‘कोठामा मात्र नबसौं, घाम पनि तापौं’
भिटामिन डी डिफिसेन्सी भनेको के हो ?
शरीरलाई स्वस्थ एवं तन्दुरुस्त राख्न भिटामिन डी आवश्यक पर्छ। भिटामिन डीको लेभल चाहिनेभन्दा न्यून छ भने त्यसलाई भिटामिन डी डिफिसेन्सी भनिन्छ। शरीरलाई आवश्यकीय तत्वमध्ये भिटामिन डी पनि एक हो। रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउन यसले सहायक तत्वका रूपमा काम गरिरहेको हुन्छ।
के कारणले भिटामिन डीको कमी हुन्छ ?
भिटामिन डीको समस्या हुनुमा मुख्यतः दुईवटा कारण छन्। पहिलो, शरीरमा सूर्यको किरण (घाम) नपर्दा वा उपयुक्त खानपानको कमी, दोस्रो कारणमा वंशाणुगत कारण। शरीरले भिटामिन डी ग्रहण गर्न नसक्ने वंशाणुगत समस्या पनि हुन सक्छ। मिर्गौलाको दीर्घ रोग (क्रोनिक किड्नी डिजिज) वा उच्च (हाइपर) फोस्फेटका कारण पनि शरीरले भिटामिन डी शोषण गर्न नसक्ने हुन सक्छ।
हजारौं कोरोना संक्रमित घरमै आइसोलेसनमा बसिरहनुभएको छ। यो बेला भिटामिन डीको कमी हुन सक्ने सम्भावना हुन्छ कि हुँदैन ?
रोग प्रतिरोधात्मक क्षमता कमी भएको व्यक्तिलाई कोरोना भाइरस संक्रमणको जोखिम हुन्छ। कतिपय संक्रमित होम आइसोलेसनमा पनि बसिरहनुभएको छ। रोग प्रतिधात्मक क्षमता न्यून भएका र कोठामा बसिरहने संक्रमितलाई भिटामिन डीको कमी देखिन सक्छ। संक्रमितमध्ये कति जनामा भिटामिड डीको कमी छ भन्ने यकिन तथ्यांक छैन। तर, म संलग्न अस्पतालमा उपचाररत संक्रमितमध्ये झण्डै २५ प्रतिशतमा भिटामिन डी डिफिसेन्सी भएको पाएको छु।
सरकारले यसमा प्रोटोकल पनि बनाएको छ। संस्थागत आइसोलेसनमा बसिरहेकालाई सप्लिमेन्टका रूपमा भिटामिन डी उपलब्ध गराइएको हुन्छ।
भीटामिन डीको कमी भए के कस्ता समस्या देखिन्छन् ?
भिटामिन डीको कमी हुँदा रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ। बालबालिकामा हड्डिको राम्रोसँग विकास हुँदैन। हड्डीहरू बांगो हुने (रिकेट्स), हड्डि नबढ्ने समस्या हुन्छ। हड्डी दुख्ने (अस्टिओमलासिया), मांसपेशी कमजोरजस्ता समस्या हुन्छन्। वजन बोक्ने हड्डिमा समस्या उत्पन्न हुन्छ। त्यस्तै क्यान्सर, हर्मोनजन्य समस्या पनि उत्पन्न हुन सक्छ।
कोरोना संक्रमित वा निको भइसकेका व्यक्तिलाई यसको आवश्यकता कति पर्छ ?
कोरोनाका संक्रमित वा निको भइसकेका व्यक्तिले भिटामिन डीको कमी छ/छैन जाँच गर्नुपर्छ। कमी भए नियमित भिटामिन डी उपलब्ध गराउनु आवश्यक छ।
कोरोना संक्रमितलाई भिटामिन डी डिफिसेन्सीको समस्या देखिनुको खास वैज्ञानिक तथ्यगत कारण के होला ?
कोरोना भाइरस संक्रमणले शरीरभित्रको संरचनालाई असर गर्ने हुनाले नै भिटामिन डी डिफिसेन्सी भएको हुन सक्छ। भाइरसले शरीरको मेकानिज्ममा असहज बनाउने भएकाले भिटामिन डी डिफिसेन्सी देखिन सक्छ। यो सबैमा लागू हुन्छ भन्ने छैन। कसैमा यो समस्या नदेखिन पनि सक्छ।
कुनै लक्षण नदेखिए पनि शरीरमा भिटामिन डी डिफिसेन्सी हुन सक्छ कि सक्दैन ?
कुनै लक्षणबिना पनि शरीरमा भिटामिन डी डिफिसेन्सी भइरहेको हुन सक्छ। यसलाई एसिम्टोमेटिक भनिन्छ। लक्षणबिना पनि लो लेभलमा रहिरहेको हुन सक्छ। त्यस्तो अवस्थामा जाँच नगरी थाहा पनि हुँदैन।
भिटामिन डीको कमी भएका बेला देखा पर्ने लक्षणहरू के–के हुन् ?
रुघाखोकी लागिरहने, मांसपेशी तथा हातखुट्टा दुख्ने जस्ता लक्षण देखिन्छ। अलि बढी नै कमी भएको छ भने हड्डी फ्र्याक्चर हुने समस्या पनि देखिन्छ। बालबालिकामा हड्डी नै बाङ्गोटिङ्गो हुने हुन्छ। प्रौढहरूमा माशंपेशी, हड्डी दुख्ने समस्या देखा पर्न सक्छ। भिटामिन डी डिफिसेन्सी भएको बेला नसा जन्य समस्या (मल्टिपल स्क्लेरोसिस) पनि हुन सक्छ।
यो समस्याको रोकथाम वा जोगिन के गर्नुपर्ला ?
कोठामा मात्र बसिरहनुहुँदैन। घरबाहिर निस्कने वा छतमा गएर १०–१५ मिनेट घाम ताप्नुपर्छ। सूर्यको किरण (घाम)बाट पनि भिटामिन डी पाउन सकिन्छ। त्यस्तै शारीरिक व्यायामका साथै खानपानमा पनि ध्यान दिनुपर्छ। नेपाली खानाका रूपमा दाल, भात, तरकारीसँगै सागसब्जी पनि खानुपर्छ। अण्डा सेवन गर्न सकिन्छ। विशेषगरी प्रौढहरूमा खानपानले पनि धेरै प्रभाव पार्छ। माछामासु सेवन गर्नुपर्छ। मदिरापान, धूमपान गर्नुहुँदैन annapurnapost