मेरो बाल्यकाल, युवावस्था र भानु माध्यमिक विद्यालय
यो वर्ष भानु उच्च माध्यमिक विद्यालयको हीरक जयन्ती । हीरक जयन्तीको अवसरमा शिक्षाप्रति सचेत २००५÷०६ सालतिरका सस्थापक सम्पूर्ण स्वर्गीय हाम्रा पूर्वज व्यक्तित्वहरूमा सर्वप्रथम म सविनय हार्दिक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । परम्परागत विद्या आर्जनस्थलमा नेपाली अक्षारम्भ र चण्डी, रुद्री अध्ययन गरेका र छुवाछुतको कुरा उठेपछि लर्ड मेकान्ले पद्धतिमा ढालिएको आधुनिक स्कुलमा पढेको स्मरण गर्नेमा हामीमध्ये थोरै मात्र जीवित छौँ भन्ने कुरा मुस्किलले विश्वास गर्न सकिन्छ ।
हालको फुङलिङ नगरपालिका वार्ड नं. ६ साविक बार्ड नं ७ मा रहेको अंगिरथ भट्टराईद्वारा निर्मित सार्वजनिक पाटीमा पहिलोपल्ट आधुनिक विद्यालयको सुरुवात भएको हो । १९९३ सालमा जुद्ध समसेरको आंशिक उदार नीतिबाट तेस्रो चरणमा पूर्वतिर रामेछाप, ओखलढुङ्गा र ताप्लेजुङमा भाषा पाठशालाको स्थापना गरे ।
भाषा पाठशाला सुरु भएपछि १९९३–१९९६ सम्म संखुवासभा चन्दनपुरका पं. त्रैलोक्य भण्डारी (माहिला गुरु)ले तीन वर्ष त्यसपछि उहाँकै काइँँला भाइ पं. वेदनाथ भण्डारीले १९९६–१९९९ सम्म तीन वर्ष सो पाठशालामा पढाएर सरुवा भएपछि १९९९ सालमा भोजपुर दिङ्ला कटहरेका पं. गंगाप्रसाद लम्साल (१९६८–२०२७) ताप्लेजुङ भाषा पाठशालामा सरुवा भई पठनपाठनको काम गर्नुभएको पाइन्छ ।
सोही समयमा च्याण्टा गुरु र सहयोगीमा पं. नन्दीकेशर खतिवडाले पनि त्यस समयमा केही विद्यार्थी जम्मा गरेर पठनपाठनको कार्य सञ्चालन गरेका थिए । यस समयमा फावाखोला, सिंवा, साँघु आदि स्थानमा पनि पढाइ हुन्थ्यो । दिङ्लामा रहेको विद्यालय, रानीपोखरी संस्कृत पाठशाला, जनकपुर मटिहानीमा भएको विद्यालय र बनारसतिर गएर पूर्वमध्यमा, उत्तरमध्यमा र शास्त्री गरेर आएका विभिन्न पण्डितहरूले आ–आफ्ना गाउँँघरमा विद्यार्थी जम्मा गरी चण्डी, रुद्री, कर्मकाण्ड, वेद, संस्कृत र नेपाली भाषाको अध्यापन गरेको पाइन्छ । सो समय समाज केही कट्टर भएको हुनाले पठनपाठनमा दलित जातिका बालबालिकालाई संलग्न गरिएको पाइँदैन ।
१९९७ सालको सहिद काण्डपछि भारतका विभिन्न भागमा गएर अङ्ग्रेजी शिक्षा हासिल गरेका र स्थानीय रूपमा राणा विरोधी अभियानमा लागेका देशका तत्कालीन सजग र सव्रिmय व्यक्तिहरू आधुनिक शिक्षाको बिस्तारका लागि सल्बलाएको पाइन्छ । यसैव्रmममा तमोर र मैवाखोलाको दोभानमा संखुवासभा, तेहथुम, धनकुटासँग नाता जोडिएका गुन्जमान, लोकबहादुरको सव्रिmयतामा एक स्कुलको स्थापना भएको पाइन्छ ।
इ.सं. १९३७ देखि पूर्वको जापान, जर्मनको हिटलर एवम् इटालीको मुसोलिनीबाट सुरु भएको विश्वयुद्धले उग्ररुप लिएको थियो । ताप्लेजुङ जिल्लाको सिकैचा आरुबोटे (त्यस बेला तिरिङ्गे सिकैचाकै नामले परिचित थियो) मा १९७४ सालमा जन्मिएर ब्रिटिस इन्डिया सेनामा गइ ब्वाइज इन्फ्यान्ट्रि शिक्षा प्राप्त कुलमान इजम ब्रिटिस आर्मीमा काम गर्थे । दोस्रो विश्वयुद्धमा दुश्मनको गोली प्रहारबाट उनको देब्रे खुट्टा, हात र पेटमा गोली लागि उनी घाइते भए । उपचारपछि पनि उनको खुट्टा पूरै टेक्न नसक्ने भयो । यसपछि उनी सैनिक जीवनबाट निवृत्त भएर आफ्नो पुख्र्यौली गाउँँ तिरिङ्गेमा आइ बसे ।
यस स्कुलका लागि दोभानका शिक्षाप्रेमीहरूले २००४ सालतिर दोभानमा स्कुल सञ्चालन गर्ने विचार गरी शिक्षकको खोजी गर्दा तिरिङ्गेका कुलमान इजम आधुनिक शिक्षाका लागि शिक्षक बन्नसक्ने ठहर गरी उनलाई ल्याएर शिक्षक बनाए । दोभानमा पठनपाठन गरिरहेका समयमा कुलमान इजमले डुम्रिसे सेक्रेका नरध्वज लिम्बू युद्धको विभिषिकाबाट बचेर पितृथलो ताप्लेजुङको डुम्रिसेको सेक्रेमा आएर बसेका थिए । के.एम. इजमले उनलाई पनि दोभानमा ल्याएर आफूसँगै काम गराउन थालेछन् ।
नरध्वज लिम्बू दक्षिणपूर्वी देश बर्माको टाउँजी भन्ने स्थानमा गोरखा पल्टनका हर्कलाल लिम्बूका छोरा थिए । घरेलु नाम टाउके भएका नरध्वज लिम्बू अण्डरमेट्रिक अध्ययन पूरा गरी त्यही सैनिक क्याम्पमा राइटर पदमा कार्यरत थिए । विवाह भई सन्तान पनि भइसकेका नरध्वज बर्माको टाउजीमा आमाबाबु, श्रीमती र छोरीसँग जीवन यापन गरिरहेका थिए । परिस्थितिवश दोस्रो विश्वयुद्धले मच्चाएका विभिषिकामा परे । नरध्वज लिम्बू आमा, पत्नी र छोरीसँग बर्मा, आसाम, नागालेण्डको जङ्गलैजङ्गल भाग्ने व्रmममा आमा, पत्नी र छोरीसँग विछोड भएछन् । हिँडाइ, पीडा, यातना र विछोडको वेदना बोकेका यी बाबुछोरा भोकै प्यासै कलकत्ता, विजनवारी हुँदै सकुशल पितृथलो ताप्लेजुङको डुम्रिसेमा आइ बस्न थालेछन् । लाहुरबाट आएको भन्ने बित्तिकैै इष्टमित्रले कन्या दिई विवाह गरिदिन खोजेछन् । अनिच्छुक हुँदाहुँदै पनि सिकैचा इजम परिवारकी कन्या जुनकिरीसँग नरध्वजको विवाह भएछ । वि.सं. २००० सालमा उनका एक छोरा रामबाबु र २००२ मा एक छोरी मैना जन्मिएछन् ।
कुलमान इजम र जुनकिरी इजम साइनोमा दाजुबहिनी थिए । कुलमान इजम र नरध्वज आपसमा मामाभाञ्जा भनेर सम्बोधन गर्ने गर्थे । दोभानमा नरध्वजले छोरा रामबाबुलाई पनि आफूसँगै लगेका थिए ।
यसै गरी जिल्लाकै पहिलो आइ.एस्सी. गणेशबहादुर श्रेष्ठले ताप्लेजुङ अड्डामा काम गर्दैगर्दा बजारका बालबालिका जम्मा गरेर पढाउन सुरु गरेको पाइन्छ । केही गण्यमान्यजनले यसलाई नै २००५÷६ सालमा स्थापित गणेश स्कुल पनि भनेको पाइन्छ । गणेश स्कुलमा एकदुई जना स्थानीय टाठाबाठा युवाहरू संलग्न थिए । तथापि मुख्य शिक्षक ताप्लेजुङ जिल्लाको सिकैचा आरुबोटे निवासी कुलमान इजम थिए ।
भाषा पाठशालामा संस्कृत र नेपालीको पढाइ हुने गरे पनि अङ्ग्रेजीको पढाइ हुने गरेको थिएन । संस्कृत पठनपाठन हुने गरेकाले यहाँ दलितहरू पढ्ने व्यवस्था थिएन । यसैले ताप्लेजुङका अग्रगन्य सचेत व्यक्तिहरू हर्कजंग मादेन, पिरुलाल अग्रवाल, मोतीलाल दाहाल, तारानाथ अधिकारी, गणेशबहादुर आदि मिलेर हर्कजंगका बाबु फुच्चुके भन्ने पृथ्वीध्वज लिम्बूले निर्माण गरेको बजार दक्षिणको ठुलो पाटीमा स्कुल स्थापना गरे । योग्यताको आधारमा नरध्वज हेडमास्टर भए ।
शिक्षकहरूमा कुलमान इजम, गणेशबहादुर श्रेष्ठ, राजमणि बराल आदि नियुक्त भई पठनपाठनको काम सुरु भइसकेको थियो । २००७ सालमा जनक्रान्ति भयो । यो प्रजातान्त्रिक अभियानमा स्कुल बन्द भयो । ताप्लेजुङ सदरमुकाममा कार्यरत राणा प्रतिनिधिले शान्तिपूर्र्णरुपले आत्मसमर्पण गरे । त्यसपछि जनजीवन सामान्य भयो । घरघर गएका शिक्षकलाई बोलाइयो । तारानाथ अधिकारीलाई पठाएर नरध्वज र कुलमानलाई पुनः स्कुलमा ल्याइ पठनपाठनमा सम्लग्न गराइयो ।
यस स्कुलका सुरुका विद्यार्थीहरू शिवकुमार श्रेष्ठ, इन्द्रकुमार श्रेष्ठ, विष्णु मादेन, रामदाश श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कल्याणी श्रेष्ठ, तुलसिरामका छोरा काजी श्रेष्ठ, डिल्ली हल्दारका छोराहरू टेकबहादुर श्रेष्ठ, राम श्रेष्ठ, सिवाखलक, चिम्रेखलक, मारवाडीखलक, बोझेका युवाहरू, बाँझोगराका आनन्दप्रसाद दाहाल, कृष्णप्रसाद दाहाल, तुङ्गप्रसाद दाहाल, हाङदेवाका टीकादत भट्टराई, नन्दराम भट्टराई, रामकान्त भट्टराई आदि थिए । कतिपयले एक कक्षा उत्तीर्ण गरेर छोडे अनि कतिपयले बिचैमा छोडे । भानु स्कुलको यो प्रथम उत्थान काल थियो ।
२०१०÷११ सालदेखि स्कुल नियमित रूपमा चल्न थाल्यो । विद्यार्थीको चाप अधिक बढ्यो । यही समय मेरो र मेरो परिवारका विद्यार्थीको स्कुलमा प्रवेश भयो । दोखू, नाम्लेपाटी क्षेत्रदेखि हाङदेवा पानीसारसम्मका विद्यार्थीहरू स्कुल धाउन थाले । मेरा परिवारका साइँला दाइ कुबेरप्रसाद, म शिवप्रसाद, खगेन्द्रप्रसादलगायत स्कुल भर्ना भएका थियौँ । २०१४ सालदेखि केशवप्रसाद, दुर्गाप्रसाद र सूर्यप्रसाद पनि स्कुलमा प्रवेश भए । त्यस बेलाका शिक्षक शिवकुमार श्रेष्ठ, नरध्वज लिम्बू, राजमणि बराल, कुलमान इजम, घनेन्द्रकुमार श्रेष्ठ, रमेशकुमार श्रेष्ठ, रुद्रकुमार शाक्य, सावादिनका पराशर गौतम, गजबहादुर मादेन आदि थिए । स्कुलका कोठा नपुगेर बजारकेन्द्रको पाटी (पछि गाविस भवन) इन्द्रनारायणको (धारा छेउको) पाटीमा २ कक्षा र ३ कक्षा चलाएर बाँकी मूल भवनमा स्कुल चल्ने गरेको थियो । हामी २ कक्षामा हुँदा १८ जना अनि तीन कक्षामा हुँदा २२ जना सबै जात, वर्ग र मारवाडी समुदायका छोराछोरीहरू पनि हाम्रा सहपाठी थिए । पाटी पछाडिको सानो ग्राउन्डमा विद्यार्थीको प्रार्थना भेला हुन्थ्यो । प्रार्थनामा राष्ट्रिय गान गाउने चलन थिएन । ‘विद्या धन हो……. ’ भन्ने सरस्वती स्तुति गरिन्थ्यो । एन.डी. सर र कहिलेकाहीँ कुलमान सरले काम दिन्थे । मेकाले पद्धतिको क्लेरिकल किसिमको पढाइ भए पनि स्कुलले प्रत्येक वर्ष यो कक्षामा यो–यो पुस्तक पढाउने भनेर सूचि तयार गथ्र्यो । भारतका पारसमणि प्रधान, विराटनगरका देवीप्रसाद काफ्लेका पुस्तक पढ्नुपथ्र्यो । अङ्ग्रेजी प्राइमर बुक वान, बुक टू, बुक थ्री र सानो ग्रामर पढाइ हुन्थ्यो । नेपाली र सरल संस्कृत शिक्षा भन्ने साना साना किताब पढ्नुपथ्र्योे । विज्ञान, भूगोल र इतिहासका साना साना पुस्तक पढ्नुपथ्र्योे ।
जब हामी कक्षा ४ मा पुग्यौँ अनि अङ्ग्रेजी, गणित, अल्जेब्रा, ज्यामितिका पुस्तकको ठुलठुला ठेली अध्ययन गर्नुपर्ने भयो । गणित चक्रवर्ती, केपी वसुको अल्जेब्रा, स्कुल जोमेट्री आदि थिए । प्रत्येक वर्षवृद्धिसँगै अङ्ग्रेजी पुस्तकका ठेली पनि बढ्दै गए । पी सी रेन कम्पोजिशन, नेहरूज लेटर, नेस्फील्ड ग्रामर, हिडन ट्रेजर ग्रामर, प्रोज पार्ट वान र प्रोज पार्ट टू, पोयट्री छुट्टै, नेपालीमा गद्य सङ्ग्रह, पद्य सङ्ग्रह, विश्व र नेपालको इतिहास, नेपालको भूगोल, भारतको भूगोल यतिसम्म कि हिन्दीको पनि पढाइ हुन्थ्यो । धरणीधर बाले हिन्दी अध्यापन गराउनुहुन्थ्यो ।
२०१५ सालमा देशमा आम चुनाव भयो । त्यस चुनावमा स्वतन्त्र उम्मेदवार गंगाप्रसाद दाहाललाई २०० भोटले हराउँदै हाम्रा शिक्षक कुलमान इजम नेपाली कांग्रेसबाट सांसद निर्वाचित हुनुभयो । उहाँको विजयले स्कुलमा एक दक्ष शिक्षकको अभाव त भयो नै कांग्रेसहरूमा पनि हर्षोल्लास भयो । त्यस बेला स्कुलका सेव्रmेटरी भीमबहादुर पनि नेपाली कांग्रेसमा आवद्ध थिए ।
माथि उल्लेखित विभिन्न चरण स्कुलको प्रारम्भिक चरण मान्नुपर्ने हुन्छ । त्यस बेलासम्म भानु मिडिल स्कुल नै कायम थियो । स्कुलमा १ देखि ७ सम्मको पढाइ चालु थियो । २०१७ साल पुस १ गतेको राजाको कदमले संसद भङ्ग भयो । कुलमान फर्केर फेरि शिक्षक काम गर्न थाल्नुभयो । २०१७ सालको सुरुमा शिक्षा निरीक्षक अनन्तराम दाहाल भानु स्कुलको निरीक्षण गर्न आउनुभयो । हर्कजंग मादेन, गंगा दाहाल र शिक्षकहरू भेला भएर स्कुल अपग्रेडिङको माग राख्दा ८ कक्षा सञ्चालन गर्ने सहमति दिनुभयो । त्यस बखत ८ कक्षामा अध्ययन गर्नेमा गौरीमान कडरिया, भवानीकुमार गुरुङ, कृष्णकुमार श्रेष्ठ र तारामान गुरुङ थिए ।
भानु स्कुल जुनियर हाइस्कुलको नामबाट चल्दै गर्दा ८ कक्षा उत्तीर्ण सबै विद्यार्थीहरू आठराईको मूलपानी हाइस्कुलमा एकैचोटि १० कक्षामा भर्ना भई एसएलसी परीक्षामा गौरीमान कडरिया प्रथम श्रेणी र भानु स्कुलबाट गएका अन्य सबै विद्यार्थीहरू द्वितीय श्रेणीमा उत्तीर्ण भएका थिए । यसले भानुको गौरवमा एक स्टेप थप हुन गयो ।
२०१७ सालकै कुरा हो, भानु स्कुलको लागि तोक्माडाँडामा एङदेन दाताहरूबाट जग्गा लिएर भवन निर्माण कार्य सुरु भएको थियो । सुब्बा दाताहरूबाट प्राप्त जग्गामा फुसको छानो भएको एल आकारको दुई तले घर निर्माण भयो । घर निर्माण हुँदा मीन पचासको विदा थियो । त्यसैले फागुनमा स्कुल खुलेपछि साविक पाटीबाट विद्यार्थीहरूलाई नै डेक्स र बेन्च बोकाई तोक्मामा बनेको नयाँ भवनमा स्कुल स¥यो ।
२०१९ सालको वैशाख, जेठमा रु. २३००।– मा विष्णु दाहाललाई ठेक्का दिई छात्रावास पनि निर्माण गरियो । त्यस बेला स्थानीय व्यवस्थापन, स्कुल प्रशासन, स्कुल निर्माण र व्यवस्थापनसमेत गरी तीनओटा कामका लागि स्थानीयदेखि काठमाडौँसम्म सम्पर्क गर्ने गरी एकैपटक गंगाप्रसाद दाहाल, प्रेमप्रसाद पराजुली र भीमबहादुर श्रेष्ठ ३ जनालाई स्कुल सेव्रmेटरीको व्यवस्था पनि गरिएको थियो । त्यस समयमा गंगाप्रसाद दाहाल सव्रिmय भएका हुनाले उनी भानु स्कुल, बाल सुबोधिनी संस्कृत पाठशाला मेदिबुङ र मूलपानी आठराईको हाइस्कुल गरी तीनओटा विद्यालयका एकैपटक सेव्रmेटरी भई काम चलाएका थिए ।
संसदीय व्यवस्था विघठन गरी नयाँ बनेको मन्त्रीमण्डलका वन सहायकमन्त्री काजीमान कन्दङ्वा ताप्लेजुङ आएका थिए । उनले भानु स्कुलको सभाहलमा भाषण गरे । त्यसै सभामा काजीमानले स्कुलको नाम गणेशलाई परिवर्तन गरी भानु बनाउने प्रस्ताव गरे । उनै मन्त्रीको प्रस्तावमा स्कुलको नाम भानु पब्लिक हाइस्कुल हुने अवसर पाएको हो ।
२०१७ सालमा महेन्द्रले २०१५ सालमा बनेको संविधान अनुरुप बनेको मन्त्रीमण्डल विघटन गरी त्यस बेलाको बहुदलीय व्यवस्था खारेज गरेकोमा चित्त नबुझी भारतको दार्जिलिङमा संगठित नेपाली कंग्रेसका विद्रोही युवाहरूबाट २०१८ चैत्र १७ गते ताप्लेजुङ सदरमुकाममा सशस्त्र हमला गरे । थानाका सबै सिपाही भागा–रे–भाग भए । अमिनीका न्यायाधीश सुब्बा पनि भागे । अदालतको एक जना पहरेदारले वीरगति प्राप्त गरे । एक जना अवकाश प्राप्त थापा जमदारले सलाई कोरी गोदामघर, आकाशवाणीघर र अमिनी तथा अदालत बसेको लामो घरमा आगो लगाए । ताप्लेजुङ जिल्लाको तत्कालीन सम्पूर्ण प्रशासनिक संयन्त्र तहसनहस भयो । यस विद्रोहका अगुवाहरूमा सूर्यमान गुरुङ, कालीदास भट्टराई, थुकिमाका देवीप्रसाद श्रेष्ठ (कागे), जमदार थापा, तास्र्यदीप भण्डारी आदि संलग्न थिए । ती विद्रोहीहरूले स्थानीय गन्यमान्य व्यक्तिहरूबाट आर्थिक सहयोग संकलन गरी सुकेटार पल्लापट्टि गए ।
गंगा दाहाल धनकुटा गइ सो विद्रोहको जानकारी गराइ एक बटालियन (प्लाटुन) सैनिक टोली लिएर ताप्लेजुङ फर्के । सैनिकहरूले भानु स्कुल छेउमा रहेको माधेकुटी कब्जा गरी सैनिक क्याम्प खडा गरी बसे । त्यस बखत भानु स्कुल एक महिना बन्द रह्यो ।
कांग्रेसी विद्रोहीको यो काण्ड समाप्त भएपछि राजदरबारका विशेष प्रतिनिधि एवम् सैन्य कमाण्डर दामोदर समसेर ताप्लेजुङ आए । उनले भानु स्कुलको हलमा सभा र भाषण गरी केही व्यक्तिलाई आफू निकट रहन प्रेरणा दिई फर्के ।
२०१९ सालमा दशौँ कक्षाको पहिलो समूहमा पढ्नेमा चैतन्य मेन्याङ्बो, दुर्गा मेन्याङ्बो, जीवनकुमार भेटवाल, सीता श्रेष्ठ, शरदकुमार मेन्याङ्बो आदि पढ्थे । यस समूहमा शरदकुमार मेन्याङ्बो एसएलसी उत्तीर्ण हुन सकेनन् । २०२० सालमा द्वितीय समूहमा सिद्धिमान श्रेष्ठ, भद्रमान श्रेष्ठ, करुणा श्रेष्ठ, वकिलकुमार श्रेष्ठ, हरि श्रेष्ठ, भगवान श्रेष्ठ थिए । २०२१ सालमा हरि मादेन, मेघेन्द्रकुमार श्रेष्ठ, कैलाश मादेन, दुर्गा श्रेष्ठ, काजी श्रेष्ठ, रत्न काजी, जीतबहादुर थापा आदि थिए । भानु स्वतन्त्र विद्यार्थी युनियन गठन गर्दा सिद्धिमान श्रेष्ठसँग विवाद भएकाले काजी श्रेष्ठले आवेशमा भानु स्कुल छोडी हाङपाङको सरस्वती माध्यमिक विद्यालयबाट एसएलसी दिए । २०२२ सालको समूहमा नरेन्द्रकुमार श्रेष्ठ, धनेन्द्र खालिङ, बालकृष्ण श्रेष्ठ (नाडखोल्याङ), हरि मादेन, मनप्रसाद थेबे, मैना सेनेहाङ, भीम नेपाल, बलदेव सेनेहाङ, रिपुजंग आङ्बुहाङ र म शिवप्रसाद दाहाल आदि थियौँ । बलदेव सेनेहाङ सेन्ट अपमै रोकिए । रिपुजंग आङ्बुहाङ केन्द्रीय बोर्डमा रोकिए । भानु विद्यार्थी युनियनको सभापतिबाट सिद्धिमानले छोडेपछि म सभापति भएँ । सहयोगीहरूमा लालबहादुर घिसिङ अनि जगन्नाथ भट्टराई थिए । अरूको सम्झना छैन ।
२०२३ सालको समूहमा प्रह्लाद श्रेष्ठ, लंका एङदेन, केशवप्रसाद दाहाल, सोमप्रसाद भण्डारी, हरि नेपाल, सरस्वता इजम, भोला पौडेल, पूर्ण दाहाल, खगेन्द्र दाहाललगायत थिए । विद्यार्थीको सेन्टर घरानमा विद्यार्थी पु¥याउने तथा परीक्षा शुल्क पनि बुझाउने गरी स्कुलबाट ईश्वरी निरौलालाई पठाइएकोमा बासबसेकै स्थानमा कम्मरमा पोको पारेको रुपैयाँ हराएर बडो आश्चर्यजनक घटना भएछ । यस केशमा विष्णु मादेनले ईश्वरी निरौला गुरुलाई अवकाश दिन लागेका थिए । तर निरीह र नरम भाषी ब्राम्हणलाई निकाली ब्रम्हहत्या नगरौँ भन्ने धेरैको राय परामर्शले गर्दा उनी चूप भए । त्यसैले ईश्वरी गुरुको तलबबाट कट्टा हुने गरी कोषाध्यक्ष पिरुलालले रकम निकाली केन्द्रमा पठाए । स्कुल सञ्चालक समितिमा चन्द्रबहादुर पालुङ्वा पनि थिए । कालान्तरमा उनै ईश्वरी निरौला विष्णु मादेनका सबभन्दा भक्त शिक्षक हुन गएका थिए । त्यस बेला विष्णु मादेन अञ्चल पञ्चायतको उपसभापति भइसकेका थिए । अम्बिका सावासँग जिल्ला पञ्चायत सभापतिमा हारेपछि उनी जिल्लामै थिए ।
शिक्षकहरूका कुरा
२०१८ सालमा भानु पब्लिक हाइस्कुलको सुरुवात भएपछि प्रधान अध्यापकमा धनकुटा निवासी शिवकुमार श्रेष्ठलाई बहाल गराइयो । शिवकुमारकी श्रीमती गंगादेवी श्रेष्ठ पनि शिक्षिकामा नियुक्त भइन् । अन्य शिक्षकहरूमा शिवकुमार श्रेष्ठ (साविक प्रधानाध्यापक), ईश्वरीप्रसाद निरौला ‘शास्त्री, धरणीधर ढुङ्गाना मध्यमा उत्तीर्ण, रमेशकुमार श्रेष्ठ, घनेन्द्रकुमार श्रेष्ठ, कुलमान इजम, रामचन्द्र निरौला, रुद्रकुमार श्रेष्ठ, गुरुप्रसाद गौतम (सावादिन), गजबहादुर मादेन (पि.टी. सर), नरबहादुर श्रेष्ठ (परिवार), जि.शि.नि. गणेश पौडेलकी श्रीमती राधा पौडल, प्रेम अग्रवाल (कैयाँकान्छा) तथा स्कुलबाटै उत्पादित सीता श्रेष्ठ र हरिकृष्ण श्रेष्ठ आदि थिए ।
प्रधानाध्यापक शिवकुमार श्रेष्ठ प्रखर इतिहास खोजकर्ता, राजनीतिक विश्लेषक एवम् राजनीतिका हिमायती थिए । उनी दक्ष लेखक पनि थिए भन्ने कुरा उनका पछिल्लो जीवनमा प्रकाशन भएका खोजमूलक पुस्तकबाट स्पष्ट हुन्छ । धेरै छोटो समयमा उनले धेरै प्रभाव पारे । उनीसँग विमति राख्ने केही शिक्षकका बारेमा उनले सञ्चालक समितिमा आफ्नो विमति राखे । उनी स्थानीय थिएनन् । कसैका दबाबमा रहने पनि थिएनन्, त्यसैले बरु राजीनामा दिएर अलग हुनु नै उचित सम्झेर श्रीमतीलाई लिएर धनकुटा फर्के । हेडमास्टर शिवकुमार श्रेष्ठ निस्किएपछि केही समयका लागि फेरि आइ.एस्सी. शिवकुमार श्रेष्ठ प्रधानाध्यापक भए । त्यस बेला हेडमास्टरलाई प्रधानाध्यापक भन्ने चलन आएको थिएन ।
धरान (पब्लिक हाइस्कुल र कन्या हाइस्कुल)मा एसएलसी केन्द्र रहने गरी भानु हाइस्कुलले स्थायी स्वीकृति पायो । त्यस बेला सरकारी अनुदान ज्यादै थोरै मात्र प्राप्त हुने गथ्र्यो । पहिले रू. ५५००।– मात्र पाउँदै गरेकोमा स्थायी स्वीकृति पछि सरकारबाट वार्षिक अनुदान रू. ७५००।– प्राप्त हुन थाल्यो । शिक्षक तलब र विद्यालयका विभिन्न व्रिmयाकलापका लागि सबै आफ्नो स्रोत समेत परिचालन गरी व्ययभार धान्नुपर्ने अवस्था थियो । स्कुलको निजी स्रोत भनेको विद्यार्थीबाट उठेको शुल्क थियो । शिशु कक्षाको रू १ देखि दश कक्षाको शुल्क रू १०।५० राखिएको थियो । त्यस बेला विद्यार्थी संख्या २३० देखि २५० सम्म हुने गथ्र्यो । सानो कक्षामा विद्यार्थी चाप अत्यधिक वृद्धि हुँदै गइरहेको थियो । विद्यार्थी शुल्कबाहेक हाङदेवामा स्कुलको एक बन्धकीमा लिएको खेत थियो । यसबाट १४ मुरी धान उपलब्ध हुनाका साथै विभिन्न समयमा सरकारी पटके सहायतास्वरूप जिल्ला पञ्चायतबाट अनुदान सहयोग आदि बटुलिन्थ्यो । शुल्क उठाउने काम शिवकुमार श्रेष्ठले गर्दथे । उनलाई आइ.एस्सी. सर भनेर पुकारिन्थ्यो ।
यसपछि श्री भानु पब्लिक हाइस्कुलको उत्तर माध्यमिक काल सुरु भयो । स्कुलको ट्रान्जिसनल पिरियड समाप्त भएर पूर्ण वयस्क जीवन सुरुवात भएको आभाष हुन थाल्यो । ताप्लेजुङमै आफ्नो पुख्र्यौली कार्यक्षेत्र भएकायोग्यतामा बि.ए. तर अङ्ग्रेजीमा दक्ष प्रधानाध्यापक गोरखप्यारा श्रेष्ठ हेडमास्टरमा नियुक्त भए । उनी ताप्लेजुङ अमिनीका खर्दार रामप्याराका पुत्र थिए ।
गोरखप्यारा श्रेष्ठ ६ फिट उचाइका गहुँगोरो वर्णका सुन्दर केशविन्यास भएका, पटक–पटक ओठमा दबाब दिइरहने, प्रायः सुट र टाइमा स्कुल आउने, हेर्दा एक किसिमको धक लाग्ने व्यक्तित्वका धनी थिए । गोरखप्यारा श्रेष्ठका सहकर्मीहरूमा शिवकुमार श्रेष्ठ, घनेन्दकुमार श्रेष्ठ, रमेशकुमार श्रेष्ठ, नरध्वज लिम्बू, कुलमान इजम, धरणीघर ढुङ्गाना, ईश्वरीप्रसाद निरौला, रामचन्द्र निरौला, सीता श्रेष्ठ, राधा पौडेल, प्रेमकुमार अग्रवाल, गजबहादुर मादेन र नरबहादुर श्रेष्ठ थिए । केही समयपछि अदालतमा जागिर खाने गरी घनेन्द्रकुमार श्रेष्ठले अवकाश लिए । उनको स्थानमा हरि श्रेष्ठ शिक्षक भए । पृथ्वीधोजको पाटीमा स्कुल हुँदै रुद्रकुमार शाक्य शिक्षक थिए । बिचमा दुई वर्ष छोडेर उनी फेरि फर्केर आइ शिक्षक भए । उनकी श्रीमती मुक्ता शाक्य पनि शिक्षिका भइन् । केही समयपछि उपचारका लागि शिवकुमार श्रेष्ठले अवकाश लिए । उनका सट्टामा तेह्रथुम पोखरी छातेढुङ्गा निवासी पूण्यप्रसाद ओली बि.एस्सी. शिक्षक भए । बहुत नरम स्वभावका मिठो बोली र सुमधुर भाव भएका उनले विद्यार्थीवर्गमा राम्रो प्रभाव छाडेका थिए । उनले मेरो समूहलाई ९ र १० कक्षामा गणित र अतिरिक्त गणित पढाएका थिए । पूण्यप्रसाद ओली सर अझै जिवितै छन् । भानु हाइस्कुलपछि उनी भूमिसुधार मन्त्रालय, विभाग हुँदै अन्तमा नापी विभागको प्रमुख भएपछि हाल अवकाशको जीवन बिताइरहेका छन् ।
गोरखप्यारा सरको समयमा भानु स्कुलको चौतर्फी विकास भएर चम्किएको थियो । बहुमुखी प्रतिभाका धनी गोरखप्याराले स्कुललाई हरेक किसिमले अघि बढाउन मिहनेत गरेका हुन् । उनी अध्यापनमा बेजोड थिए भने संस्कृति, कला र साहित्य क्षेत्रमा पनि उनी समान रूपमा काम गर्न सक्ने प्रखर व्यक्ति थिए । उनको पालामा खेलमा पनि पर्याप्त विकास भएको थियो । तोक्मामा रहेको कमल फुल्ने पोखरीलाई पुरेर त्यहाँ फुटबल खेलमैदान बनाउन समेत उनको सव्रिmयता थियो । उनकै नेतृत्वमा तोक्माको त्यो पोखरी पुर्न बजारका घरैपिच्छेका मानिस श्रमदान गर्न जाने गर्थे । श्रमदानमा विवाद भएपछि वासु तथा टिकाराम गौतमका पिता स्व. नन्दलाल गौतमलाई विष्णु मादेनले श्रमदान दण्ड पनि दिएका थिए । भानु स्कुलको छिमेकमा सैनिक क्याम्प थियो, पोखरी पुर्ने र भलिबल मैदान (प्रार्थना मैदान) बनाउनेमा सैनिकहरूको योगदान अविष्मरणीय छ । साथै प्रत्येक दिन बेलुकी ४ कक्षाभन्दा माथिका हामी विद्यार्थी पनि माटो बोकी पोखरी पुर्न लागिपरेका थियौँ । माटो बोकेर ओरालो हिँड्दै गर्दा चिप्लिएर मेरा सहपाठी नरेन्द्रकुमार श्रेष्ठको गाला ताछिएर रगत बगेको थियो ।
हामी सानो हुँदा कक्षा १०, ९, ८, ७ मा उमेरले धेरै छिप्पिएका केही विद्यार्थीहरू थिए । हाँस्य कलाकारमा दोखूका लक्ष्मी गौतम प्रख्यात थिए । त्यस्तै पाँचथर एकतीनका रत्न काफ्ले र जीतबहादुर कार्की हाँस्य अभिनेता थिए । विद्यार्थीमध्येमा सिद्धिमान श्रेष्ठ, केशव दाहाल र मैले कामीका बाबु छोरा भन्ने हाँस्य अभिनय गरेका थियौँ । लक्ष्मी गौतम, कुबेर दाहाल र मैले ‘मरेपछि खा बाबै केरा’ नामको हाँस्य अभिनय गरेका थिर्यौं । मादल बजाउन पनि सिपालु रत्न काफ्लेले लिम्बूजातिको मृत्यु पछिको शोकविह्वल अवस्थाको अभिनय गरेर दर्शकलाई चकित पारेका थिए । हामी विद्यार्थीहरूले ‘सत्य हरिश्चन्द्र’ एकांकी नाटक पनि खेलेका थियौँ । हरिकृष्ण श्रेष्ठ, मनप्रसाद थेबे, केशव दाहाल र मैले चाण्डाल, साहुनी बज्यै, सव्या, रानी एवम् राहुलको अभिनय गरेका थियौँ । सोमप्रसाद, सिद्धिमान र मैले ज्योतिषीको एकांकी खेलेका थियौँ । नृत्यतर्फ रत्नकुमारी बहिनी, विद्या श्रेष्ठ छ्योकिला बहिनी र अरू साना नानीहरू संलग्न थिए । यदाकदा शकुन्तला मादेन दिदी पनि नृत्यमा भाग लिन्थिन् ।
भानु स्कलमा धेरै किसिमका खेलहरू खेलाइन्थ्यो । भलिबल खेल सबभन्दा लोकप्रिय थियो । सिद्धिमान, भद्रमान, जगन भट्टराई भलिबलका विशेष खेलाडी थिए । छिरुवा भन्ने खेल पनि ताप्लेजुङमा लोकप्रिय थियो । त्यो प्रायः खेलिन्थ्यो, त्यसमा छात्राहरू बढी खेल्थे । भानु स्कुलको योजनामा वार्षिकरूपमा वक्तृत्वकला र साहित्य गोष्ठी हुने गथ्र्यो । तेह्रथुमका गिरीराज गौतम, खडानन्द दाहाललगायत ताप्लेजुङका पशुपतिनाथ भट्टराई, गोरखप्यारा श्रेष्ठ पनि तर्क सम्वादमा संलग्न गरिएका थिए । नवनिर्मित खेलमैदानमा एकपटक हेडमास्टर भानु र हेडमास्टर हाङपाङको बिचमा प्रदर्शनी फुटबल खेल सम्पन्न भएको थियो । विद्यार्थीहरूलाई कोठा कोठा बाँडेर फूलवारी सजाइएको थियो ।
कुलमान इजम सर दक्षतापूर्वक भूगोल पढाउनुहुन्थ्यो । ग्रामर र तल्लो कक्षाको अङग्रेजी नरध्वज सर पढाउनुहुन्थ्यो । नेपाली र हिन्दी धरणीधर गुरु पढाउनुहुन्थ्यो । सुरुमा ईश्वरी गुरुको अध्यापनसँग स्कुल परिवार सन्तुष्ट नभए पनि उनको अध्यापन स्तर बृद्धि हुँदै थियो । ज्यादै कम बोल्ने तर्कसंगत मात्र बोल्ने गम्भीर स्वभावका धनी भएकाले गोरखप्यारासँग सबै धकाउँथे । नरध्वज सरको ग्रामर, कुलमानको भूगोल, रमेश श्रेष्ठको नेपाली व्याख्या, गोरख सरको अङ्ग्रेजी, गजबहादुर मादेनको पी.टी.ले विद्यार्थीको मन मस्तिष्कमा अमिट छाप छोडेका छन् ।
सुरुसुरुमा हार्मोनियम बजाउन नजान्दा प्रायः जगमोहनलाई आमन्त्रण गरी स्कुलको सांस्कृतिक साधनामा सहभागी गराइन्थ्यो । तर परिस्थिति नमिलेपछि हार्मोनियमका रिटहरूमा अभ्यास गरेर गोरख सर आफैँ हार्मोनियम वादनमा पोख्त हुनुभयो । नृत्य, सांस्कृतिक कार्यव्रmम, नाटक आदि कार्यव्रmममा गोरखसरको अगुवाइ हुन्थ्यो । यी कार्यव्रmमको पाश्र्वमा रमेशकुमार श्रेष्ठको भूमिका महत्वपूर्ण हुने गर्थे । भानुभक्तका मोतीरामझैँ गोरखप्यारालाई हाई–हाइ बनाउने रमेशकुमार श्रेष्ठ हुन् । यी दाजुभाइ खुब मिलेका थिए ।
२०२० सालमा तमोरमा ठुलो बाढी आयो । ताप्लेजुङ उत्तरपूर्वको हेल्लोकको पुलबाहेक तमोरका सबै पुल त्यो बाढीले बगायो । त्यो बाढी थामिएपछि केही विद्यार्थी लिएर गोरख सर खड्कुडे पुल भएको स्थानसम्म एक्सकर्सन टोली लिएर जानुभयो ।
२०२१ सालमा ८ र ९ कक्षाका विद्यार्थीहरू लिएर गोरख सर, रमेश सर, नरबहादुर श्रेष्ठसहित २७, २८ जना हामी विद्यार्थी सहितको टोली मित्लुङ, सिंवा, थिवा, तापेथोक, लुङथुङ, इलाडाँडा, जोङगिन हुँदै ओलाङचुङ गयौँ । ओलाङचुङको अवलोकनपछि माउमाइटार, वागमाइटार हुँदै टिपताला भन्ज्याङ अन्तिम लक्ष्यमा पुग्ने काम भयो । बलदेव, दुर्गा दाहाल, सोम र प्रह्लाद श्रेष्ठ सीमा स्तम्भ काटी निकैपर पुगी पिसाब फेरेर आएछन् । टिपताला जाँदैगर्दा बाटोमै उचाइ लागेर हरि नेपाल (सहिद) बेहोस हुन पुगे । नजिकैको एउटा ओडारमा स्लीपिङ ब्यागमा सुताएर अरू अघाडि बढे । टिपतालामा हिउँ खेलाउँदा काटेको औँलो दुःखी ‘मेरो हात काटिदिनु सर’ भन्दै केशव दाहाल बिलौना गर्दै रोए । टिपतालाबाट फर्केर एउटा गोठमा बिजोकसँग बसियो । चामल नपाक्दो रहेछ, भात त काँचाको काँचै । ओलाङचुङबाट फर्केर चिलिमे चराको मासु र कुखुराको मासु १, २ चोक्टा बाँडेर खाना खायौँ । हामीले थाहा नपाएको छिप्पिएको तुम्बा खाएर गोरख सर मातेर सुत्नुभएछ । राति उठेर खाना खानुभएछ । रमेश सरलाई चाहिँ त्यति मात नलाग्ने रहेछ । भोलिपल्ट बिहानै फक्र्यौं । जाँदा पनि लेलेपमा छिन्डुक विचारी (पाँजोला ग्याजोलाका बाबु) अर्थात् मजियाकहाँ खाना खाएका थियौँ, फर्किदा पनि खायौँ । सिंवामा दोलखे नेवारकोमा बास बसेर भोलिपल्ट बिहान सकुशल अ–आफ्नै घरमा पुग्यौँ । ओलाङचुङगोलाबाट सबैले आफूलाई ठीक हुने चाइनिज निलो रङ्गको बुटजस्तो जुत्ता लिएर आएका थियौँ । त्यो जुत्ता निकै टिकाउ रहेछ ।
त्यस शैक्षिक भ्रमणमा वलदेव सेनेहाङ, मनप्रसाद थेबे, घनेन्द्र खालिङ, खगेन्द्र दाहाल, दुर्गा दाहाल, केशव दाहाल, पूर्ण दाहाल, यामकुमार श्रेष्ठ, हरि नेपाल, सोमप्रसाद भण्डारी, लालबहादुर घिसिङ, जगन भट्टराई, भोलानाथ पौडल आदि साथीहरू गएको सझना छ । गोरख सर हरि नेपाललाई विशेष मन पराउनुहुन्थ्यो । भ्रमणमा प्रायः हरि नेपाललाई आफूसँग सुताउनुहुन्थ्यो ।
गोरख सरको पालामा भएको तेस्रो शैक्षिक भ्रमण पाथीभरा यात्रा थियो । हामी विद्यार्थीमध्ये सव्रिmय एवम् हट्टाकट्टा प्रह्लाद श्रेष्ठ, पूर्ण दाहाल, सोम भण्डारी र भोलानाथ पौडेल थिए । अरू हामी साना साना कदका थियौँ ताप्लेजुङबाट गएर हर्कजंग पाटीमा बास बस्यौँ । काँचै भए पनि गुराँसको दाउरा राम्रोसित बल्दो रहेछ । आगो तापेर सोत्तरमाथि आ–आफ्ना स्लिपिङ ब्याग ओछ्याएर सुत्यौँ । विद्यार्थीहरूको रेखदेख गर्न रमेश श्रेष्ठ सर र नरबहादुर श्रेष्ठ दाइको लगन विशेष स्मरणयोग्य थियो । हामीले पाथीभरा माताको दर्शन गरेर फेदीमा खाना खायौँ । तल्लो फेदीनजिकको गोठमा दही छ कि भनरे सोध्दा गोठाला भट्टराईले ‘दही छैन, भए दिइहाल्थेँ, भए खानू’ भनेर घाँस खोज्न हिँडे । प्रह्लादको अगुवाइमा गएर हेर्दा दुई ठेकी दही पाइयो । भए खानु भनेर वचन दिएकै थियो । दुईओटा जर्किनमा भरी दही झिकेर ल्याए । हामी दही बोकेर हिँड्याँै । गुप्ते आएपछि पाल टाँगेर भान्सा तयार गर्न लाग्दा दुई जना गोठाला दहीको कुरा लिएर आए । १४ पाथी दहीको दाबी गरे । एक पाथीको एक रुपियाँका दरले १४ रुपियाँ दिएर गोठालाहरूलाई बिदा ग¥यौँ । गोठालाहरू फुरुम्बूका भट्टराई रहेछन् । भोलिपल्ट बिहानको खाना आ–आफ्नो भान्सामा भयो ।
हाम्रो एस.एल.सी.को सेन्टर धरानको कन्या स्कुलमा थियो । हामीसँग गाईड गोरख सर आउनुभएको थियो । एसएलसीपछि नरेन्द्र श्रेष्ठ जिल्लाबाहिर गए । म र मैना सेनेहाङ भानु हाइस्कुलमा शिक्षक भयौँ । दश कक्षाको अतिरिक्त गणित, आठ कक्षाको अङ्ग्रेजी, सात कक्षाको गणित, एवम् कक्षा ४ को अङ्ग्रेजी पढाउन मलाई लगाइएको थियो । मासिक तलब ७५ रुपैयाँ थियो । म शिक्षक हुँदाहुँदै गोरख सरले स्कुल छोड्नुभयो । स्कुलको चौतर्फी विकासमा विशेष आयाम, योगदान, दक्षतापूर्वक दिइएका सच्चा र सर्वगुण सम्पन्न हेडमास्टरले स्कुल छोड्दा विद्यार्थी, शिक्षक, अभिभावक सबै एकपटक बिलखवन्दमा परेर दुखी भए । ईश्वरी निरौलाले निमित्त चलाउँदा चलाउँदै भर्खरै स्नातक उत्तीर्ण संखुवासभाका घनेन्द्रप्रसाद शर्मा (न्यौपाने) नयाँ हेडमास्टरमा नियुक्त भए । उनको शिलस्वभाव अत्यन्त शालीन थियो । उनी विचार गरेर मात्र बोल्ने, कसैका पक्ष विपक्षमा नलाग्ने किसिमका व्यक्ति थिए । उनी प्रधानाध्यापक हुँदा म जिल्लाबाहिर गैसकेको भए पनि उनको सौम्यता, आत्मीयता र विचारको दक्षतासँग म पछि परिचित हुन पुगेँ । आफ्नै काम अवस्थाले छोटै समयमा घनेन्द्र शर्माले स्कुलबाट अवकाश लिएर गौरादहमा शिक्षण गर्न लागेछन् । घनेन्द्र शर्मापछि दार्जिलिङका एक जना गणेशदत्त हेडमास्टरमा नियुक्त भएछन् । शिक्षण पेसामा दार्जिलिङ सिक्किमका मानिसहरू विशेष दक्ष हुने गर्छन् । त्यसैले गणेश ठटाल आफू दक्ष हेडमास्टर हुँदाहुँदै पनि जनजीवनको संकुचित सोचले गर्दा मान सम्मानमा केही तलवितल परी उनी एक वर्षमात्र काम गरी स्कुलबाट अवकाश लिएका रहेछन् । हेडमास्टर गणेशपछि स्कुलको जीवनमा एक अभूतपूर्व आयाम थप हुन पुग्यो ।
हाङपाङमा जन्मिएका झापा बिर्तामोड चारपाने घैलाडुवामा यथेष्ट जग्गा जमिन भएका धरान कलेजबाट स्नातक उत्तीर्ण नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन समूहका अत्यन्त सव्रिmय होनहार युवा नन्दकुमार प्रसाईं २०२५ सालमा भानु पब्लिक हाइस्कुलको नयाँ प्रधानाध्यापक नियुक्त भए । विद्यार्थी, शिक्षक, जन साधारण सबैसँग अहोरात्र सम्पर्कमा रही प्रधानाध्यापक नन्दकुमार प्रसाईंले स्थानीय तवरमा राजनीतिक चेतनाको विकासमा ठुलो परिवर्तन ल्याए । उनी कम्युनिष्ट राजनीतिका युवा प्रचारक रहेका थिए । उनको सव्रिmयतामा जिल्लाका धेरै युवाहरू नयाँ राजनीतिप्रति आकर्षित भए ।
विद्यार्थीमा नयाँ राजनीतिक चेतनाको बिस्तारबाहेक हेडमास्टर नन्दकुमारबाट विद्यालयको भौतिक विकासमा भने कुनै परिवर्तन भएको पाइएन । उनी प्रजिअ बन्धु पन्तको तीब्र विरोधी भएकोले जिल्ला प्रशासनले उनलाई हिरासतमा लिई अड्डासार गर्दै काठमाडौँमा निर्वासन गरायो । जिल्लाको सबै तह तप्कामा चेतनाको नयाँ विचार गरेर प्रधानाध्यापक नन्दकुमार प्रसाईंको चेतना बिस्तारको तरङ्गले ताप्लेजुङ रातै पोतियो ।
चेतना अभिवृद्धिको सिलसिलामा ताप्लेजुङमा एउटा नयाँ वाम पद्धतिलाई सम्प्रेषण गर्दै नन्दकुमार प्रसाईंको कार्यकाल समाप्त भयो । नन्दकुमारको कार्यकाल पापुङ, खोक्लिङ, सावादिन, दिङ्ला, खाम्लुङ, साँघुदेखि हाङपाङ क्षेत्रमा राजनीतिक सचेतनाको अभियान कार्यकाल रह्यो ।
जिल्ला प्रशासनको कारण नन्दकुमार प्रसाईं अवकासपछि कैलाश मादेन भानुका नयाँ प्रधानाध्यापक भए । त्रिचन्द्र कलेजबाट स्नातक उत्तीर्ण कैलाश मादेन ताप्लेजुङका अभिभावक सुब्बा हर्कजंग मादेनका साइँला छोरा नारायणप्रसाद मादेनका जेठा छोरा थिए । कलेज अध्ययनको व्रmममा उनी वामपन्थी राजनीतिबाट प्रभावित व्यक्ति थिए । प्रधानाध्यापक हुनुअघि उनी नन्दकुमारकै सहकर्मी भई भानुमा सहायक प्रधानाध्यापकमा कार्यरत थिए । २०२८ साल साउनदेखि कैलाश मादेनको प्रधानाध्यापकको कार्यकाल सुरु भएको हो । सुन्दर तथा सुडोल शरीर भएका, गम्भीर स्वभावका धनी, बलियो तार्किक क्षमताका कैलाश मादेन एक अध्ययनशील व्यक्तित्व पनि हुन् । उनी हस्तकला (हेन्ड आर्ट) मा पनि निपुण थिए । वाम राजनीति अभिवृद्धि गर्न होस् वा पञ्चायत राजनीतिक समन्वय गर्न कैलाश मादेन दुवै कुरामा प्रखर थिए । हाल उनी एकांकी जीवनमा रमाउँदै आध्यात्मिक चिन्तनमा छन् । सव्रिmय राजनीतिक र सामाजिक जीवनबाट विल्कुल पलायन भएकोमा जिल्लावासी मात्र होइन उनका आफ्नै परिवारका सदस्य दुःखित र चिन्तित छन् ।
सुरुमा कांग्रेसी पृष्ठभूमिका भए पनि दामोदर समसेरको प्रेरणाले भीमबहादुर आफूलाई कट्टर पञ्चायती भनेर उभ्याउन खोज्थे । त्यसैले वाम पृष्ठभूमिका कैलाश मादेनसँग उनको मतान्तर हुनु स्वाभाविकै थियो । कैलाश मादेनको स्कुल सेव्रmेटरी भीमबहादुर श्रेष्ठसँगको मतभिन्नताले भीमबहादुर सञ्चालक समितिबाट बाहिरिन पुग्यो ।
हाङदेवामा दुई जना ठाकुरसिंह कार्की भएकामा ठुला ठाकुरसिंह कार्कीले भानुस्कुललाई उनको बन्धकी थैली १४०००।– परेको खेत दान गरेका थिए । उनको विशेष दानका कारणले उनका छोराछोरी दुर्गा कार्की, टंक कार्की एवम् राधा कार्कीले स्कुलमा निःशुल्क अध्ययन गरेका हुन् । त्यस्तै जग्गा दाताहरूको सन्तानले पनि निःशुल्क अध्ययन गरेका हुन् । ठाकुरसिंहले दान दिएको खेत मेरो पालामा पुरानो थैली १४००० ।– र थप १४००।– गरी १५४००।– रकम स्कुललाई बुझाइ दुर्गा कार्कीले फिर्ता लगे । यो रकम भ¥याङ निर्माण, कक्षाको फर्निचर, क्यान्टिन व्यवस्था र प्रधानाध्यापक सुधार कार्यव्रmममा खर्च भयो ।
कैलाश मादेनकै पालामा सञ्चालक समितिको पुनर्गठन भयो । नवगठित सञ्चालक समितिमा म शिव दाहाल, तेजकुमार एङदेन, जि.शि.नि. रामप्रसाद खतिवडा पनि संलग्न थियौँ । सञ्चालक समितिको सदस्यमा दुर्गा पराजुली र मेरा बिचमा प्रतिस्पर्धा भई मतदानसमेत भएको थियो । मतदानमा मैले दुर्गा पराजुलीलाई पराजित गरेको थिएँ । यो सञ्चालक समितिले शिक्षकहरूको नयाँ वेतनमान निर्धारण गरेको थियो । त्यस बेला शिक्षकहरूमा कैलाश मादेन, ईश्वरी निरौला, रामचन्द्र निरौला, भद्रमान श्रेष्ठ, काजी श्रेष्ठ, केशवप्रसाद दाहाल, हर्क याक्सो, भरत गुरुङ भएको सम्झना छ ।
२०२७ सालमा तोक्माडाँडाको स्कुल भवन, छात्रावास र केही जग्गाको मूल्यांकन रु. ८२०००।– गरी नेपाली सेनाले स्कुलको सम्पूर्ण भौतिक सम्पत्ति खरिद ग¥यो ।
तोक्मामा रहेको भानु स्कुलको भवनलगायतका सबै ग्राउन्ड र जमिन सेनालाई दिएर स्कुल सार्नु अनवार्य भएपछि फेरि स्कुललाई जग्गाको आवश्यकता प¥यो । यस बेला पनि फेरि उनै सुब्बा जग्गादाताहरूले स्कुललाई अम्बिटारमा जग्गा दान दिए । २०४२÷४३ सालको नापीमा स्कुल ग्राउन्ड, सरस्वती मन्दिर, मन्दिरको छेउको चौर, स्कुलको उत्तरपट्टिको जग्गा र बारीसमेत गरी भानु स्कुलको जग्गा स्वामित्व कायम भयो । सबै जग्गा २३ रोपनी भएको हुनुपर्छ । म जि.शि.अ. भएपछि नापीको लागि फर्केर आएर स्कुलको सबै जग्गाको नापी मैले गराएको हुँ ।
कैलाश मादेनको २०२८ साउनदेखि २०३२ सालसम्मको कार्यकाल भानु स्कुलको इतिहासमा स्वर्णयुग थियो भन्नमा कुनै अतिशयोक्ति हुँदैन नै । यस समयमा विद्यालयका प्रत्येक कोठाहरू विद्यार्थीहरूकै कलाले सिंगारिएका थिए । विद्यालयको गेटको हाताभित्रै भलिबल खेलमैदान, एक स्कुल तहको फुटबल खेलमैदान पनि उनकै सिर्जना हो । फुटबल मैदानका छेउमा छात्रावास पनि निर्माण भएको थियो । यसमा विभिन्न स्थानबाट आएका विद्यार्थीहरू बस्ने गरेका थिए ।
२०३१ साउनदेखि २०३२ जेठसम्म प्रधानाध्यापक कैलाश मादेन र मैले एक साथ बि.एड. गरेका थियौँ । राजा श्री ५ वीरेन्द्रको शुभराज्याभिषेक कार्यव्रmमको सहभागिताले कैलाश मादेनको जीवनमा नयाँ गति लियो । उनले अध्ययनलाई क्रमिकता दिने विचार गरी उनी काठमाडौँ गए । हाल उनी नख्खिपोट छेऊको एक भव्य कुटीमा कान्छाबाबाका नामले प्रख्यात छन् । उनी बिल्कुल आध्यात्मिक, बहुआयामिक एवम् शाकाहारी भएर चिन्तनमा तल्लीन छन् । काम र व्यवसायमै संलग्न भएको बेला कंैलाशको कान्छो छोरा काठमाडौँमा ट्याँकीको पानीमा डुबेर देहावशान भएपछि पुत्रशोकबाट विह्वल भएर उनी घरपरिवार, श्रीमती, सामाजिक व्यवहार आदिबाट पन्छिएर बसेका हुन् भन्ने धेरैको अनुमान छ । उनले भानु स्कुलनजिकै सरस्वतीको मन्दिरमा आफ्नो कान्छो छोराको नामबाट गजूरचढाएका हुन् । ठुला ठुला आँखा, राताराता पनि, सेतो वर्ण, घुम्रिएको सुन्दर केश, ५ फिट ६ इन्च कद, गम्भीर स्वभाव भएका कैलाशलाई ठाडो गरेर हेर्न शिक्षकहरू धकाउँथे । वादविवाद गर्नुपर्दा उनका तर्कहरू अकाट्य हुन्थे ।
नयाँ शिक्षा पद्धति २०२८ सालमा लागु भएपछि भानु पब्लिक हाइस्कुलबाट स्कुलको नाम भानु जन माध्यमिक विद्यालय र हेडमास्टरबाट त्यो पदको नाम प्रधानाध्यापक रहने व्यवस्था भयो । यसअघि सरकारबाट केवल अनुदान मात्र दिने र सञ्चालक समितिबाट शिक्षकको वेतनमान, सेवा, सुविधाको व्यवस्था हुने गरेकोमा यसपछि विशेष परिवर्तन भयो । विद्यालय सञ्चालक समितिको स्थानमा विद्यालय सहयोग समिति बनाइएपछि जनस्तरबाट स्कुललाई हुने सहयोगमा पूर्णविराम होइन पूर्ण सहजता आयो । भानु स्कुलमा व्यावसायिक विषय पशुपालन, त्यस्तै मोती माध्यमिक विद्यालयमा पनि पशुपालन, सिनाम माध्यमिक विद्यालयमा वागवानी र बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा कर्मकाण्ड राखियो । कक्षा ७ सम्म पूर्व व्यावसायिक विषय अनिवार्य थियो ।
कैलाश मादेनले आफ्नो खुबी, क्षमता र दक्षताले भ्याएसम्म विद्यालय राम्ररी चलाएका हुन् । एक जना बाबुकाजी भन्ने प्र.जि.अ.ले उनलाई पक्रेर तोक्मा पु¥याएकोमा उनको समर्थनमा आएको विद्यार्थीको हूल देखेपछि प्रशासन पछि हट्यो र उनलाई रिहा ग¥यो । ती प्र.जि.अ.लाई भूइँभालु भनी जिस्काउने विद्यार्थी सूर्य नेयोहाङलाई लखेट्ने हुँदा सूर्यको खुट्टामा चोट पुगेपछि डरले ती प्र.जि.अ.ले राति नै जिल्ला छाडे ।
जिल्लाबाट कैलाश मादेनले अध्ययनको व्रmम बढाउन काठमाडौँ गएपछि अब तुलराम गुरुङ प्रधानाध्यापक भए । तुलाराम गुरुङ कदमा होचा, भौतिक व्यक्तित्वमा केही पछि भए पनि अध्ययन र अध्यापनमा उनी कुशाग्र एवम् दक्ष थिए । सामान्य वाम समर्थक भए पनि उनको अङ्ग्रेजी विशेष राम्रो थियो । उनी गणितमा पनि दक्ष थिए । उनी परिश्रमी र लगनशील थिए । तुलाराम गुरुङले कैलाश मादेनकै पदमार्ग पछ्याउन पर्याप्त कोसिस गरेका हुन् । प्रवाशबाट फर्किएका सूर्यमान गुरुङ जिल्लामा आफ्नो प्रभाव बिस्तार गर्दै थिए । सूर्यमान र तुलाराम दुवै गुरुङ हुनाले स्थानीय अर्को खेमाका लागि तुलाराम गुरुङ सुपाच्य हुन सकेनन् । यसर्थ स्थानीय राजनीतिको चपेटामा उनलाई स्कुल चलाउन कठिन हुन गयो । शिक्षकहरूमा गुटबन्दी सुरु भयो । विद्यार्थी नै बाटो ढुकेर विद्यालयका शिक्षकमाथि सांघातिक आव्रmमण गर्न थाले । आफ्नै सहकर्मीबाट पीठ पछाडि बसेर विरोध गर्न थाले । जसको कारण उनी वाध्यतावश प्रेमप्रसाद पराजुलीमार्फत् वयरवनको इटहरा माध्यमिक विद्यालयमा प्रधानाध्यापकमा स्थानान्तरण लिई हिँडे । तुलाराम गुरुङ प्रधानाध्यापक हुँदाको स्कुलको भौतिक एवम् सामाजिक पक्षमा उल्लेखनीय अन्य घटना केही भएन ।
भानु माध्यमिक विद्यालयको ऐतिहासिक स्मरण गर्दै जाने व्रmममा को को प्रधानाध्यापक भए, उनीहरूको पालामा के के आर्थिक भौतिक प्रगति भयो आदि विषयमा जानकारी भएसम्म उल्लेख गर्नु सान्दर्भिक नै होला भन्ने ठानेको छु ।तुलाराम गुरुङले विद्यालय छोडेपछि जेष्ठताका व्रmमले अगाडि अनि भीमबहादुर श्रेष्ठका नातामा ससुरा इन्द्रनारायणका साला चन्द्रबहादुरका छोरा बि.एड. गरेका काजी श्रेष्ठ प्रधानाध्यापक भए । त्यस बेला जिल्लाका चारओटा विद्यालयका प्रधानाध्यापकमध्ये पढेका प्रधानाध्यापक हुनेमा म शिवप्रसाद दाहाल एक जना मात्र थिएँ । म भन्दा पशुपतिनाथ भट्टराई सेवामा जेष्ठ हुनुहुन्थ्यो तर उहाँको तालिम योग्यता पुगेको थिएन । त्यसकारण सर्वप्रथम कन्फर्म प्रधानाध्यापक हुने अवसर मलाई मात्र जुरेको थियो । जेष्ठता व्रmममा प्रधानाध्यापक काजी श्रेष्ठ शिक्षकहरूमा केशवप्रसाद दाहाल, सन्तोष मादेन, पूण्य खरेल, विमला सुब्बा, निर्मला श्रेष्ठ, डिल्लीजंग मादेन, भरत गुरुङ, अमर गुरुङ थिए ।
सबैको प्रिय हुन खोज्ने प्रकृतिका काजी श्रेष्ठको प्रधानाध्यापक कार्यकालमा पूर्वप्रधानाध्यापक कैलाश मादेनले स्थापना गरेको र तुलाराम गुरुङले छोडेको पदमार्ग पछ्याउने कार्य भयो र उनको पालामा डेक्स बेन्च एकै ठाऊँ जडान गरिएका फर्निचरको व्यवस्था गरिए । उनकै कार्यकालमा विद्यार्थी राजनीति चुलिएको थियो । मनमोहन अधिकारी समूहभन्दा फरक सिपी मैनाली समूहको वाम राजनीतिका चेला काजी श्रेष्ठका विद्यार्थीहरू उग्र स्वभावका हुनु स्वाभाविकै हो ।
२०३६ साल फागुन चैत्रको जिल्लाव्यापी नाराजुलुस अभियानमा तत्कालीन प्र.जि.अ. गिरीराज गौतम प्रशासनले उग्र दमन ग¥यो । काजी श्रेष्ठलगायत उनका पक्षका १५, २० जना विद्यार्थीहरूलाई पनि हिरासतमा लिई यातना दिने काम भयो । साना साना विद्यार्थी चेलीहरूलाई पनि हिरासतमा लिइएकामा आम जनता प्रशासनप्रति ज्यादै रुष्ट भएको थियो । यस समयमा प्रहरीले माध्यमिक विद्यालयको छात्रावासमा रहेका विद्यार्थीका लुगाफाटा अनि भाँडाकुँडा फ्याँकिदिएर तोडफोड ग¥यो । सैनिक ब्यारेकको गुल्मपति शुवर्णसिंह गुरुङले आफ्नो क्षेत्र नाघी काजी श्रेष्ठलाई यातना दिए । कोर्डिनेशनका कार्यकर्ता भई सव्रिmय रहेका अध्ययनशील कम्युनिष्ट डिल्लीजंग मादेनलाई चाहिँ प्रशासनले छोएन । भानुका अन्य शिक्षकहरू सबै तटस्थ थिए । हिरासतबाट मुक्त भएपछि काजी श्रेष्ठ आफ्नै आर्थिक तथा सामाजिक गतिविधिमा संलग्न रहे । उनले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ताप्लुजुङको सभापति र सुकेटार विमानस्थल बिस्तार कार्यमा संलग्न रही काम गरे । यसरी तुलाराम पछाडि आएका काजी श्रेष्ठको प्रधानाध्यापकको कार्यकाल टुङ्गियो ।
ताप्लेजुङमा आन्दोलन आएको बेला म सिनाम माध्यमिक विद्यालयको प्रधानाध्यापक थिएँ । शिक्षक सङ्गठनको सचिव रहेर काम गरिरहेको थिएँ । शिक्षकहरूको केन्द्रीय भेला काठमाडौँमा हुने भई सम्पर्कको लागि ताप्लेजुङलाई निम्ता पठाएको थियो । ठीक त्यसैबेला नेपाल अधिराज्यभरका प्रधानाध्यापकहरूको सम्मेलन प्रशिक्षण एवम् निरीक्षण भ्रमण शिक्षा मन्त्रालयले आयोजना ग¥यो । त्यसमा शिक्षा प्रशासनले मलाई छनोट ग¥यो । म काठमाडौँ गएको बेला शैक्षिक क्षेत्रमा देखापरेका समस्याको व्यापक समीक्षा र निक्र्यौलका उपायबारे हामीले शिक्षामन्त्री एवम् शिक्षा सचिव समक्ष प्रतिवेदन दिएका थियौँ । मेरा विरुद्ध तुलसी दाहाल, जगदीप कडरिया, भीमकुमार साम्सोहाङ र नन्दमान केप्टेनले पटक–पटक पोल्यो, प्रतिवेदन दियो । म वाम राजनीतिको अग्रपङ्क्तिमा भए पनि प्रशासनले मलाई छोएन । मैले एकपटक जिल्लाका सबै व्यक्तित्वहरू बिच हिन्दू धर्मका आधारभूत सिद्धान्त र नेपालको हालको परिस्थिति विषयक ७ पानाको प्रतिवेदन जिल्ला पञ्चायत एवम् जिल्ला प्रशासनमा समेत बुझाएको हुनाले मप्रति उनीहरूको दृष्टिकोण अलग भएको थियो । यसैबेला सिनाम माध्यमिक विद्यालयमा कुलप्रसाद, चेदु पाण्डे, निरन्तर थेबे, किशोर थेबे एवम् देउमान कुँवरले राजा विरोधी पर्चापम्लेट छ¥यो । त्यसको ड्राफ्ट थुम्बेदिनका मास्टरले गरेको र चेदु पाण्डेले छपाई गरेर हर्माेनियमभित्र छुपाएर ल्याएका थिए । तर गायत्री नेपाल, भीष्मराज थेबे, शरण इवारम, हिमालय थेबेले यसको ड्राफ मैले (शिवप्रसाद दाहालले) गरेको भनेर प्रशासनमा पोल लगाए ।
सिनाम काण्डमा कृष्ण नेपाल, कुलप्रसाद उप्रेतीलगायत १८ जनालाई वारेन्ट काटेर खोजतलास गर्दै अड्डासार गरेर मलाई झापा पु¥याइयो । त्यस बेला अनन्तराम इन्सपेक्टरले मलाई हिरासतमा नलिई झापा अञ्चलाधीश कार्यालय पठाए । मेरो बयान तर्कराज कोइरालाले लिए । थुन्नैपर्छ भन्ने मणिराम न्यौपानेको दलिल भए पनि नरेश वर्माको वकालत र न्यायाधीशको परामर्शले १३ दिनपछि म छुटेँ । अरू शिक्षक विद्यार्थीलाई भने एक एक रात हिरासतमा राखी छाडिएको थियो ।
म ताप्लेजुङ गएर सिनामबाट सरुवाका लागि माग गरेपछि सरुवा नगरी भानुमा काजमा राखियो । मैले सिनाम नजाने अड्डी लिइरहेको समयमा काजी श्रेष्ठको पव्रmाउ र बर्खास्तीले भानुमा प्रधानाध्यापकको स्थान खाली भएकोले मलाई स्थायी रूपमा सरुवा गरियो । सिनाममा म रवाना लिन पनि नगएकोले मेरो नाममा निकाशा भएको चार महिनाको मासिक तलबभत्ता मलाई नदिई त्यतिबेलाका स्कुल प्रशासनका हर्ताकर्ताले खाएछन् ।
कृष्ण नेपाल, पूर्ण सिलवाल र म झापाको अञ्चलाधीश कार्यालयमा पेस भई एक वर्षसम्म तारेख खेपेर छुटेका थियौँ । २०३२ साल फागुनदेखि २०३३ साल साउनभर मोती माध्यमिक विद्यालय खोक्लिङमा र २०३३ साल माघदेखि २०३७ सालमा जेठ मसान्तसम्म सिनाम माध्यमिक विद्यालयमा प्रधानाध्यापक पदमा रही सेवा गरी भानुमा काजमा भित्रिएर सेवारत भएको हुँ ।
म भानुमा २०३७ को जेठमा काजमा आएँ । चैत १४ गते आन्दोलनमा काजी श्रेष्ठ गिरफ्तारीमा पर्नुका साथै उनलाई अवकाश दिइयो । काजी श्रेष्ठलाई अवकाश दिएपछि भानु माध्यमिक विद्यालयमा औपचारिक रूपमा मेरो प्रधानाध्यापकको कार्यकाल सुरु भएको हो ।
जिल्लाको राजनीतिक माहोलले विष्णु मादेन परास्त हुने अवस्था भए पनि सिनामको विद्यार्थी–शिक्षक दमनको असरले खाद्य तथा कृषि मन्त्री भइसकेका विजयप्रकाश थेबेलाई पराजित गरी विष्णु मादेन हाम्रो पक्षबाट राष्ट्रिय पञ्चायतमा विजयी भए । त्यस बेला भूमिगत राजनीति आफ्नै ठाउँमा थियो । पार्टी सेलले कृष्ण नेपाललाई भूमिगत हुन आग्रह गरेको थियो । दाइ पनि भूमिगत हुँदै सहिद भइसकेकाले भाइ पनि भूमिगत हुँदा नेपाल परिवारलाई नै सिध्याउने खेल हो कि के हो ? भनेर कृष्ण नेपाल र पूर्ण सिलवालले पार्टी नै छोड्ने कुरा राखेपछि बाध्य भएर सिनामका कुलप्रसाद उप्रेती भूमिगत भएका थिए ।
भानुमा प्रधानाध्यापक भएपछि मैले अनुकूल वातावरण पाएको थिएँ । मेरो पक्षमा एन.डी. सर परिवार, मेरो भतिज केशव दाहाल, बाटाकै बाबियो भए पनि ईश्वरी निरौला, विशेषत डिल्लीजंग मादेन, देवेन्द्र गौतम, कृष्ण निरौला, विमला सुब्बा, वसन्ती श्रेष्ठ, भरत गुरुड, अमर गुरुङ, सन्तोष मादेन पनि शिक्षक थिए । म प्रधानाध्यापक भएको केही समयपछि केशव दाहाल र सन्तोष मादेन विष्णु मादेनलाई भेट्न काठमाडौँ हिँडे । देवेन्द्र गौतम सिंगापुर गए । केही समय शिक्षक अभाव भएपछि बा.सु.सं. माध्यमिक विद्यालय मेदिबुङबाट जगन सेढाई, भगीरथ भट्टराई सरुवा भए । मैना सेनेहाङ, जीवन दाहाल, काशी भट्टराई, कुलप्रसाद भट्टराई आदि नयाँ शिक्षक नियुक्त भएपछि यथावत सञ्चालन गरियो । त्यस बेलाको एक महिनाको अवधिमा अङ्ग्रेजी, विज्ञान, गणित, अतिरिक्त गणित समेत गरेर मैले ७ पिरियडको सट्टा खप्टिएर १४ पिरियडसम्म पनि अध्यापन गराएको छु । त्यसै वर्ष ४ जना विद्यार्थीले प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए ।
विद्यालय सहयोग समितिमा भीमबहादुर श्रेष्ठ, सूर्यमान गुरुङ, कृष्णकुमार श्रेष्ठ, बोधराज गुरुङ र म सदस्य सचिवमा संलग्न थियौँ । विष्णु मादेनको सिफारिशमा भीमबहादुर श्रेष्ठका मामा अम्बिरमान श्रेष्ठका कान्छा छोरा विचारमान श्रेष्ठलाई तेल्लोकबाट शिक्षकमा ल्याइयो । भीमबहादुर श्रेष्ठका साइँला छोरा कूलदीप श्रेष्ठकी श्रीमती अम्बिका श्रेष्ठलाई पनि विद्यालयमा शिक्षिका बनाइयो । भानु जन माध्यमिक विद्यालयमा ४ कक्षादेखि १० कक्षासम्म मात्र अध्यापन हुने गरेकोमा जिमीपोखरीमा रहेको प्राथमिक विद्यालय गाभिएपछि भानुमा शिशु कक्षादेखि १० कक्षासम्म चल्ने व्यवस्था भयो ।
प्रजिअ गिरिराज गौतमको दबाबमा सभापति श्रीप्रसाद भण्डारीले जिल्ला पञ्चायतबाट अनुदान उपलब्ध गराएपछि विद्यालयको उत्तरपट्टि छात्रावास निर्माण गरियो । स्कुलछेउको थुम्कीमा रहेको जीर्ण मन्दिर भत्काई खेजेनिमका गजबहादुर लिम्बूलाई ठेक्का दिई निर्माण गरिएको सरस्वती मन्दिरका लागि केदार अग्रवालले प्रतिमा उपलब्ध गराए । ब्रिटिस वेल्फेयरको अनुदानमा वीरबहादुर मादेनको जग्गा किनेर स्कुलमा भलिबल मैदान निर्माण गरियो । त्यो जग्गा खरिदमा तुलसी दाहालरभीमबहादुरको भित्री दाउपेच मलाई ठिक लागेन ।
पुरानो छात्रावासको पूर्वतर्फको बाटो स्कुलको स्वामित्वको साँध थियो । त्यो साँधमा हुर्केबढेका रुख काट्ने सिलसिलामा पार्वती गुरुङ र मेरो बिचमा नराम्रो झगडा पनि भयो । एकपटक राजाको सवारी पनि भयो । सैनिकहरूले काटेर बारबेर गरेका विरुवाका टुक्राटाक्री स्कुलको क्यान्टिनमा चाहिनेमा पार्वती गुरुङले आफूखुसी उखेलेर लगिन् । भत्केको छात्रावासको जग्गा सम्याएको ठाउँमा टुक्राटाक्री राखियो । सानो फुटबल मैदानको उत्तरपट्टि १० मिटरमा पर्खाल लगाई विवाद साम्य पारी दर्शक दीर्घाका लागि जग्गा बाँकी राखी जमिन खारेर सम्याइयो । पश्चिमपट्टि पनि ३ मिटर थप गरियो भने दक्षिणपट्टि ५ मिटर बढाइयो । यो गर्दा खेलमैदान स्कुल लेबलबाट कलेज लेबलको हुन पुग्यो ।
स्कुलभित्रकै कक्षा कोठाहरूलाई सक्दो आधुनिकीकरण गरियो । मेरो कार्यकालमा जग्गा नापी गराएर स्कुलको जग्गाको स्वमित्व कायम गरियो । माथिल्लो तलामा जाने भित्र भएको भ¥याङ्ग बाहिरपट्टि पक्की बनाइ सारियो । पुरानो भ¥याङ्गको स्थानमा चमेना कक्ष बनाइयो । पाइप बिछ्याएर विद्यालयमा खानेपानीको व्यवस्था गरियो ।
२०४३ सालको फागुनतिर विद्यालयमा श्री ५ वीरेन्द्रको सवारी हुँदा शिक्षकहरूको नेतृत्व गर्दै श्री ५ मा शैक्षिक स्थिति जाहेर गरेँ । सुचारु रूपले विद्यालय सञ्चालन गरिरहँदा विद्यालयभित्र र बाहिर मेरो विरुद्ध लगातार षडयन्त्र भइरह्यो । मेरा भतिज केशवप्रसाद दाहाल, एन.डी. सर, तुलशी पालुङवा र मैना सेनेहाङ तटस्थ थिए । ईश्वरी गुरुको केही भर थिएन । जगन सेढाई, अङ्गीरथ भट्टराई, जीवन र वंशी एवम् डाँगीलाई जागिर जोगाउनु मात्र थियो । विष्णु मादेन वन राज्यमन्त्री हुँदा उनको रवैया र हामी प्रधानाध्यापकप्रतिको रुखो व्यवहारले भित्रभित्र गुम्सिएका थियौँ । हामी भन्ने गथ्र्यौं ‘रामलाई पो मानिन्छ, सबै बाँदरझुण्डलाई मान्नुपर्छ भन्ने के छ र ?‘
काजी श्रेष्ठकी बहिनी निर्मला श्रेष्ठको मनभित्र जे भए पनि अध्यापन र प्रशासनिक कार्यव्रmममा सहयोगी नै रहेको मैले ठानेको छु । यस्तै डिल्लीजंग मादेन र मन्जना श्रेष्ठको भूमिका पनि सहयोगी नै रहेको मैले स्मरण गरेको छु । मेरो विरुद्ध संयुक्त राजीनामा दिने शिक्षक विरुद्ध मेरा भतिज केशवप्रसाद दाहालको अत्यन्त प्रखर र खरो जवाफ थियो । हुँदाहुँदै हामीबिचको मनोमालिन्य कहाँसम्म भयो भने केशवप्रसाद दाहाल र पियन लालबहादुरबाहेक सबैले मेरा विरुद्ध राजीनामा दिने काम भयो । भेलामा प्र.जि.अ. कुलचन्द्र श्रेष्ठले भीमबहादुर श्रेष्ठलाई ‘यस्तो काम नगर्नुहोस् भनेर मैले कैयौँ चोटि भनेको थिएँ तर तपाईंले टेर्नुभएन । सबै बर्बाद भयो । अब आफैँ सम्हाल्नुहोस्’ भनी दबाब दिए । एउटा राजनीतिक आडमा आफ्नो भाइ ल्याउन यतिसम्म दाउपेच हँुदोरहेछ म त छक्क परेँ । कसको विश्वास गर्ने ? विद्यालयभित्रको कचिङ्गलबाट वाम मित्रहरू त रमाएकै थिए तर एउटा अर्को आन्दोलन भयो । समुच्च विद्यार्थीहरूले शिव दाहाल र केशव दाहाल रहुन्जेल स्कुल हडताल भनेर नारा जुलुस गर्दै बजार परिव्रmमा गरे । यो मुद्दा शिक्षा समितिसम्म पुग्यो । बिचरा भीमबहादुरको नभएका दाँतमा ढुङ्गा लाग्यो । सबैको राजीनामा अस्वीकृत गरी आफैँ सही गरी निर्मला श्रेष्ठ लिखित पत्र सबैलाई पठाइ शिक्षकहरूको थमौती गरियो । यसमा जिल्ला शिक्षा अधिकारी खेमराज रेग्मी र जिल्ला पञ्चायत सभापति सूर्यमान गुरुङको भूमिका स्मरणयोग्य छ ।
मान्छे कतिसम्म कृतध्न हुन्छ भने एकपटक सारा वामसमूह एक भई विचारमानलाई आएकोे आक्षेपमा धावा बोल्दा विचारमान श्रेष्ठ निर्दोष हो भन्ने कुरामा मैले छाती खोलेर उनलाई बचाएँ । तर उनले राजनीतिक प्यानेलको आडमा ममाथि प्रहार ग¥यो । परीक्षा नियन्त्रण कार्यालयले गरेको अनुसन्धानमा विचारमानले मप्रति लगाएको आक्षेप निरर्थक र गलत प्रमाणित भयो । नैतिकताको आधारमा राजीनामा दिएर पसल खोले । राप्रपाको झोला बोकेर हिँडे । डिल्लीजंग मादेन तटस्थ भए पनि राजीनामा दिई स्कुलबाट विदा भए । विचारमानको स्थानमा विष्णु मादेनका प्रिय भगीरथ न्यौपानेलाई फुलबारी विद्यालयबाट भानुमा ल्याइयो । विष्णु मादेन र हाम्रो परिवार राजनीतिक विरोधी भन्ने बुझेपछि भगीरथ न्यौपानेले पूर्णरूपमा विष्णु मादेनको एजेन्ट भई म र केशवको विरुद्ध निकै बदनामपूर्ण षड्यन्त्र रच्ने काम गरे ।
दुईतीनपटक भानु स्कुल निरीक्षण गरेका तीन जना ब्रिटिश ब्रिगेडियरहरूले गोरखा हाइस्कुल हङकङको प्रिन्सिपलको लागि अन्तर्वार्ता गर्न घोपा क्याम्पमा मलाई बोलाए । अन्तर्वार्तापछि ब्रिटिसहरूबाट मेरो सेलेक्सन गरेका रहेछन् । यही समयमा मसमेत केही प्रधानाध्यापकलाई जि.सि.अ. खेमराज रेग्मी र पूर्वाञ्चल क्षेत्रीय निर्देशक देवराज रेग्मीको सिफारिसमा जिल्ला शिक्षा अधिकारीमा नियुक्त गरियो । जिल्लाको प्रतिनिधिको हैसियतले माननीय विजयप्रकाश थेबेले मेरो समर्थन गरेका थिए र पछि भेटमा पद्मसुन्दर लावती एवम् विष्णु मादेनले मलाई बधाइ दिएका थिए ।
भानु स्कुलले प्रत्येक वर्ष लाखेजात्राको अवसरमा लाखेनाच निकाली जात्राको सबै रमाइला कार्यव्रmमहरू सञ्चालन गर्ने गथ्र्यो । भानु स्कुलकै एक छात्रा काण्डमा विचारमान, डिल्लीजंग र मेरा विरोधी कथित वाम समूहले डमी कार्यव्रmम सञ्चालन ग¥यो । डमी ग्रुपले याङलिजुङका राम कार्कीलाई हतियार बनाइ हाम्रो विरुद्धमा प्रचार गर्दै स्कुलको जात्रासम्बन्धी कार्यव्रmम आफूले सञ्चालन गरे । मसिना बालबालिकाहरूलाई त्यहाँ संलग्न नहुन मैले निर्देशन दिए पनि उनीहरूले अभिभावकको सहमति लिएर छात्राहरूलाई कार्यव्रmममा संलग्न गराए ।
यसै परिप्रेक्ष्यमा स्वनामधन्य वामहरूले एकदिन बिहान मलाई पोखरी छेऊ बोलाएर तथानाम बक्न थाले । उनीहरूले मलाई लगाउन जुत्ताचप्पलका माला पनि ठिक पारेका रहेछन् । मेरो विरुद्ध वाकयुद्ध चलिरहेको बेला प्रहरी नायव उपरीक्षक त्यहाँ आइपुगेपछि म उनीसँगै त्यहाँबाट बाहिरिएँ ।ं उनीहरूमध्ये एक जनाले किशोर नेपाल भन्ने पत्रकारसँग सम्पर्क गरी प्रधानाध्यापकले छात्रालाई भुँडी बोकायो भन्ने मिथ्या समाचार छपाएछन् । त्यो मिथ्या समाचार छपाउने कामको खोल र चस्मा भिरेका व्यक्तिलाई म राम्ररी चिन्दछु ।
जि.शि.अ.मा मेरो पोस्टिङ भइसकेपछिको सम्मेलनको व्रmममा घोपा क्याम्प डुल्दा शिक्षामन्त्री केशरबहादुर विष्टले मेरो नाम क्याम्पको बोर्डमा देखी त्यो नाम कटाउन लगाएछन् । मैले मातृका कोइराला, शिक्षामन्त्री पर्शुनारायण चौधरी, शिक्षामन्त्री केशरबहादुर विष्टको हातबाट पटक–पटक कदरपत्र प्राप्त गरेको छु । ताप्लेजुङ जिल्ला शिक्षा समितिबाट दुई–दुईपटक कदरपत्र र नगद पुरस्कार समेत पाएको छु ।
बहुदल बहाल भएपछि तत्कालीन नेपाल सरकारबाट सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरी फेरि लियन पदमा फिर्ता आइ पुनः भानु जन माध्यमिक विद्यालयको प्रधानाध्यापक भई कार्य सञ्चालन गरेको थिएँ । मेरो कार्यकालमा कुशलता र दक्षतापूर्वक पठनपाठन कार्य सम्पन्न गर्न सकेकोले मैले शिक्षा क्षेत्रमा गरेको कार्य सुखान्त रह्यो । मेरो सामाजिक प्रतिष्ठा उचो रहँदारहँँदै पनि बजारका सीमित परिवारको स्वार्थसँग विमति हुँदा जीवन चाहिँ चुनौतिपूर्ण नै रह्यो । मलाई सञ्चालक समितिका कृष्णकुमार श्रेष्ठ, दाइ नारायणभक्त श्रेष्ठ, तेजकुमार एङदेन, ब्रिटिश वेलफेयरका देउकुमार राई, उनका टुआइसी जसबहादुर खिम्दिङ, शिक्षा प्रशासन, जिल्ला पञ्चायत एवम् जिल्ला प्रशासनबाट बिल्कुलै राम्रो र आत्मीय सहयोग प्राप्त भएको हो । मलाई आड दिई सहयोग गर्ने स्व. गिरीराज गौतम, जि.पं. सभापति सूर्यमान गुरुङ, जि.शि.अ. दिलबहादुर श्रेष्ठ, खेमराज रेग्मी, दिलाराम उपाध्याय, प्रशासन अधिकृत कुशेश्वर झा, शिक्षा सचिव नरसिंह नारायणसिंह मेरा धन्यवादका पात्र छन् ।
यो विषय उल्लेख गर्न उचित सम्झेको छु । मेरो राजनीतिक विचारको जन्म काठमाडौँको विद्यार्थी जीवनबाट भएको हो । हाम्रा बन्धु वल्लभमणि दाहाल, डा. भरतकुमार प्रधान, मित्र शशि शेरचन, ऋतुवर्ण तुम्बाहाम्फेसमेतको प्रशिक्षणमा नै ताप्लेजुङ जिल्ला कमिटिमा मनमोहन समूहको सदस्य भएँ । पछि म भानु माध्यमिक विद्यालयको प्रधानाध्यापक एवम् शिक्षक सङ्गठनको सचिव भई कार्य सञ्चालन गर्दा शिक्षक सङ्गठनभित्र विवाद भएपछि म सङ्गठनबाट बाहिरिएर विषय शिक्षक एकाईको अध्यक्ष हुनपुगेँँ । ताप्लेजुङका वाम साथीहरू यतिसम्म रुष्ट भएछन् कि लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीत्वकालमा अञ्चलव्यापी विद्यार्थी सांस्कृतिक कार्यव्रmम हुने भयो । सो कार्यव्रmमका लागि विद्याथीहरूको अभिभावकत्व लिँँदै १२ जना छात्रछात्रा शिक्षक र कृष्ण निरौला साथ म आफैँ चन्द्रगढी गयौँ । हामी ताप्लेजुङ, गोर्जा, मिल्के, वसन्तपुर, धरान हुँदै जानुआउनु पथ्र्योे । हाम्रो आगमनको बाटो र टायमसमेत हेरेर टूटे, तीनजुरेको ढाँडको बिचबाटोमा मलाई भेटेर मेरो हत्या गर्ने प्रपञ्च रचिएको रहेछ । विद्यार्थीहरूको बिचमा हिँडेको हुँदा खटिएका हत्याराहरूको आँट नपुगेर हो वा मेरो लवाइले नचिनेर हो लुरुलुरु बाटो लागेछन् । यो कुरा म इलाममा जि.शि.अ. भएको समयमा पूर्ण सिलवालबाट थाहा भयो । अहिले मलाई सिनामका चार जना व्यक्तिप्रति घीन लागेर आइरहेको छ ।
मैले ताप्लेजुङ जिल्लाको मोती माध्यमिक विद्यालय, सिनाम माध्यमिक विद्यालय र भानु जन माध्यमिक विद्यालयमा गरी १९ वर्ष १ महिना १७ दिन आफ्नो दक्षता, क्षमता र इमानदारीतालाई आत्मसात् गरी मन, वचन र कर्मले विद्यालयको सेवा गरी काजी श्रेष्ठलाई पूmलमालाले स्वागत गर्दै कुर्सीमा बसाएँ । परिस्थितिलाई आत्मसात् गरी भानु माध्यमिक विद्यालयलाई अश्रुपूर्ण नजरले अभिवादन गरी आफ्नो लामो शिक्षण पेसाबाट अवकास लिएँँ ।
मेरो कार्यकालपछि काजी श्रेष्ठले लामै समय स्कुलमा रहेर काम गरेका हुन् । काजीले अघिल्लै पदचिन्ह टेकेर काम चलाएका हुन् । भूकम्पका ब्लक ल्याएर पनि उनले निर्माण कार्य गराए । काजी श्रेष्ठले भानु पत्रिकाको तेश्रो अङ्क प्रकाशित गरेका हुन् । उनको समयमा स्कुल प्रशासनमा एक जनाले उनलाई पीडा दिइरहे तापनि अन्य कर्मचारी ठिकै थिए । विभिन्न व्यक्तिगत शैक्षिक कठिनाईका बावजुद विकास निर्माणमा सृजनात्मक योगदान गर्ने उनको अभिप्रायः राम्रै झल्कन्थ्यो ।
उनको विभिन्न निजी व्यवहारको कठिनाइले गर्दा भानुबाट सरुवा भई उनी मोती माध्यमिक विद्यालयमा पुगेर त्यहाँ रेडक्रसको अनुदानमा एक भवन निर्माण गरे । उनलाई स्टाफहरूले राम्रै सल्लाह र सुझाव दिनेगरेका हुन् ।
काजी श्रेष्ठको बहिर्गमनपछि जेष्ठताका हिसाबले प्रधानाध्यापकको जिम्मेवारी विद्यालयका डुम्रिसे सेक्रे निवासी गोरखा राइफल हर्कलालकीनातिनी, बर्मिज आर्मीका राइटर नरध्वज लिम्बू र जुनकिरी इजमकी माहिली छोरी विमला सुब्बाको काँधमा पुग्यो । उनका सहकर्मीमा मैना सेनेहाङ, मातृका भट्टराई, लक्ष्मी डाँँगी, कुलप्रसाद भट्टराई, भगीरथ भट्टराई, ध्रुवता सेनेहाङ, तुलसी पालुङगा, भरत गुरुङ, मोती साँवालगायत थिए । विमला सुब्बाको पालामा शैक्षिक प्रणालीले कोल्टे फेरिसकेको थियो । उनको प्रधानाध्यापक सञ्चालनको लागि अगाडि हामीले खेपेको जस्तो आर्थिक कठिनाई खेप्नुपर्ने स्थिति थिएन । शिक्षकको सेवा सुविधा कर्मचारी सरह पुगेको थियो । हाम्रो पालामा सरकारी शिक्षा निकाय भए पनि शैक्षिक लगानी र प्रशासनलाई सौतेली व्यवहारले पीडित बनाएको थियो । शिक्षाकहरूले धेरै राहत पाएका भए पनि शैक्षिक गुणस्तरको अभिवृद्धि हुन आवश्यक थियो ।
काजी श्रेष्ठलाई जुन माध्यमिक शिक्षकले पीडा दिएका थिए, विमला सुब्बालाई पनि उनैको खुराफाती व्यवहारले पटक–पटक पीडा दिएको थियो । खैर आफ्नो अडानमा रहेर विमला सुब्बाले कुर्सी सम्हाल्दै धेरै काम गरिन् । सूचीबद्ध नै गर्नुपर्दा उनले फुटबल ग्राउन्ड बिस्तार र ग्राउन्डमा प्यारापिट निर्माण गराइन् । जी.डब्लु.एस.को ५२ लाख अनुदानमा स्कुल भवन अनि पुरानो विद्यालय भवन भत्काएर आएका काठपातबाट ९ लाख र शिक्षा विभागबाट ४ लाख थप गरी १३ लाखमा नयाँ भवन र पि.टि.एन. ब्रिटिसको २७ लाख सहयोगमा अर्को भवन समेत तीनओटा स्कुल भवन निर्माण गर्नुको अलावा ताप्लेजुङ जिल्लाबाट दुई लाख ५० हजार काठमाडौँ (इन्द्रकुमार श्रेष्ठको समिति)ले संकलन गरेको ६ लाख गरी भानु उच्च माध्यमिक खेलमैदान र षड्कोणवाला च्ऋऋ गेट पनि बनाउन लगाइन् ।
विमलाले स्कुलमा अङ्ग्रेजी मिडियम अनिवार्य गरी नयाँ दिशा दिनुको अलावा भानु स्कुलमा काम गरी अवकाश लिएका प्रधानाध्यापकको शिलालेख तयार गरी राख्न लगाइन् । प्रधानाध्यापक नै नभएका एकदुई दिन निमित्त भएका कतिको नाम पनि समावेश हुँदा यो शीलालेखको विश्वसनीयतामा शङ्का रहेको छ ।
विमला सुब्बा यी विविध श्रृजनात्मक कार्यपछि उनी अवकाश प्राप्त भइन् । यसपछि मातृका भट्टराईलाई निमित्त दिई विमला विदा भइन् । रकम कलममा प्रधानाध्यापक अत्यन्त सम्वेदनशील हुनैपर्छ । यसअधिका प्रधानाध्यापक कसैको पनि आर्थिक कारोवारमा झगडा विवाद थिएन तर यस्ता विवादहरूमा क–कसले आफूलाई कतिको चोखो राखे भन्ने कुरा उनै मातृकाप्रसाद भट्टराईले जानून्, यो हामीले कोट्याइरहनुपर्ने कार्यक्षेत्र होइन ।
अन्त्यमा धेरै चुनौति, धेरै राजनीतिक प्रहार र आफ्नै स्टाफबाट मिथ्या आक्षेप, आफ्नै विद्यालय सञ्चालक समितिका पदाधिकारीबाट दाउपेच हुँदाहुँदै पनि म ताप्लेजुङ जिल्लाको शैक्षिक प्रवाहमा एक सफल व्यक्ति हुन सक्षम भएँ । भानुमा पहिले एकपटक सञ्चालक समितिमा, एकपटक प्रधानाध्यापक र फेरि प्रधानाध्यापक रही सेवा गर्दाका कटु, रुचिकर र सुखद अनुभव मैले गरेको छु । मेरो कार्य समयमा मलाई सहयोग गर्नुहुने सञ्चालक समिति, जिल्लाका राजनीतिकर्मीहरू, मेरो गतिलाई साथ दिने शिक्षकवर्ग र मेरो अध्यापनबाट अनुग्रहित हुने विद्यार्थीलगायत सबैलाई धन्यवाद दिँँदै मेरो यो टिप्पणी यहीँ अन्त्य गर्दछु । फेरि पनि धन्यवाद ।
(दुईपटक भानु स्कुलको प्रधानाध्यापक भएका दाहालले सञ्चालक समिति सदस्यसमेत रहेर भानुको सेवा गरे । हाल काठमाडौँ ।)



















