पाथीभरामा खेल तालिका सार्वजनिक, पहिलो खेल तेल्लोकले ईटहरीको सामना गर्ने
ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपको खेलतालिका सार्वजनिक गरिएको छ। साउन २४ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजकको तर्फबाट प्रतिनिधित्व गर्ने तेल्लोक स्पोर्टिङ क्लबले सुनसरीको द योङ ब्रदर्स क्लब इटहरीसँग प्रतिस्पर्धा गर्ने भएको छ।
लाखेजात्रा सञ्चालन समितिले ताप्लेजुङको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य, ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरको परिसरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै खेल तालिका सार्वजनिक गरेको हो। कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिम, लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेन, पूर्व अध्यक्ष देवराज गुरुङ लगायतको उपस्थिति थियो। समितिका कोषाध्यक्ष दावा शेर्पाले तालिका सार्वजनिक गरेका हुन्।



















