मध्यपूर्वको तनाव नेपालमा पाँच नोक्सान
उक्त तनावले खाडी मुलुकमा कार्यरत नेपाली कामदारहरू जोखिममा रहेकाले मानसिक तनाव बढेर नेपाल फर्कन सक्ने हुँदा विप्रेषण आप्रवाहमा अधिक गिरावटको सम्भावना रहेको विज्ञहरूको विश्लेषण छ।
नेपालले भारतबाट तेल खरिद गर्दै आएको छ भने भारतले अन्य मुलुकबाट तेल आयात गर्दछ। भारतले सबैभन्दा बढी तेल आयात गर्ने मुलुकमध्ये इरान पनि एक हो।इरानमा द्वन्द्व बढ्दा तेलको मूल्यमा वृद्धि हुन जाने बताउँदै अर्थविद् डा. अधिकारीले यसबाट नेपालमा आयात हुने तेलको मूल्यमा वृद्धि भई तेल अभाव नै हुनजाने सम्भावना औंल्याउनुभयो।
उहाँले भन्नुभयो– ‘भारतबाट तेल किनिने भए पनि भारतले खाडीबाट तेल किन्ने हुँदा यसमा कडाइ हुन गई मूल्य बढ्छ, जसको प्रत्यक्ष प्रभाव नेपालमा पर्छ। यसरी मूल्य बढ्दा नेपालको अर्थतन्त्रको लागत बढ्न गई यसले समग्र अर्थतन्त्र प्रभावित हुन्छ।’
अमेरिका र इरानबीचमा तनाव हुँदा नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने बताउँदै डा. अधिकारीले नेपालीले मूल्यवृद्धिको मार खेप्नुपर्ने अवस्था आउने बताउनुभयो।यी सबैको असर पर्यटन क्षेत्रमा पर्ने बताउँदै द्वन्द्वग्रस्त क्षेत्रबाट आउने पर्यटकहरूको संख्यामा गिरावट आई मूल्यवृद्धि हुने हुँदा पर्यटकले खर्च गर्ने क्षमतामा ह्रास हुने उहाँको भनाइ थियो।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले पनि मध्यपूर्वमा तनाव जारी रहेमा नेपालमा सबैभन्दा ठूलो असर विप्रेषण आप्रवाहमा नै पर्ने बताउनुभयो।नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले भन्नुभयो– ‘ठूलो संख्यामा विप्रेषण आप्रवाह खाडी मुलुकबाट नै हुन्छ, त्यसले वैदेशिक रोजगारीको निरन्तरतामाथि नै प्रश्न उठ्न सक्छ।’
विप्रेषण आप्रवाह कम हुँदा त्यसको असर सामाजिक तथा आर्थिक सूचकहरूमा पर्न जाने बताउँदै नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले यसले गरिबी निवारणमा पनि असर गर्ने चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो– ‘मध्यपूर्वमा तनाव रहिरहे विदेशी विनिमय सञ्चिति प्रभावित हुन जान्छ।’
१. विप्रेषण आप्रवाहमा गिरावट
२. मूल्यवृद्धि
३. पर्यटकहरूको आगमनमा कमी
४. गरिबी निवारणमा असर
यसै गरी उहाँले मध्यपूर्वमा तनाव जारी रहेमा भविष्यमा भने यसले अवसर सिर्जना गर्न सक्ने सम्भावना पनि उत्तिकै रहेको औंल्याउनुभयो।उहाँले द्वन्द्वका कारण विदेशमा रहेका नेपाली कामदार फर्कने र आन्तरिक रोजगारीका अवसरहरू खोज्न दबाब सिर्जना हुने बताउनुभयो।
मध्यकालमा भने यस तनावले नेपाललाई केही अवसर दिने बताउँदै उहाँले भन्नुभयो– ‘कृषिसँग सम्बन्धित वस्तुहरू (तेल, चिनी, खाद्यान्न)लगायतको आयातमा कमी आउनसक्छ, किनभने नेपाली जनशक्तिले नै यसको उत्पादन बढाउन सक्छ।’
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘त्यहाँ रहेका नेपाली कामदारहरू फर्कन सक्ने सम्भावना रहन्छ, यसबाट नेपाललाई खाडी मुलुकबाट प्राप्त हुने रेमिट्यान्स रकममा गिरावट आउँछ।’
नेपालको ग्रामीण क्षेत्रमा अझै पनि गृहस्थी चलाउने, बालबच्चालाई शिक्षा दिनेलगायतका कामका लागि आफन्तले विदेशमा काम गरेर कमाएको रकम नै मुख्य आधार भएको बताउँदै उहांँले मध्यपूर्वमा जारी तनावले त्यो आधार खोस्न जाने चिन्ता व्यक्त गर्नुभयो।
‘नेपालीहरूको आधारभूत आवश्यकता परिपूर्ति गर्न विदेशमा गएका नेपाली कामदारको मुख्य भूमिका हुन्छ, उनीहरू नै यता फर्केपछि कसरी जीविकोपार्जन गर्ने?’ –उहाँले थप्नुभयो।
सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारासहित शुरू गरेको नेपाल भ्रमण वर्ष २०२० का लागि पनि मध्यपूर्वी तनावले नकारात्मक असर पार्ने देखिएको छ।अमेरिका र इरानबीच जारी द्वन्द्व तथा इरानले युक्रेनको विमान खसाउनुजस्ता केही मुख्य घटनाक्रमले नेपाल भ्रमण वर्षको अभियानमा असर गर्ने देखिन्छ।



















