मेरिङदेनले चैत्र ५ देखि वार्षिक परीक्षा सञ्चालन गर्ने
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले चैत्र ५ देखि वार्षिक परीक्षा सञ्चालन गर्ने भएको छ । पालिकाले आधारभूत तह कक्षा ४ देखि ८ तथा कक्षा ९ उत्तीर्ण परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। प्रत्येक दिन बिहान ११ बजेबाट परीक्षा सञ्चालन गर्ने गरी गाउँपालिका अन्तर्गत आधारभूत तह कक्षा ४ देखि ८ तथा माध्यमिक कक्षा ९ उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले निर्णय गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादवका अनुसार पालिका भरिका ३६ वटा विद्यालयमा उक्त परीक्षा लागू हुदैछ । यसरी सञ्चालन हुने परीक्षामा कक्षा ८ को प्रश्नपत्र बनाउने, उतर पुस्तिका जाँच्ने र नतिजा प्रकाशनको काम पालिकाले गर्ने छ भने अन्य कक्षाको पालिकाले प्रश्नपत्र तयार गर्ने अलावाको काम सम्बन्धित विद्यालयलाई दिने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नीति÷निर्देशन अनुसार मन्त्रालयले विकेन्द्रीकरणलाई जोड दिँदै स्थानीय तहलाई विद्यालय व्यवस्थापन र परीक्षा सञ्चालनमा सक्रिय भूमिका दिन प्रोत्साहन गरेको छ। त्यसैले धेरै जिल्लामा स्थानीय तहले प्रश्नपत्र बनाउने, परीक्षा तालिका बनाउने, केन्द्र तोक्ने आदि काम गर्छन् ।कक्षा ४–८ को धेरैजसो स्थानीय तहले एकै ढाँचामा वार्षिक परीक्षा लिन्छन्। कक्षा ९ को कतिपय ठाउँमा विद्यालयले लिन्छ, कतिपयमा स्थानीय तहले समन्वय गरेर लिन्छ। नतिजा प्रकाशन र प्रमाणीकरण पनि स्थानीय तहको समन्वयमा हुने गरेको छ ।



















