सिन्धुपाल्चोककी पासाङडोल्मा ले १३ औं मिस मंगोल उपाधि चुमिन

वेलकम खबर
पुस १३, २०७९

काठमाडौं । १३ औं मिस मंगोल नेपाल २०२२ को उपाधि सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पाले हाँसिल गरेकी छिन् । काठमाडौंका जमल स्थित नाचघरमा आईतबार अबेरराती सम्पन्न सो प्रतियोगितामा आफ्ना १८  प्रतिस्पर्धीलाई पछि पार्दै पासाङ डोल्माले सो उपाधि जितेकी हुन् । अघिल्लो संस्करणमा उत्कृष्ट ५ मा परेकी पासाङ डोल्माले दोस्रो प्रयासमा मिस ट्यालेन्टसहित शीर्ष उपाधि हाँसिल गरेकी हुन् ।

एक्सन इन्टरटेनमेन्टद्धारा आयोजित यो प्रतियोगितामा कैलालीकी दीपिका थापामगर फस्ट रनरअप र सोलुखुम्बुकी डोल्मा छिरिङ शेर्पा सेकेन्ड रनरअप घोषित भएका छन् । मिस मंगोल सुदूरपश्चिमको उपाधि फस्ट रनरअप दीपिका थापामगरले हात पार्न सफल भइन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा पाँचथरकी ममता आङ्बो मिस मंगोल प्रोभिन्स वान, पर्साकी एसेन्ला घले मिस मंगोल मधेस, काठमाडौंकी प्रार्थना शाही मिस मंगोल बागमती, पोखराकी प्रिसिला गुरुङ मिस मंगोल गण्डकी र दाङकी मुना बुढामगर मिस मंगोल लुम्बिनी घोषित भएका छन् ।

कार्यक्रममा मन्त्री श्रेष्ठले हाम्रो भाषा, भेषभूषा र संस्कृतिसँग जोडेर आयोजना हुने यस प्रकारका प्रतियोगिता नयाँ पुस्ताका लागि राम्रो प्लेटफर्म भएको बताए । उनले प्रतिभावान् नयाँ पुस्ताले यस्ता प्लेटफर्मको सदुपयोग गर्न सक्नुपछै भने ।

प्रतियोगितामा प्राज्ञ प्रदीप बोम्जन, नेपाल एड्मिनिस्ट्रेसन स्टाफ कलेजका डेपुटी डाइरेक्टर शिवहरि अधिकारी, प्याब्सन काठमाडौंका पूर्वअध्यक्ष हरिकृष्ण श्रेष्ठ, रंगकर्मी एवं अभिनेता पुष्कर गुरुङ, पपगायक धीरज राई, मिस मंगोल नेपाल २०१७ अनिता लामा र आदिवासी जनजाति चलचित्र महासंघको उपाध्यक्ष छिरिङ शेर्पा निर्णायक मण्डलमा रहेका थिए ।

प्रतियोगितामा रोजिन शाक्यको कोरियोग्राफी रहेको थियो भने मिस मंगोल नेपाल २०१९ सिभिरा लामा कोचका रूपमा रहेकी थिइन् । कार्यक्रममा मन्त्री श्रेष्ठले मिस मंगोलका टेक्निकल हेड एवं भिडियो निर्देशक विज्ञान राई र ग्राफिक डिजाइनर विवेक श्रेष्ठलाई सम्मान प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु