ताप्लेजुङको पर्यटन विकास (फोटो फिचर)

ताप्लेजुङ ।ताप्लेजुङ नेपालको पूर्वी भागमा अवस्थित एक सुन्दर हिमाली जिल्ला हो । जुन पर्यटनको दृष्टिकोणले अपार सम्भावना बोकेको क्षेत्र हो । ताप्लेजुङ जिल्लालाई हिमालै हिमाल भएको जिल्लाको रुपमा पनि चिन्न सकिन्छ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल यसै क्षेत्रमा पर्छ । यसको उचाइ ८ हजार ५ सय ८६ मिटर छ । सन् १८५२ सम्म यो हिमाललाई विश्वको सबैभन्दा अग्लो मानिएको थियो ।
तर, सन् १८४९ मा भारतको त्रिकोणमितीय सर्वेक्षणका अध्ययनअनुसार सगरमाथा सबैभन्दा अग्लो भएको पुष्टि भएपछि सन् १८५६ मा कञ्चनजङ्घालाई औपचारिक रूपमा विश्वको तेस्रो अग्लो हिमाल घोषणा गरियो । कञ्चनजङ्घाको पाँच प्रमुख चुचुरा रहेका छन् । कञ्चनजङ्घा मुख्य आठ हजार ५८६, कञ्चनजङ्घा पश्चिम (यालुङ याङ) आठ हजार ५०५ मिटर, कञ्चनजङ्घा मध्य आठ हजार ४८२ मिटर, कञ्चनजङ्घा दक्षिण आठ हजार ४९४ मिटर र काङबाचेन सात हजार ९०३ मिटर रहेको छ ।
कञ्नजङ्घा हिमाल सन् १९५५ मा बेलायती पर्वतारोही जो ब्राउन र जर्ज ब्यान्डले २५ मेका दिन पहिलोपटक सफल आरोहण गरेका थिए । धार्मिक आस्थालाई सम्मान गर्दै उहाँहरूले हिमालको चुचुरो यथावत राख्ने परम्परा सुरु गरे, जुन आजसम्म पालना हुँदै आएको छ ।
यस्तै ताप्लेजुङकै कुम्भकर्ण विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमाल हो । यसको उचाइ सात हजार ७१० मिटर छ । यसको मौलिक रैथाने तथा प्राचीन नाम फक्ताङ्लुङ हो । किरात धर्मावलम्बीले आफ्नो आस्थाको केन्द्र पनि मानेका देखिन्छ । कुम्भकर्ण हिमाल पहिलोपटक सन् १९६२ मा एक फ्रान्सेली टोलीले आरोहण गरेको थियो । यी हिमालहरुलाई ताप्लेजुङको समृद्ध आधारको रुपमा लिन सकिन्छ । यी त थिए मूख्य हिमालहरु । तर, जिल्लामा यस्ता हिमाल दर्जनौको संख्यामा रहेका छन् जसको प्रचार प्रसार गर्न अति आवश्यक देखिएको छ ।
जिल्लामा हिमाल सँगै पर्यटनका कयौं आधारहरु रहेका छन् । नेपालकै प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर, नेपाल सरकार पर्यटन बोर्डले एक सय पर्यटन गन्तव्यको सुचीमा राखेको फुङफुङगे झरना, तिम्बुङ पोखरी पनि यहि जिल्लामा नै पर्दछ । यस्तै करिब ५४ सय मिटर भन्दा उचाईमा रहेको सिङ्जेमा ताल, स्याम्दो ताल, सोदु पोखरी ढवाङ्ढवाङे झरना रहेका छन् । यी क्षेत्रलाई पर्यटन विकास गर्न सकिए पुँजीको विकासले ठूलो फड्को मार्ने छ । ताप्लेजुङमा प्राकृतिक सौन्दर्य, धार्मिक स्थल, र सांस्कृतिक विविधता रहेका कारण पर्यटनको अपार सम्भावना छ ।
पर्यटन विकासका लगि स्थानीय तहले गरेको प्रयास
ताप्लेजुङ जिल्लामा पर्यटनको सम्भावना अत्याधिक रहेको छ, र यसका लागि स्थानीय तहहरूले विभिन्न योजनाहरू र कार्यक्रमहरू सञ्चालन गरेका छन् । यी प्रयासहरूले जिल्लाको आन्तरिक आम्दानी वृद्धि, रोजगारी सिर्जना, र सांस्कृतिक धरोहरको संरक्षणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । फुङ्लिङ नगरपालिका, जिल्लाको सदरमुकाम, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थान हो । यहाँको प्रमुख धार्मिक स्थल पाथीभरा मन्दिरमा दैनिक हजारौं भक्तजनहरूको आगमन हुन्छ ।
नगरपालिका प्रशासनले पर्यटन प्रवद्र्धन समिति गठन गरी, फुङ्लिङ नगरपालिका भित्रका पर्यटकीय क्षेत्रहरूको गुरुयोजना तयार गर्ने तयारी गरेको छ । यस्तै फक्ताङलुङ गाउँपालिकाले कञ्चनजंघा क्षेत्रको पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिएको छ । यहाँको प्रमुख पर्यटकीय स्थलहरूमा कञ्चनजंघा र कुम्भकर्ण हिमाल, सिङ्जेमा ताल, दिकी छ्योलिङ गुम्बा, र मानभारा लगायत थुप्रै स्थलहरू पर्दछन् । गाउँपालिकाले यी स्थलहरूमा जाने पदमार्ग निर्माण, सार्वजनिक शौचालयको व्यवस्था, र अक्सिजन व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ । साथै, चीन र भारतलाई जोड्ने रणनीतिक महत्वको निर्माणाधीन तमोर कोरिडोरको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ ।
उता मिक्वाखोला गाउँपालिकाले समुन्द्र सतहदेखि चार हजार मिटर माथिको लोदन क्षेत्रमा गोठ स्टे सञ्चालन गर्न बजेटको व्यवस्था गरेको छ । यसले साहसिक पर्यटनको प्रवद्र्धनमा मद्दत पुर्याउनेछ । साथै, लिम्बू समुदायको माङहिम निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले फुङ्फुङगे झरना श्रृङ्गार गर्नका लागि सङ्घीय सरकारबाट एक करोड रुपैया बजेट विनियोजन गरेको छ ।
यस्तै सिदिङ्वा गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी हो, जुन धार्मिक र अन्य पर्यटकहरूको आकर्षणको केन्द्र हो । यहाँको ढङ्ढङगे झर्ना, चमेरे गुफा, काबेली माङहिम, र सिदिङवा धाम पनि पर्यटकीय आकर्षणका स्थलहरू हुन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा पर्यटन प्रवद्र्धन गर्नका लागि २६ लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष मानबहादुर राईले बताउनुभयो ।
मैवाखोला गाउँपालिकाले बृहत पर्यटन प्रवद्र्धन गुरुयोजना तयार गरी पर्यटकीय क्षेत्रहरूको विकास र प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखेको छ । ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल ओसाङलु पनि यस गाउँपालिकाको एक पर्यटकीय गन्तव्य भित्र पर्दछ । यस क्षेत्रमा प्रमुख पर्यटकीय क्षेत्रहरूमा गुराँसको राजधानी तीनजुरे मिल्के पर्दछ । गाउँपालिकाले यस क्षेत्रमा गुराँस पार्क निर्माण गर्नका लागि गुरुयोजना अघि सारेको गाउँपालिका अध्यक्ष विजय वनेमले बताउनुभयो ।
सिरिजंगा गाउँपालिकाले कञ्चनजंघा हिमालको आधार शिविरसम्म सडक पुर्याउन ट्रयाक खोल्ने काम भइरहेको छ । यसले हिमाल प्रेमीहरूको लागि पहुँच सजिलो बनाउनेछ । गाउँपालिकाले होमस्टे प्रवद्र्धन कार्यक्रम गर्ने योजना बनाएको छ । साथै, लिम्बू सांस्कृतिक संग्राहालय बनाएर जातिय संस्कृतिको संरक्षण समेत गरि रहेको छ भने पालिकाले समुदायको मुन्धुम र राई जातिको पुरानो धार्मिक ग्रन्थ र लोक साहित्यको संरक्षणका लागि मुन्धमी लाम(मुन्धमी पदमार्ग निर्माण गर्ने योजना बनाएको पालिका उपाध्यक्ष डा.चित्र मावोले जानकारी दिनुभयो ।
मेरिङदेन गाउँपालिकाको प्रमुख पर्यटकीय स्थलहरूमा गुराँसे पोखरी र मेरिङदेन झरना पर्दछन् । ¥याफ्टिङका लागि दोभान उपयुक्त क्षेत्र मानिन्छ । गाउँपालिकाले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि मेरिङदेन चौतारी पार्क समेत निर्माण गरेको छ । यसले स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवद्र्धन
सास्कृतिक तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि प्रसिद्ध तिर्थस्थल पाथिभरा मन्दिर परिसरको संरक्षण तथा सरसफाइको कार्य गरिएको क्षेत्र विकास समितिको कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । शौचालय यात्रीहरुको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना समेत गरिएको छ । यस्तै शौचालय निर्माण गरिएको छ भने सिसि क्यामरा समेत जडान गरिएको हाङ्बाङको भनाई छ । यो सँगै खानेपानीको निर्माणको कार्य अघि बढाइएको छ । पाथीभराको काफ्ले पाटी भन्ने स्थानमा पाथीभरा दर्शनको लागि आउने भक्तजनहरुको सवारी साधन व्यबस्थापनका लागि बसपार्क निर्माण भइरहेको छ ।
तिम्बुङ पोखरीमा मन्दिर निर्माण गरिएको छ । यस्तै ओलाङचुङगोलामा रहेको पाँच सय वर्ष भन्दा पुरानो ढिकीछ्योलीङ गुम्बाको संरक्षणका लागि पुन निर्माणको कार्य भइरहेको छ । यस्तै आठराई त्रिवेणी गाउँपालिकाले भर्खरै मात्र पाथिभरा मन्दिरको निर्माण गरेको छ ।
सूचना तथा प्रचार–प्रसार
पर्यटन विकासका लगि प्रचार प्रसार अति आवश्यक रहेको छ । कञ्चनजङ्घा हिमालको प्रचार प्रसार भनेर गएको बैशाख महिनामा सिरिजङ्घा गाउँपालिकाले पनि महोत्सवको आयोजना गरेको थियो । यो त एउटा शुरुवातको उदाहरण मात्र थियो । प्रसार प्रसारका लागि यस्ता कयौं कार्यहरु गर्न बाँकी नै रहेका छन् । कञ्चनजङ्घाको प्रचार प्रसारका लागि महोत्सवलाई निरन्तरता दिने सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोले बताउनुभयो । यस्तै सिरिजङ्घा गाउँपालिकाले आरोही, पर्यटक, पदयात्री र अवलोकनकर्ताको सहजताका लगि कञ्चनजङ्घा जाने पदमार्ग क्षेत्र नयाँ झोरेनी, चैराम र रामजेर क्षेत्रमामा होटल निर्माणका लागि अनुदान समेत प्रदान गरेको छ । कञ्चनजंघा हिमाल आरोहण गरेको ७० वर्ष पुगेको अवसरमा कञ्चनजंघा संरक्षण व्यवस्थापन परिषदले हीरक जयन्ती महोत्सव समेत मनाएको छ ।
यस्तै प्रसिद्ध तिर्थस्थल पाथिभरा मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गर्ने पहल अघि बढेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभएको छ । हाङ्बाङका अनुसार मन्दिरमा वार्षिक साढे दुई लाखको संख्यामा दर्शनार्थीहरु आउने गरेका छन् ।
पर्यटन क्षेत्रको विकाका लागि फुङ्लिङ नगरपालिकाले धेरै कार्यहरु गरेको नगर प्रमूख अमिर मादेनले बताउनुभयो । उहाँँका अनुसार पाथीभरा मन्दिर आउने तिर्थयात्रीको सहजताका लागि केबलकार निर्माणको कार्य अघि बढाउन नगरपालिकाले स्वीकृति दिएको बताउनुहुन्छ । पाथीभरामा केबलकार निर्माण भए मात्रै पनि ताप्लेजुङ समृद्धिको आधार हुने उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ, ‘अहिले करिब ३ लाख भक्तजनहरु आउने गरेका छन भने केवलकार निर्माण भएपछि वार्षिक रुपमा १० लाख पर्यटक ताप्लेजुङको पाथीभरा दर्शन गर्न आउछन ।’
पाथीभरा मन्दिर फुङलिङ नगरपालिका, सिरिजङ्घा गाउँपालिका र फक्ताङलुङ गाउँपालिकामा पर्दछ । तर, पछिल्लो समय बिरोधका कारण केबलकार निर्माणको कार्य अगाडि बढ्न सकेको छैन । यस्तै फुङ्फुङगे झरना, तिम्बुङ पोखरीको प्रचार प्रसारका लगि महोत्सवले प्राथमिकता पाएको छ ।
यी स्थानमा वर्षमा एक पटक महोत्सव हुने गरेको छ । यो सँगै स्थानीय होमस्टे सञ्चालनमा आएको छ । विशेष गरी सिदिङ्वा गाउँपालिका १ को तिम्बुङ पोखरी क्षेत्र, मिक्वाखोला गाउँपालिकाको साँवा साथै फुङलिङ नगरपालिकाको गोम्बा डाँडामा होमस्टे सञ्चालनमा आएका छन् । यस्तै मैवाखोला गाउँपालिकाको कोल डाँडामा पनि होमस्टे सञ्चालनमा आएको छ । मैवाखोला गाउँपलिकाले लालीगुँसको प्रवद्र्धनका लागि लालिगुँरास उद्यान कार्य अघि सारेको छ ।
कञ्चनजङ्घा हिमाल, पाथीभरा मन्दिर, फुङफुङगे झरना, तोक्पेगोला र ओलाङचुङगोलाको प्रचार प्रसारका लागि पर्यटन नक्सा र गाइडबुक प्रकाशन गरिएको छ । यस्तै आठ गाउँपालिका र एक नगरपालिका रहेको जिल्लाका स्थानीय तहहरुले आफ्नो वेबसाइट, सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार सँगै प्रवद्र्धन गरिरहेका छन् । यो सँगै फोटोग्राफी प्रतियोगिता, भ्रमण वर्ष घोषणा जस्ता कार्यक्रमहरू पनि सञ्चालनमा ल्याएका छन् ।
मेरिङदेन गाउँपालिकाले गुँरासे पोखरीको प्रचार प्रसारका लागि गत बैशाखमा गुँरासे पोखरी महोत्सवको आयोजना गरेको थियो । यता सिदिङवा गाउँपालिकाले पनि भर्खरै मात्र सिदिङ्वा धाम पर्यटन महोत्सव सम्पन्न गरेको छ । आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ चाँगेमा रहेको माछा पोखरीमा पर्यटन प्रवद्र्धनका लागि त्यहाँ भएका भौतिक संरचना निर्माण गरेको गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमु दिपेनले बताउनुभयो ।
पूर्वाधार विकास
पूर्वाधार तर्फ मुख्य गरि सडक पहुँच विस्तार गरेको पाइन्छ । प्रमुख पर्यटकीय गन्तव्यहरू, कञ्चनजङ्घा आधार शिविर, पाथीभरा मन्दिर, ओलाङचुङगोला, तोक्पेगोला, फुङफुङगे झरनाका लागि सडक सञ्जाल विस्तार गरिएको छ । यो सँगै साहसिक पदयात्राका लागि कञ्चनजङ्घा साहसिक पदमार्ग निर्माण गरिएको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. माबोले जानकारी दिनुभएको छ । यस्तै झोलुंगे पुल, बाटो मर्मत तथा पदमार्ग निर्माण, ट्रेकिङका लागि सुरक्षित र सहज पदमार्ग निर्माण तथा सुधार गरिएको पनि उहाँको भनाइ रहेको छ ।
वातावरण संरक्षण र दिगो पर्यटन
फोहरमैला व्यवस्थापन र सरसफाइ कार्यक्रममा स्थानिय तहहरु अग्रसर भएका छन् । यस्तै स्थानीय गाइड र ट्रेकिङ समूहहरूलाई वातावरणीय सचेतना तालिम समेत प्रदान गर्दै आइरहेको मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्त बहादुर कार्कीले बताउनुभयो । यस्तै कञ्चनजङ्घा संरक्षण क्षेत्रसँग समन्वयमा संरक्षण कार्यहरू गरिदै आइरहेको सिरिजङ्घा गाउँपालिकाका अध्यक्ष लाल कृष्ण चौहानले बताउनुभयो ।
ताप्लेजुङको पर्यटन विकास भनेको मात्र घुमफिरको प्रवद्र्धन होइन, यो रोजगारी सिर्जना र अवसरको उपलब्धता र राष्ट्रिय पूँजीको सुदृढीकरण गर्ने महत्वपूर्ण पाइला हो । स्थानीय, प्रदेश र संघीय सरकार गरी तीनै तहको सरकारले सहकार्य र समन्वय गरेर योजनाबद्ध विकास गरे ताप्लेजुङ नेपालको एक प्रमुख पर्यटकिय हब बन्न सक्ने विश्वास गर्न सकिन्छ ।