वैदेशिक रोजगार कष्टपूर्ण छ, नजाऔं : प्रधानमन्त्री ओली

वेलकम खबर
बैशाख २, २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भन्दा वैदेशिक रोजगारीका क्रममा अनेक कष्टको  सामना गर्नुपर्ने भएकोले स्वदेशमै प्राप्त रोजगारीमा रमाउन युवाहरूलाई आव्हान गरेका छन् । 

नयाँ वर्ष २०७८ को पहिलो दिन बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाको भावना बुझ्ने कुरामा  आफ्नो नेतृत्वको सरकार सतर्क रहेको भन्दै विदेशको रोजगारी कष्टपूर्ण रहेकाले स्वदेशमै प्राप्त रोजगारी गरेर थप अवसरहरूको खोजी गर्नुपर्नेमा जोड दिएका हुन् ।

रोजगारी खोजी गरिरहेका युवाहरूलाई जे रोजगारी उपलब्ध छ त्यसलाई आत्मसात गरेर रोजगारीका अवसर प्रयोग गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड पनि रहेको थियो ।

हाल करिब ४५ लाख युवाहरू खाडी, मलेसिया र युरोपका देशमा रोजगारी गरिरहेका छन् । उनीहरूले  वार्षिक ९ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स पठाइरहेका छन् । प्रधानमन्त्री ओलीले वाध्यताको वैदेशिक रोजगारीको अन्त्य गर्ने बताउँदै आए पनि देशमै रोजगारी सिर्जना हुन भने सकिरहेको छैन ।

वार्षिक करिब ३ लाख युवाहरु वैधानिक रुपमा वैदेशिक रोजगारीका लागि मलेसियालगायत खाडी देशहरुमा जाने गरेकोमा कोभिड–१९ का कारण उक्त रोजगारी बन्द प्राय छ । नेपालको श्रम बजारमा वार्षिक पाँच लाख युवा युवती नयाँ रोजगारीको खोजीमा बजारमा आउने गरेका छन् । 

त्यसलाई संवोधन गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ सालदेखि  प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात गरेको छ । उक्त कार्यक्रमले प्रत्येक वर्ष श्रम बजारमा आउने करीव ५ लाख युवायुवतीलाई रोजगारीको न्युनतम प्रवन्ध गर्ने उदेश्य लिएको छ । 

हालै सार्वजनिक भएको वार्षिक प्रतिवेदनका अनुसार ७ लाख ५० हजार बढी युवा बेरोजगारको सूचीमा दर्ता भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चैत्र ६ गतेसम्म दर्ता भएका देशभरीका ७ लाख ५१ हजार ५ सय जना बेरोजगार मध्ये ३३ हजार ७ सय ५० जनाले रोजगारी पाएका मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*