जिसस प्रमुखलाई अस्पतालको अध्यक्षबाट हटाएकोमा आपत्ति,दिए आन्दोलनको चेतावनी
ताप्लेजुङ । जिल्ला अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षबाट जिल्ला समन्वय समितिको प्रमुखलाई हटाउने निर्णय प्रति कोशी प्रदेश भरिका जिल्ला समन्वय समिति प्रमुखहरूले आपत्ति जनाएका छन् ।
मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र लेख्दै नयाँ व्यवस्था अनुसार अस्पताल जस्तो संवेदनशील संस्थामा जनप्रतिनिधिमूलक संस्था जिल्ला समन्वय समितिको प्रमुख नै अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुने जन स्वास्थ्य ऐन २०७७ ले व्यवस्था गरेको औचित्यपूर्ण रहेको उल्लेख गरिएको छ ।
कोसी प्रदेशका सम्पूर्ण १४ वटै जिल्ला अस्पतालहरूमा निरन्तर काम भई संविधान, ऐन कानुनको मर्मअनुसार नागरिकको स्वास्थ्य राम्रो र उपलब्धिमूलक भएको कुरा तथ्याङ्कले पुष्टि गरेको उनीहरूले दावी गरेकाछन ।
माथिल्लो सरकारले तल्लो सरकारको अधिकार खोस्दै जाने हो भने मुलुक सहज ढंगले चल्न नसक्ने निष्कर्षका साथ जिल्ला समन्वय समितिको भूमिकालाई कमजोर बनाउने कामले संघीयता कार्यान्वयनमा प्रदेश सरकारलाई सहयोग नपुग्ने बताइएको छ । जिल्ला समन्वय समिति महासङ्घ नेपालले गत माघ १० गते विराटनगरमा २९ औँ स्थापना दिवस कार्यक्रमको निर्णयमा पनि अनुरोध गरेको र माघ १७ गतेकोशी प्रदेश महासंघले सरकारवालालाई पत्राचार र प्रेस विज्ञप्ति मार्फत पनि अनुरोध गरेको स्मरण गराउँदै जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा एकलाई परिवर्तन गर्न अध्यादेशबाट ल्याइएको व्यवस्थालाई खारेज गरी पूर्ववत व्यवस्थालाई निरन्तरता दिन अनुरोध गरेको छ ।
आफूहरूको अनुरोधलाई व्यवस्था गरी अध्यादेश कार्यान्वयन गरिएमा संविधान, कानुनमा व्यवस्था भए अनुसार १४ वटै जिल्ला समन्वय समिति विरोधका चरणबद्ध कार्यक्रममा जान बाध्य हुने चेतावनी पनि दिएको छ ।