अम्बिका साँवा : एक सिद्धान्तनिष्ठ नेता

टंक श्रेष्ठ
कार्तिक १, २०७६

मैले अम्बिका साँवालाई सिद्धान्तनिष्ठ नेता भन्दा यो खिसिट्युरीको विषय पनि बन्न सक्ला । उहाँ सुरुमा नेपाली कांग्रेसमार्फत राजनीतिमा प्रवेश गर्नुभयो । त्यतिबेलाको माहौल नै त्यस्तै थियो । संसदीय व्यवस्था विघटन भएपछि पञ्चायतमार्फत जनताको सेवा गर्ने कोसिस गर्नुभयो । २०२३ सालको जिल्ला सभापतिको चुनावपछि उहाँमा राजनीतिप्रति वैराग्य छायो ।

चुनाव हारेर तपाईंलाई पञ्चायतप्रति नै वितृष्णा आएको हो भन्ने प्रश्नमा उहाँ भन्नहुन्थ्यो ‘चुनाव हारें, त्यो एउटा पक्ष मात्र हो । त्यहाँ जनताको सेवाभन्दा पनि छलकपट, षड्यन्त्र र चरम स्वार्थीपना थियो । जुन मलाई पटक्कै मन परेन ।’ राजनीतिप्रति नै निराश भइरहेको बेला कम्युनिष्ट विचारले उहाँलाई नयाँ किरण देखायो । कम्युनिष्ट सिद्धान्तको अध्ययन गर्नुभयो र नेकपा पूर्वकोसी प्रान्तीय कमिटीअन्तर्गत ताप्लेजुङ जिल्ला कमिटीको गठन गरी वामपन्थी राजनीतिको प्रचारमा लाग्नुभयो । त्यसपछि नेकपा मालेमा लाग्नुभयो । माले र माक्र्सवादी एकीकृत भएर एमाले बन्यो । २०५४ सालमा क्रान्तिकारी नारा दिएर एमाले फुटाई माले बनाए । अम्बिका साँवा त्यही क्रान्तिकारी नाराको पछि लाग्दै माले हुनुभयो । मालेको चिन्नुभयो र उहाँ पुनः एमालेमा नै फर्किनुभयो । पछि सशस्त्र युद्ध गरिरहेको माओवादीमा लाग्नुभयो । भन्नेहरू भन्ने गर्छन्– ‘अम्बिका साँवाले अस्थिर राजनीति ग¥यो । विभिन्न पार्टी चाहर्दै हिँड्यो ।’ झट्ट हेर्दा त्यस्तै देखिन खोज्छ । तर अलि गहिरिएर अध्ययन गर्दा निष्कर्ष फरक निस्कन्छ । उहाँ सिद्धान्तनिष्ठ हुनुहुन्थ्यो र त्यसलाई व्यवहारमा लागु गर्न खोज्नुहुन्थ्यो । उहाँ अनुशासनमा बस्नुहुन्थ्यो र अरूबाट पनि त्यही अपेक्षा गर्नुहुन्थ्यो । उहाँ आदर्श खोज्नु हुन्थ्यो र त्यसको अभावमा आक्रोशित बन्नुहुन्थ्यो । अर्थात् उहाँ जहिलेदेखि कम्युनिष्ट पार्टीमा लाग्नुभयो, सिद्धान्तबाट कहिल्यै विचलित हुनुभएन । बरु ती पार्टीहरूमा विचलन आएको ठान्नुभयो अनि सामाजिक न्याय र परिवर्तनको आफ्नो सपना जहाँ जाँदा पूरा हुन्छ भन्ने लाग्यो त्यतै जानुभयो । जहाँसम्म पार्टीप्रति सन्तुष्टिको कुरा छ, उहाँ कुनै पार्टीप्रति पनि सन्तुष्ट हुन सक्नुभएन । पूर्वकोसीप्रति उहाँको खासै गुनासो सुनिएन बाँकी सबैप्रति उहाँको गुनासो रह्यो । पछिल्लो समय उहाँ सामेल रहेको पार्टीप्रति पनि उहाँको उत्तिकै गुनासो थियो । ‘व्यवस्था त परिवर्तन भयो, तर शैली सामन्ती नै रह्यो । झन् धेरै सामन्तीहरु देखा परे । पार्टीहरू आडम्बरी भए’ भन्नुहुन्थ्यो । पार्टीका एकाध नेताप्रति मात्र उहाँको सकारात्मक धारणा थियो ।
… त्रमशः …
(अथक योद्धा अम्बिका साँवा स्मृतिगन्थबाट)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*