वकिललाई सिंहदरबार प्रवेश सहज बनाउन प्रधानमन्त्रीलाई सुहाङको पत्र
काठमाडौँ । कानुन व्यवसायीहरूलाई सिंहदरबार परिसरमा सहज प्रवेशको व्यवस्था गर्न एमालेका युवा सांसद सुहाङ नेम्वाङले माग गरेका छन् ।बुधबार नेम्वाङले प्रधानमन्त्रीलाई पत्र लेख्दै यस्तो माग गरेका हुन् । नेम्वाङले नेपाल बार काउन्सिलबाट जारी गरिएको परिचयपत्रका आधारमा कानुन व्यवसायीहरूलाई सिंहदरबारमा सहज रूपमा प्रवेश दिनुपर्ने उल्लेख गरेका छन् । तर, हाल प्रशासनिक अदालतले नागरिक एपको पासका आधारमा मात्र प्रवेश दिने व्यवस्था गरेको भन्दै त्यसले कानुन व्यवसायीलाई समस्या भएको उनको भनाइ छ ।
पत्रमा उनले कुनै पनि नेपाली नागरिकले आफ्नो मुद्दामा कानुन व्यवसायीमार्फत प्रतिनिधित्व गराउने संवैधानिक अधिकार रहेको उल्लेख गर्दै, सिंहदरबारस्थित विभिन्न निकायमा कामकाजका लागि कानुन व्यवसायीको सहज पहुँच आवश्यक पर्ने बताएका छन् ।त्यस्तै, सरकारी कामकाज, मुद्दासम्बन्धी प्रक्रिया तथा कानुनी परामर्शका लागि मन्त्रालयहरू र अन्य निकायमा कानुन व्यवसायीको प्रत्यक्ष पहुँच अपरिहार्य रहेको उनले बताएका छन् ।
यसैबीच, सिंहदरबारभित्र विभिन्न निकाय तथा संसदीय दलका कार्यालयहरूले समेत कानुनी परामर्शका लागि कानुन व्यवसायी नियुक्त गर्ने प्रचलन रहेको उल्लेख गर्दै त्यसका लागि पनि सहज प्रवेश व्यवस्था आवश्यक रहेको उनले जनाएका छन् ।




















