सुदूरपश्चिमले २९ रनले काठमाडौंलाई हरायो
काठमाडौ । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट पुनरागमान गर्दै सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको हो ।
यस सिजन पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा देखिएको काठमाडौंलाई दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिमले २९ रनले पराजित गरेको हो । सुदूरपश्चिमको जितमा हर्मित सिंहले अलराउण्ड प्रदर्शन गरे ।
सुदूरपश्चिमले दिएको १४७ रनको लक्ष्य पछ्याएको काठमान्डु १६.५ ओभरमा सबै विकेट गुमाएर ११८ रनमा अलआउट भयो ।
काठमान्डुको लागि ओपार आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । यस्तै जोन सिम्पसोनले २४, भीम शार्कीले १२ र मिलिन्द कुमारले ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।सुदूरपश्चिमका लागि बलिङमा स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २-२ विकेट लिए । यस्तै इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले समान एक/एक विकेट लिए ।















