‘अन्तत हर्क साम्पाङ हारे’

वेलकम खबर
साउन २८, २०८१

मोरङ । आफ्नो निर्णयबाट हतपत्त पछि नहट्ने गरेका धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ यस पटक भने अडानबाट पछि सरेका छन् । धरानमा खानेपानीको महसुल बढाएर नागरिकको आलोचना र चर्को विरोध खेपिरहेका प्रमुख साम्पाङ खानेपानी सरसफाइ तथा सेवा निर्धारण आयोगको निर्णय मान्न तयार भएका हुन् ।

खानेपानीको महसुल घटाएर साम्पाङ आयोगको निर्णय मान्न राजी भएका हुन् । खानेपानीको महसुल ह्वातै बढाएपछि धरानवासी आन्दोलित भएका थिए । आन्दोलनरत १० राजनीतिक दलसँग आइतबार राति अबेरसम्म भएको वार्तामा साम्पाङ खानेपानीको धारा जडान नामसारी र महसुलमा गरेको शुल्क वृद्धि फिर्ता लिन तयार भएका हुन् ।

साम्पाङले तीन बुँदे सहमति गरेर शुल्क वृद्धि फिर्ता लिएका छन् ।  राईले एकल निर्णय गरी चालु आर्थिक वर्षबाट लागु हुने गरी खानेपानीको महसुल अस्वाभाविक रूपमा वृद्धि गरेका थिए । त्यसको विरुद्ध धरानमा सुरु भएको आन्दोलनले चर्को रूप लिन थालेपछि गलेका साम्पाङले निर्णय सच्याएका हुन् ।

साम्पाङ शुल्क वृद्धि महसुल तथा शुल्क स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णताबारे अदालतको फैसला मान्ने र एक साताभित्र बोर्डको सम्पूर्ण हिसाब सार्वजनिक गर्ने सहमतिमा आएका छन् । मेयर सम्पाङ शुल्क वृद्धि फिर्ता लिन तयार भएसँगै आन्दोलनरत दलसँग तीन बुँदे सहमति भएको छ । सहमतिसँगै मेयर सम्पाङविरुद्ध धरानमा जारी आन्दोलन फिर्ता भएको छ ।

नेकपा एमाले धरान उपमहानगर कमिटीका उपसचिव योगेशबावु काफ्लेका अनुसार मेयर साम्पाङले गरेको वृद्धि महसुल तथा शुल्क स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णता बारे अदालतको फैसला मान्ने र एक साताभित्र बोर्डको सम्पूर्ण हिसाब सार्वजनिक गर्ने सहमति भएको छ ।

सहमति पत्रमा भनिएको छ, आयोगमा लिखित पत्र पठाउने र जवाफ नआउञ्जेल पुरानो महसुल यथावत् राखेर पुनर्विचार गरिएको छ । धरानमा गरिएको खानेपानीको धारा जडान नामसारी र महसुल वृद्धिको खारेजीको माग गर्दै दुई साता अघिदेखि आन्दोलन हुँदै आएको छ । आन्दोलनका कारण धरान तनावग्रस्त भएको थियो ।

दलहरूले बोर्ड र बिल काउन्टर कार्यालयमा तालाबन्दी गरेका थिए । उच्च अदालतको आदेशमा ताला खोले पनि उपमहानगर कार्यालय घेराउ गर्दै नारा, जुलुस, प्रदर्शन गर्दै आएका थिए । वार्तामा खानेपानी व्यवस्थापन बोर्ड अध्यक्ष तथा नगर प्रमुख हर्क साम्पाङ, उपप्रमुख अइन्द्रविक्रम बेघा, वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई दलहरूबाट नेपाली कांग्रेसका श्याम पोखरेल, नेकपा एमालेका हर्कजंग एभेङ, नेकपा माओवादीका चोत्लुङ, जसपाका सुमन चेम्जोङ, नेकपा एसका रेवतीरमण राई, रास्वपाका ठाकुरबहादुर कार्की थिए ।

वार्ता टोलीका सदस्य माओवादी केन्द्रका चोत्लुङका अनुसार सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ । उनले भने, ‘बोर्डका स्वघोषित अध्यक्ष राईले एकल निर्णय गरी चाल आर्थिक वर्षबाट लागु हुने गरी खानेपानीको महसुल-शुल्क ९ हजार ९ सय प्रतिशतसम्म वृद्धि गरेकोले राजनीतिक दलसहित उपभोक्ता आन्दोलित बनेका थिए ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*