ताप्लेजुङलाई चिनाउने बनभोजको तयारी पुरा

वेलकम खबर
माघ ९, २०८२

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंको आयोजनामा हुने देशकै ठुलो मानिएको १४औं ताप्लेजुङ बनभोज २०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । माघ १० गते शनिबार कीर्तिपुरको चोभारस्थित हुप्पील्याण्डमा हुने यस बनभोजमा यस पटक पाँच हजारभन्दा बढीको सहभागीता हुने आयोजकले जनाएको छ ।


ताप्लेजुङबाट विभिन्न पेशा, व्यावसाय, अध्ययन तथा रोजगारीका क्रममा काठमाडौं उपत्यकालगायत आसपासका जिल्लाहरुमा आई बसोबास गर्ने हजारौं जिल्लावासीको साझा संस्था ताप्लेजुङ सरोकार केन्द्रले विगत लामो समयदेखी जिल्लावासीबीच आपसी सहयोग, सद्भाव, समन्वय तथा हार्दिकता अभिबृद्वि गर्न बनभोज आयोजना गर्दै आएको छ ।


यस पटकको बनभोजलाई अझ भव्य र जिल्लावासीका लागि महोत्सवका रुपमा लिइएको सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङले बताउनुभयो । ‘टिकटको मुल्य एक हजार राखिएको छ । त्यसमा उपत्यकाका विभिन्न स्थानबाट आउने, जाने, खाजा, खानालगायतका व्यावस्था छ’, अध्यक्ष तामाङले भन्नुभयो, ‘ताप्लेजुङवासीका लागी यो बनभोज एउटा उत्सव नै हो ।’
१४औं ताप्लेजुङ बनभोज आयोजना तथा व्यावस्थापन मुल समितिको संयोजक लोजक लामा रुईट रहनुभएको छ । ‘यो बनभोज केवल आउने, खाने, जानेमात्र होइन जिल्लावासीबीच आपसी भेट्घाट, सद्भाव तथा भावनात्मक अभिवृद्धिका लागि पनि हो’, संयोजक लामाले भन्नुभयो, ‘सहभागीताका दृष्टिले यस पटकको बनभोज ऐतिहासिक हुनेछ । जिल्लावासीमा धेरै उत्साह देखिएको छ ।’

सरोकार केन्द्रका महासचिव तथा सांस्कृतिक कार्यक्रम व्यावस्थापन समितिका संयोजक अशोकप्यासी राईका अनुसार यस पटकको बनभोजलाई सांस्कृतिक महोत्सवका रुपमा समेत प्रस्तुत गरिने भउको छ । ‘१४औं ताप्लेजुङ बनभोजमा लाखे, हुर्रा ९मगर नृत्य०, साकेला, च्याब्रुङ एवं धाननाच, तामाङ सेलो, वालुङ नृत्य, तमु ९गुरुङ० नृत्य, संगीनिलगायत विभिन्न समुदायको सांस्कृतिक नृत्य तथा झाँकी प्रस्तुत गर्दैछौं’, महासचिव राईले भन्नुभयो ।
कार्यक्रमलाई व्यवस्थित, मर्यादित र सफल बनाउन आयोजना तथा मुल ब्यावस्थापन समितिसहित सांस्कृतिक कार्यक्रम व्यावस्थापन, टिकट व्यावस्थापन, यातायात व्यावस्थापन, खानपिन व्यावस्थापन, अतिथी सत्कार, स्वयंसेवक व्यावस्थापन, प्रचार प्रसार तथा छायांकन, खेलकुद सञ्चालन तथा व्यावस्थापन, पुस्तक टिसर्ट विक्री व्यावस्थापन, कार्यालय ब्यावस्थापन, साउण्ड सिस्टम, मञ्च तथा स्टेज व्यावस्थापनलगायत विभिन्न १० वटा उपसमिति समेत गठन गरिएको अध्यक्ष बलबहादुर तामाङले जानकारी दिनुभयो

कार्यक्रममा चियर रेस, डोरी तान, छेलो हान्ने, घैंटो फुटाउनेलगायत विभिन्न खेलहरु समेत समावेश गरिएको छ । वनभोज कार्यक्रममार्फत ताप्लेजुङवासीबीच आपसी सद्भाव, एकता र सहकार्य प्रवद्र्धन गर्नुका साथै तीन पुस्ताबीच आपसी भेटघाट र भावनात्मक सम्बन्ध सुदृढ गर्ने, जिल्लाको विकासमा आ–आफ्नो स्थानबाट योगदान गर्न प्रेरित गर्ने तथा ताप्लेजुङ सरोकार केन्द्रको संस्थागत भूमिकालाई अझ प्रभावकारी बनाउने लक्ष्य लिइएको छ ।
कार्यक्रमको आर्थिक व्यवस्थापन टिकट बिक्री, स्वेच्छिक दान तथा प्रायोजकमार्फत गरिएको छ । आयोजक संस्थाले सम्पूर्ण ताप्लेजुङवासी, शुभेच्छुक, आजीवन सदस्य, विभिन्न पेशा–व्यवसायमा संलग्न महानुभाव तथा सञ्चारकर्मीलाई उपस्थितिका लागि अनुरोध पनि गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*