अंशमा शौचालय

वेलकम खबर
बैशाख १९, २०७६

जनकपुरधाम । एक धुर जग्गा। त्यसमा ठडिएको छ सानो छाप्रो। गर्मीमा आगलागीको डर। वर्षामा चुहिएर हैरान। छानो टालटुल पारेर जीवन चलाएका छन्, धनुषा लक्ष्मीनिया गाउँपालिका–२ की पानोदास तत्माका ३ छोराका परिवारले।

एक धुरको त्यो टहरामा ३ वटा ढोका छन्। ढोकाजत्तिकै छ भित्र ठाउँ। एउटा ढोकाअगाडि शौचालय पुरिएको देखिन्छ। झुपडीमा ३ वटा ढोका लगाएर कोठा छुट्ट्याए पनि त्यसभित्र बस्न भने मुस्किल छ। तर, त्यसैमा खाना पकाइन्छ।

खुट्टा तन्काएर सुत्न ठाउँ छैन कोठाभित्र। पानोले जीवनभर सानो छाप्रोमा सन्तान हुर्काए। छोरा ठूला भएपछि छुट्टिए। घर बाँडफाँट भएपछि एउटाको भागमा शौचालय पर्‍यो। उनको परिवार त्यही शौचालय पुरेर कोठा बनाएर बसिरहेको छ। शौचालय पुरिएपछि उनीहरू खुला चौरमा दिसापिसाब गर्छन्।

पानोदासका जेठा छोरा श्रीचन्द्रका २ छोरी, एक छोरा र पत्नी छन्। माहिलो चन्देश्वरकी पत्नी र एक छोरी गरी ३ जना र कान्छो विन्देश्वरका पत्नी र एक छोरी गरी ३ जना छन्। पानोदासका ३ छोरा, ३ बुहारी र ५ नातिनातिना गरी १२ जना त्यही सानो झुपडीमा कष्टपूर्ण गुजारा गर्दै आएका छन्।

बर्खामा झन् बिजोग हुन्छ। माथिबाट पानी चुहिन्छ, पानी पसेपछि उनीहरूलाई पाइला राख्नेसमेत ठाउँ हुँदैन। तैपनि, जेनतेन यसैमा गुजारा गरिरहेको पानोदास बताउँछन्। गाउँलाई खुला दिसामुक्त गर्न सबैको घरमा शौचालय निर्माण गरिएको थियो। सोही क्रममा पानोको घरमा पनि शौचालय बनेको थियो। छोरा छुट्टिँदा जेठो छोराको अंशमा शौचालय परेपछि उनी त्यहीं बसिरहेको स्थानीय रामकरण दास बताउँछन्।

गरिबीका कारण ऋण नपाउँदा पानोका तीनै छोरा विदेश जान पाएका छैनन्। सबैजना गाउँमै दैनिक ज्याला मजदुरी गर्छन्। विदेश जान पाएको भए परिवारको आर्थिक अवस्था सुध्रिन्थ्यो। जग्गा किनेर घर ठड्याउन पाइन्थ्यो भन्ने उनीहरूको आशा थियो। साहु–महाजनले ऋणसमेत नपत्याएपछि उनीहरूको त्यो आशा पूरा हुन सकेको छैन।

‘हामीलाई बस्ने ठाउँसमेत छैन। साहु–महाजनले विश्वास गर्दैनन्, ऋण दिँदैनन्। पैसा अभावमा राहदानीसमेत बनाउन सकिएन’, आँगनमा बाबियोको डोरी बनाउँदै गरेका माहिला चन्देश्वरले भने, ‘चुनावमा नेताहरू जग्गा खोजेर घर बनाइदिने, रोजगारमा लगाइदिने आश्वासन दिएर जान्छन्। जितेर गएपछि फर्केर आउँदैनन्। हाम्रो त जिन्दगी नै यसरी कट्ने हो।’

स्थानीय सोम सहदा समूहका अध्यक्ष रामकरण दास भन्छन्, ‘चुनावमा दलका उम्मेदवार आउँदा विभिन्न लोभ देखाउँछन्। रक्सी र मासुमा भोट किनिहाल्छन्।’ जेठाको ५ जनाको परिवार भएकाले घरभित्र खाना पकाउन चुलोसमेत नअट्दा स्थानीयले ग्यास चुलोको व्यवस्था गरिदिएका छन्। झुपडीबाहिर पाइला टेक्ने जग्गा पनि छैन। छिमेकले कहिलेकाहीँ छेकबार लगाइदिँदा उठबस गर्न निकै समस्या हुने गरेको स्थानीयको भनाइ छ। पानोले छोराहरूलाई घरघडेरी र रोजगारको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन्। अन्नपूर्णबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*