु रोकेका त छैनौं । अझै उडानहरु थप्ने भन्या छौं । मैले बोलेको यो कुरालाई अपव्याख्या गरियो । मैले केही अन्टसन्ट बोलेको छैन । अन्ट सन्ट लेख्नेहरुले अन्ट सन्ट बोलेको भनेर छापेका मात्र हुन् । Onilekhabar



















