प्रधानमन्त्री बन्न ‘न्यायाधीश’हरू लामबद्ध !
जब देशको राजनीति राजनीतिकर्मीहरूको हातबाट बाहिर जान्छ त्यसपछि गैरराजनीतिक मानिसहरू कसरी सल्बलाउँछन् भन्ने दृष्टान्त यतिबेला नेपालमा देखिएको छ । रहस्यमयी विध्वङ्शपश्चात् सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनाइएपछि अन्य ‘न्यायाधीश’हरू पनि प्रधानमन्त्री बन्न प्रयासरत रहेको पाइएको छ । तर, न्यायाधीशहरूमा यसरी महत्वाकाङ्क्षा बढ्नुको कारण सुशीला कार्की मात्र नभएर खिलराज रेग्मीलाई मानिन्छ । रेग्मी प्रधानन्यायाधीश पदमा हुँदाहुँदै मन्त्रिपरिषदको अध्यक्षसमेत बनाइएका थिए ।
बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेला संविधानसभा विघटन भएपछि संविधान सभाको दोस्रो निर्वाचन गराउन भन्दै अदृष्य शक्तिको योजनामा रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्ष बनाइएको थियो । तथापि त्यतिबेला दलहरूको सम्मति लिने औपचारिकता पूरा गरिएको थियो र मन्त्रीचाहिँ राजनीतिक दलहरूकै सिफारिसमा समेत बनाइएको थियो । तर, यसपटक राजनीतिक दलहरूको हातबाट सरकार खोसेर गैरराजनीतिक ब्यक्तिहरूको हातमा सत्ता पुऱ्याइएको छ । यसरी प्रधानमन्त्री र मन्त्री बनाइँदा न संविधानको पालना गरिएको छ न प्राकृतिकरूपमा राजनीतिक सहमति नै जुटाइएको छ । सुशीला कार्कीलाई फागुन २१ गते निर्वाचन गराउनेगरी सरकारप्रमुख तोकिएपनि उक्त चुनाव प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका निम्ति हुनुपर्ने माग जोडदार रूपमा उठिरहेको छ ।
प्रधानमन्त्री कार्की प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको अवधारणालाई गलत भन्दै उक्त मितिमा संसद्का निम्ति निर्वाचन हुने अडानमा रहेको बुझिन्छ । यही विषयलाई लिएर गत भाद्र २४ गते भएको नियन्त्रित विध्वङ्शका निमित्त नाइके एवम् संसद् विघटन तथा कार्कीलाई प्रधानमन्त्री तोक्न ‘देखिने भूमिका’मा निर्णायक रहेका काठमाडौं महानगर प्रमुख बालेन्द्र साहबीच मनमुटाव सुरु भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न आनाकानी गरेका कारण बालेन्द्र ओमप्रकाश अर्याललाई गृह मन्त्रालयको जिम्मेवारीबाट तत्काल हटाइनुपर्ने अडानमा छन् । र, त्यसनिम्ति सुशीला कार्कीमाथि चर्को दबाब परिरहेको छ । यो प्रकरणमा पनि सुशीलाले आफूलाई साथ नदिएको बालेन्द्रले ठानिरहेका छन् । देखिने भूमिकाबाट जसले सुशीलालाई प्रधानमन्त्री बनायो उही ब्यक्ति क्रुद्ध भएपछि कार्कीले निर्वाचन गराउन नसक्ने र फागुनभन्दा पहिले नै प्रधानमन्त्री बदलिने सम्भावना देख्न थालिएको छ ।
सुशीलाको ब्यक्तिगत स्वभाव, क्षमता र योग्यता बुझेका मानिसहरू पनि उनी धेरै दिन उक्त जिम्मेवारीमा रहन नसक्ने ठान्दैछन् । यिनै कारणले सुशीलापछि प्रधानमन्त्री बन्ने सम्भावना रहेको भन्दै विभिन्न ब्यक्तिहरूको नाम चर्चामा आएका छन् । जोगीको भेष धारण गरेर कहिले हरिद्वार त कहिले देवघाटतिर देखापर्ने दामोदर शर्मा नामक पूर्व प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनेबारे मुलुकबाहिरको कुनै अँध्यारो कुनातिर छलफल सुरु भएको बुझिएको छ । तर, केपी शर्मा ओलीलगायतका नेताहरूसँग क्रुद्ध भइ बदलाको भावना राखेर बसिरहेका भन्दै अन्तर्राष्ट्रिय शक्तिकेन्द्रमा पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नाम सम्भावित प्रधानमन्त्रीका रूपमा लिन थालिएको छ । राणाले आफू प्रधानमन्त्री भएमा नेपाललाई हिन्दूराष्ट्र बनाइदिने वचनसमेत सम्बद्ध पक्षलाई दिएको बताइन्छ ।
विकशित नयाँ परिस्थितिका कारण चोलेन्द्र शमशेर निकै उत्साही बन्नुभएको छ र उहाँ यति आशावादी बन्नुभएको छ कि कतिबेला बालुवाटार बसोबास सार्ने भनेर बारम्बार घडी हेर्दै हुनुहुन्छ । राणा प्रधानमन्त्री बनेको अवस्थामा जेन्जीको भावनाअनुरुप फटाफट काम हुने विश्वास सम्बद्ध पक्षले गरेका छन् ।
त्यस्तै, सम्भावित प्रधानमन्त्रीका रूपमा चर्चामा आएका अर्का पूर्वप्रधानन्यायाधीश हुन् कल्याण श्रेष्ठ । कल्याण एकमात्र त्यस्ता प्रधानन्यायाधीश हुन् जो अवकाश पाएको डेढ दशक बितिसक्दा पनि अदालतलाई एकछत्र प्रभाव पार्न सफल छन् र, भनिन्छ– उनले रुचि लिएको कुनै पनि मुद्दाको फैसला उनकै चाहनाबमोजिम हुने गर्दछ । सुशीला कार्कीलाई न्यायाधीश र प्रधानन्यायाधीश बनाउन पनि श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सपना मल्ललाई न्यायाधीश बनाउन पनि उनकै भूमिका सर्वाधिक महत्वपूर्ण रहेको थियो । आफ्नो इच्छाबाहिर चल्न खोज्ने गोपाल पराजुलीलाई अपमानजनक ढङ्गले पदमूक्त गराउन सक्ने कल्याण चोलेन्द्र शमशेरलाई अदालतबाट पन्छाउनसमेत सफल भएका थिए ।
त्यस्तै, लोकमान सिंह कार्कीलाई पदमूक्त गराउने र शेरबहादुर देउवालाई अदालतबाटै प्रधानमन्त्री नियुक्त गराउने फैसलासमेत कल्याणले नै तयार गरेको भन्ने चर्चा त्यसबेला बजारमा चलेको थियो । तर, यतिबेला सुशीला कार्कीसँग कल्याणको सम्बन्ध केही चिसिएको बताइन्छ । कुनै कुनाबाट कल्याण श्रेष्ठको नाम पनि सम्भावित प्रधानमन्त्रीका रूपमा आइरहेको छ, तर पछिल्लो समयमा उनी धेरैतिरबाट एक्लिएका छन् र सपनाले समेत नटेर्ने स्थिति बनेको बताइन्छ । पश्चिमा शक्तिसँगको उनको बेजोड सम्बन्धमा पनि आँच आएको बुझिन्छ, तथापि सम्भावित प्रधानमन्त्रीका रूपमा उनको नाम कसरी चर्चामा आइरहेको हो स्पष्ट हुन सकेको छैन ।
वि.सं. २०७९ को आम निर्वाचनपश्चात् कल्याणलाई राष्ट्रपति बनाउने प्रयास कुनै शक्तिले गरेको र प्रचण्डमार्फत उक्त प्रस्ताव शेरबहादुर देउवासम्म पुऱ्याइएको थियो । तर, देउवाले उक्त प्रस्तावलाई ठाडै अस्वीकार गरिदिएकाले कल्याण र देउवाबीचको सम्बन्ध नराम्रोसँग बिग्रेको थियो । धेरैतिर सम्बन्ध बिग्रेको भएपनि कल्याणको नाम सम्भावित प्रधानमन्त्रीका रूपमा चर्चामा छ ।
त्यस्तै, प्रकाशमान राउतको अवकाश (२०८२ चैत्र) पछि प्रधानन्यायाधीश बन्ने लाइनमा रहेकी सपना मल्ललाई समेत भावी प्रधानमन्त्रीका रूपमा लिन थालिएको छ । केही समय प्रधानन्यायाधीश बनेपछि उनको भूमिका बदलेर प्रधानमन्त्री बनाइने बताउन थालिएको छ । यसरी, राजनीतिकर्मी तथा राजनीतिक दलहरू निष्क्रिय रहेको यो समयमा प्रधानमन्त्री बन्ने मौका हेरेर अनेकौँ आकारप्रकारका ब्यक्तिहरू बसिरहेका छन् । न्यायाधीशहरूले चाहिँ प्रधानमन्त्री बन्न पाउने कुरालाई आफ्नो हक नै ठान्ने स्थिति बनेको छ ।यो समाचार आजको घटना र विचार साप्ताहिकमा प्रकाशित भएको छ ।



















