ताप्लेजुङका ‘एमडीआरटी’ विजेता राजु सम्मानित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स ताप्लेजुङका बरिष्ठ एजेन्सी मेनेजर राजु भण्डारी सम्मानित भएका छन्। ताप्लेजुङबाट पहिलो पटक बिमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म एमडीआरटी विजेता बन्न सफल राजुलाई नेपाल लाइफले काठमाडौंमा भव्य कार्यक्रमका बीच सम्मान गरेको हो। भण्डारी सहित देशभरबाट एमडीआरटी जित्न सफल २४३ जना अभिकर्ता सम्मानित भएका थिए। राजुले ताप्लेजुङसहित इलाम, झापा, मोरङ, सुनसरी र काठमाडौंलाई समेत कार्यक्षेत्र बनाएर बिमा गराउँदै आएका छन्।
उनी जिल्लामा बिमा क्षेत्रको प्रेरणाको स्रोत नै बनेका छन्। “मेरो मिहेनत र लनगसिलताकै कारण यो सम्मान पाएको हुँ। सम्मानले अझै आफ्नो कामप्रति अपनत्व र जिम्मेवारी थपिएको महसुस गरेको छु”,उनी भन्छन्, “मलाई माया र विश्वास गर्नुहुने सबैलाई धन्यवाद दिन्छु।” जीवन बिमा गर्ने र गराउने दुवैको भविष्य उज्वल रहेको उनको भनाइ छ।
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले सो अवसरमा पुनर्ताजगी तालिम समेत प्रदान गरेको छ। सन् २०२२ मा तोकिएको लक्ष्य पूरा गर्ने २४३ जना अभिकर्ताहरू २०२३ का लागि छनौट भएका छन् । कार्यक्रममा एमडीआरटी, सीओटी र टीओटी बिजेता पनि सहभागी थिए। यस वर्ष एमडीआरटी हुन व्यक्तिगत कोडमा एकल बीमा शुल्क बाहेक ३७ लाख ९२ हजार ३०० रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नुपर्ने लक्ष्य तोकिएको थियो।
नेपाल लाइफका सीईओ प्रविन रमण पराजुलीले अभिकर्ताहरू बिमा कम्पनिका मेरुदण्ड भएकाले उनीहरूकै अथक मेहनत र परिश्रमको कारण आज कम्पनी उत्कृष्ट बन्न सफल भएको बताए। कार्यक्रममा नेपालका ८ हजार मिटर भन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो महिला पुर्णिमा श्रेष्ठले आफ्नो जीवनको सफलता असफलता, चुनौती र अवसरबारे बताएकी थिइन्। प्रगती गर्नका निम्ति आफुसंगै प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो सीप विकाशमा सदैब दत्तचित्त भएर लाग्नु पर्ने भन्दै अभिकर्तालाई हौसला र प्रेरणा प्रदान गरेकी थिइन्।



















