संयुक्त चुनाव चिह्न लिने ५ वटा गठबन्धन

१२६ दलले चुनावमा भाग लिने
वेलकम खबर
मंसिर १५, २०८२

काठमाडौं । आगामी फागुन २१ गते घोषित प्रतिनिधिसभा निर्वाचनका लागि १ सय २६ दल दर्ता भएका छन्। यद्यपि, आयोगमा दल दर्ताको संख्या भने १ सय ४३ छ। दर्तामध्ये केही दलले ‘एउटै चुनाव’ चिह्न लिएर प्रतिस्पर्धा गर्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। राजनीतिक दल दर्ता ऐनले दुई वा सोभन्दा बढी दल एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न पाउने सुविधा दिएको छ।
संयुक्त चुनाव चिह्न लिएर चुनाव लड्नेमा ५ वटा गठबन्धन बनेका छन। छुट्टाछुट्टै चुनाव चिह्नबाट निर्वाचनमा जाँदा भोट विभाजित भएर पराजित हुने डरले नयाँ पार्टीका पुराना नेताहरू एकल चुनाव चिह्न लिएर निर्वाचनमा जान लागेका हुन्। एक्लाएक्लै र एउटै चुनाव चिह्न लिएर चुनावी प्रयोजनका लागि दल दर्ता गराउन आयोगले आइतबारसम्मको समय दिएको थियो।
मंसिर २० गते निवेदन जाँचबुझ गरेर दलहरूको सूची प्रकाशन गरिने आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्तिमार्फत जनकारी दिएका छन्।आयोगमा परेका निवेदनअनुसार एकल चुनाव चिह्नबाट निर्वाचनमा जान दलहरूले अलग–अलग ५ वटा निवेदन दर्ता गरेका छन्। जसमा दुई वा दुईभन्दा बढी पार्टी मिलेर फरक–फरक चुनावी गठबन्धन बनाएका छन्।

दलहरूलाई एक चुनाव चिह्न लिएर चुनावमा जान राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले कानुनी व्यवस्था गरेको छ। निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका सहसचिव यज्ञप्रसाद भट्टराईले छरिएर रहेकाका मतहरू जोडेर एकै स्थानमा ल्याएर बढीभन्दा बढी सिट जित हाँसिल गर्न दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिह्न लिने गरेको बताए। ‘प्रतिनिधिसभामा प्रत्यक्षतिर एक सिट र समानुपातिकतिर कुल खसेको सदर मतको ३ प्रतिशत थे्रसहोल्ड कटायो भने मात्रै त्यो राष्ट्रिय पार्टी बन्छ,’ उनले भने, ‘थे्रसहोल्ड कटाउनका लागि पनि दलहरू एकल चुनाव चिह्नबाट लड्ने गर्छन्।’साना पार्टीलाई थ्रेस होल्डकै डर
ससाना पार्टी र तीनका नेताहरूलाई थ्रेसहोल्ड मुख्य बाधक बन्ने गरेको छ। एकातिर केही ससाना दलहरू छरिएर रहेका मतहरू जम्मा पार्न एउटै चुनाव चिह्न लिएर चुनाव मैदानमा जाने निर्णय गरेका छन् भने अर्कोतिर दिनहुँ नयाँ दल खोल्नेहरूको होडबाजी चलेको छ। जेन–जी आन्दोलनयता दुई दर्जन बढी नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगमा आइतबार साँझसम्म २५ वटा नयाँ दल दर्ता भएका छन्। यो सँगै कानुनी मान्यता प्राप्त राजनीतिक दलको कुल संख्या १४३ पुगेको आयोगले जनाएको छ।
१२ वटा दलले दर्ताका लागि दिएका निवेदन अझै प्रक्रियामा रहेको निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले जनाएको छ।

पूर्वउपप्रधानमन्त्री, राज्यमन्त्री, नयाँ पार्टी गठन गरेका नेताहरू पनि एकल चुनावचिह्न मिलेर चुनावी मैदानमा जाने तयारी गरेका छन। पूर्वउपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टी र कबिर सोप नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल एकल चुनाव चिह्न लिएर चुनावमा जान आयोगमा निवेदन दएका छन्।

यी तीन दलले नागरिक उन्मुक्ति पार्टी नेपालको ‘जाँतो’ चिह्नबाट चुनाव लड्न निवेदन दिएका हुन्। थरुहट आन्दोलनबाट जन्मेका रेशम चौधरीको समर्थनमा ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ हालै आयोगमा दर्ता भएको हो।राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले तीन पार्टी एकल चुनावमा चिह्न लिएर चुनावमा जानु भनेको अहिलेका लागि आंशिक एकता नै रहेको बताए। उनले भने, ‘एकलै–एकलै लड्दा समानुपातिकको मत खेर जाने सम्भावना हुन्छ। एकल चुनाव चिह्नमा गयो भयो मत सदुपयोग हुन्छ। यसैकारणले एकल चुनाव चिह्न लिएर चुनावमा जान लागेका छौं।’
त्यसैगरी पूर्वराज्यमन्त्री मो। रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी, हरिनन्दन कुमार अम्बेडकर नेतृत्वको बहुजन एकता पार्टी नेपाल र धपलालप्रसाद सहनी नेतृत्वको नेपाल जनजागृति पार्टीले एकल चुनाव चिह्न लिएर चुनावमा जान आयोगमा निवेदन दिएका छन्। यी तीन पार्टीहरूले संघीय गणतान्त्रिक गठबन्धन नाम लिएर एकल चुनाव चिह्न ‘बस छाप’ प्रस्ताब गरेर चुनावमा जान आयोगमा निवेदन दिएका छन्।

त्यसैगरी पूर्वसहरी विकासमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र रमनकुमार कर्ण नेतृत्ववको जनादेश पार्टी नेपाल पनि एकल चुनाव चिह्नबाट निर्वाचनमा जान आयोगमा निवेदन दिएका छन्। त्यसैगरी अम्बिकाप्रसाद थैव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९माक्र्सवादी० र लोकनारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि एकल चुनाव चिह्न लिएर मैदानमा होमिन आयोगमा निवेदन दर्ता गराएका छन्।

त्यसैगरी पुण्यप्रसाद प्रसाईं नेतृत्वको सचेत नेपाली पार्टी र भरत खड्का नेतृत्वको नागरिक सर्वोच्चता पार्टी पनि एकल चुनाव चिह्नबाट निर्वाचनमा जाने निर्णयमा पुगेका छन्। कानुनी झमेलाका कारण अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल र अनुपकुमार उपाध्याय नेतृत्वको उज्यालो नेपाल पार्टी एकल चुनाव चिह्न लिएर चुनावमा नजाने भएका छन्। यसअघि एकल चुनाव चिह्न लिएर चुनावमा जान यी दलले आयोगमा निवेदन दिएका थिए।‘हामीले एकल चुनाव चिह्न लिएर चुनावी मैदानमा जान आयोगमा निवेदन दिएका थियौं। तर, चुनाव जितेपछिका कानुनी झमेला हुने रहेछन्,’ पार्टी अध्यक्ष सुनारले भने, ‘आफ्नै पार्टीको चुनाव चिह्न ९राम्रो लाइक० बाट लड्न आयोगमा फेरि नयाँ निवेदन दिएका छौं।’ सुशीला कार्की नेतृत्वको सरकारमा तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको राजनीतिक दल हो नवगठित उज्यालो नेपाल पार्टी। धेरै पार्टी, धेरै उम्मेदवार भएर मत विभाजन भएर नयाँ पार्टी र उम्मेदवार पराजित हुने गरेको निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले बताए। ‘एक सिट आयो भने पनि सरकार निर्माणमा चलखेल गर्न सकिन्छ कि भन्ने मनोकांक्षाले पार्टीहरू खोल्ने गरिन्छ,’ उप्रेती भन्छन्, ‘यो क्रम विगतका निर्वाचनमा पनि देखियो। यसले स्थिर सरकार बन्दैन।’
एकल चुनाव चिह्नबाट लड्दा कसको लाग्छ ह्विप ?
राजनीतिक दल ऐनको दफा ४९ मा एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन सक्ने व्यवस्था छ। यस दफाअनुसार निर्वाचन प्रयोजनका लागि मान्यता प्राप्त गर्न चाहने दुई वा सोभन्दा बढी दलले प्राप्त गरेको निर्वाचन चिह्न वा अन्य कुनै निर्वाचन चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी निवेदन दिन सकिन्छ। ‘संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने दलको तर्फबाट उम्मेदवारी दिँदा त्यस्तो उम्मेदवार कुन दलसँग सम्बन्धित हो त्योसमेत खुलाउनुपर्ने छ,’ कानुनमा उल्लेख छ।
दुई वा दुईभन्दा बढी दल संयुक्त रूपमा निर्वाचनमा सहभागी भएकोमा त्यस्ता दलमध्ये सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुनेछ। ‘यसरी संयुक्त रूपमा निर्वाचनमा सहभागी भएका अन्य दलका पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यहरू सोही संसदीय दलको सदस्य भएको मानिनेछ,’ कानुनी व्यवस्था छ।नयाँ निर्वाचन चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी भएकोमा त्यस्ता सबै दलबाट निर्वाचित सदस्यहरूको बमोजिम नयाँ संसदीय दल गठन हुनेछ। त्यस्तो संसदीय दलको नाम सोही संसदीय दलले निर्धारण गरेबमोजिम हुनेछ। संसदीय दलका सदस्यले संसदीय दलको ह्विप नमाने, विपरीतको कार्य गरेमा त्यस्तो सदस्यले दल त्याग गरेको मानिनेछ।
त्यसैगरी राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ मा संसदीय दलले आफ्ना सदस्यलाई निर्देशन दिन सक्ने व्यवस्था छ। कानुनमा भनिएको छ, ‘संसदीय दलका नेताको निर्देशनबमोजिम त्यस्तो दलको सचेतकले संघीय संसद्को कुनै सदन वा प्रदेश सभामा हुने मतदानमा त्यस्तो प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न संसदीय दलको सदस्यलाई निर्देशन ९ह्विप० जारी गर्न सक्नेछ।’सरकारको विश्वास वा अविश्वासको प्रस्ताव, सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने विषय, वार्षिक बजेट पारित गर्ने विषय, राष्ट्रिय वा सार्वजनिक महŒवको अन्य कुनै विषयमा संसदीय दलको ह्विप लाग्ने कानुनी व्यवस्था छ।
संसदीय दलले दिएको निर्देशन संसदीय दलका प्रत्येक सदस्यले पालना गर्नुपर्ने छ। निर्देशन पालना नगर्ने सदस्यको विवरण सचेतकले सम्बन्धित दलको केन्द्रीय समितिलाई दिनुपर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*