यो सरकार कम्युनिस्टको हुँदै होइन : मोहनविक्रम

वेलकम खबर
साउन २५, २०७६

अभियोग १ : पदको भोको हुनुहुन्छ । ८४ वर्षको तपाईंले करिब ४५ वर्ष त पार्टीको महामन्त्री पद खाइसक्नुभयो । उमेर बढ्दै जाँदा पदको मोह झन् धेरै बढ्दै छ । हालै सम्पन्न महाधिवेशनबाट फेरि महामन्त्री बन्नुभयो । कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच नै ठट्टा हुन्छ, मोहनविक्रम सिंहको मसालमा नेतृत्व कहिल्यै फेरिन्न ।

हाम्रो पार्टीको नेतृत्व जनवादी  तरिकाबाट चयन हुन्छ । कसलाई तल्ला कमिटीमा, कसलाई केन्द्रीय कमिटीमा, कसलाई पोलिटब्युरोमा र कसलाई मूल नेतृत्वमा ल्याउने भन्ने कुरा पार्टीका साथीहरूले, पार्टी कमिटीले वा महाधिवेशनले आवश्यकताअनुसार निर्णय गर्छ । पार्टीभित्र नेतृत्वका लागि कुनै गुटबन्दी हुँदैन, कसैको जोरजबरजस्ती हुँदैन । पार्टीको आवश्यकताअनुसार जुन निर्णय हुन्छ, त्यसलाई मानेर हामीले नेतृत्वमा बस्नुपर्ने हुन्छ । जुन वेलासम्म पार्टीले आवश्यकता महसुस गर्छ, त्यही वेलासम्म नेतृत्वमा बस्नुपर्ने हुन्छ । यो कुनै पदको लोभले होइन । किनभने, गुटबन्दी गरेर, आफैं रहर गरेर, विभिन्न तिगडम गरेर आउनेचाहिँ पद लोलुपता हो । मैले त ‘अब बस्दिनँ’ भन्दाभन्दै पनि साथीहरूले ‘पार्टीको आवश्कता हो’ भनेर कर गर्छन्, त्यसैले बसेको हुँ । त्यसकारण ‘पदको लोभी छ,’ ‘नेतृत्व छाड्नै चाहँदैन’ भन्ने आरोप निराधार छ ।

नेतृत्व चयन गर्ने पार्टीको एउटा प्रक्रिया हुन्छ । त्यो प्रक्रियाअनुसार केन्द्रीय सदस्य, पोलिटब्युरो र अरू नेतृत्व छानिन्छन् । र, पार्टीको आवश्यकता र कार्यकर्ताको आग्रहअनुसार कोही अलि लामो समय नेतृत्वमा बस्न सक्छन् कोही छोटो समय मात्रै बस्लान् ।

अभियोग २ : जिन्दगीभर कार्यकर्तालाई कम्युनिस्ट आचरण, मर्यादा र अनुशासनको पाठ पढाउनुभयो । तर, जीवनको उत्तरार्धतिर लाग्दा तपाईं आफैँमा ‘सांस्कृतिक विचलन’ देखियो । छोरी उमेरकी आफ्नै कार्यकर्ता दुर्गा पौडेलसँग प्रेम विवाह गरेपछि पार्टीबाट कारबाही भोग्नुपर्‍यो । तपाईंहरूले नै भन्ने गरेको ‘बुर्जुवा शैली’मा केक काटेर बुढेसकालमा जन्मदिन मनाउनुभयो ।

अहिलेको बुर्जुवा कानुनले कुन उमेर कटेपछि बिहे गर्ने भनेर तोकिदिएको छैन । जस्तो, २० वर्ष पुगेपछि  बिहे गर्ने भन्यो । तर, २० वर्ष काटेपछि कुन उमेरमा बिहे गर्ने भन्ने कुरा न मार्क्सवादी–लेलिनवादी नियममा छ, न अहिलेको कानुनले केही भनेको छ । त्यसकारण व्यक्तिले आफ्नो आवश्यकताअनुसार प्रेम सम्बन्ध राख्न सक्छ, बिहे गर्न सक्छ । पहिलो पत्नीसँग मेरो सम्बन्धविच्छेद भयो, त्यसपछि म १४ वर्षसम्म बिहे नगरी बसेको थिएँ । त्यसपछि हामीले बिहे गरेका हौँ ।

हाम्रो विवाहबारे पार्टीमा केही मतभेद आए । बिहे गर्नु गलत थियो भन्ने कुरा पार्टीले निर्णय पनि गर्‍यो । त्यसपछि मैले महामन्त्री पदबाट राजीनामा गरेको हुँ । पछि त्यो विवाह गर्नु गलत थिएन भन्ने निर्णय पनि पार्टीले गर्‍यो । मार्क्सवादी–लेलिनवादी सिद्धान्त, अहिलेको अनुशासन र अन्तर्राष्ट्रिय प्रचलनहरूअनुसार कुन उमेरमा बिहे गर्ने भन्ने कुरा सम्बन्धित व्यक्तिको इच्छा र मन्जुरीमा भर पर्छ । त्यसैले, हामीले गलत गरेका थिएनौँ, पार्टीले पनि पछि त्यसलाई गलत मानेन ।

त्यसअघि पनि विवाहका यस्ता विषयमा हाम्रो पार्टीले कसैलाई कारबाही गरेको छैन । पार्टीको एउटा अनुशासन हुन्छ, आचारसंहिता हुन्छ । जब त्यसलाई कुनै नेता वा कार्यकर्ताले उल्लंघन गर्छ, त्यसपछि हामीले कारबाही गर्छौँ । विवाह गरेकै आधारमा हाम्रो पार्टीले कसैलाई कारबाही गरेको छैन । मार्क्सवादी सिद्धान्तले त्यस्तो प्रकारको विवाहलाई गलत मान्दैन ।

अर्को, जन्मदिनमा केक काटेको कुरा । लामो समयसम्म मैले जन्मदिन नै मनाइनँ, मनाउने गरेको पनि थिइनँ । आफ्ना इष्टमित्र, परिवारका सदस्यहरूले ‘जन्मदिन मनाऊँ’ भन्दा त्यो गलत हुँदैन । मार्क्सवाद–लेलिनवादको सिद्धान्त र अन्तर्राष्ट्रिय कम्युनिस्टहरूको प्रचलनलाई हेर्ने हो भने पनि जन्मदिन मनाउनु सामान्य कुरा हो । हामीले त्यसलाई गलत मान्दैनौँ । हामी पुरानो पुस्ताका मान्छेहरूमा जन्मदिन मनाउने चलन नै थिएन । मैले पनि मनाउँदिनथेँ । यो त नयाँ आएको चलन हो । परिवारका सदस्य वा आफन्तजनले समयअनुसार ‘हामी पनि मनाऔँ’ भनेपछि ‘नाई’ भन्ने कुरा भएन । त्यसकारण जन्मदिन मनायो भनेर आलोचना गर्नु अनावश्यक प्रचार मात्रै हो । अहिलेसम्म जन्मदिन किन मनाएन भन्ने प्रश्न पनि अनावश्यक मात्रै हो ।

अभियोग ३ : फुटपरस्त हुनुहुन्छ । कम्युनिस्ट पार्टीका कतिपय फुट तपाईं केन्द्रमै रहेर पनि भए । तपाईंले नेतृत्व गरेको मसाल त हरेक दुई÷तीन वर्षमा फुटेकै हुन्छ । तर, तपाईंलाई कम्युनिस्ट पार्टी विभाजित भएको चिन्ताभन्दा सानै समूहको पनि नेता बनेर बस्न पाएकामा आनन्द लाग्छ । 

ममाथि लगाइएको यो आरोप जायज छैन । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन हेर्ने हो भने कम्युनिस्ट पार्टीमा कैयौँ मदभेदहरू हुन्छन्, मतभेदको सिलसिलामा कैयौँपटक कारबाही पनि हुन्छन् । त्यहाँ फुट पनि भएका हुन्छन् । कम्युनिस्ट पार्टीको सिद्धान्त के हो भने, द्वन्द्व हुन्छ । द्वन्द्वात्मक भौतिकवाद हामी मान्छौँ । द्वन्द्वको बीचबाटै पार्टीको विकास हुन्छ भन्ने हाम्रो सिद्धान्त हो । त्यो सँगसँगै कतिपय गलत विचारहरू आउँछन्, त्यस्तो वेला पार्टीभित्र मतभेद हुन्छ । जस्तो कि रायमाझीहरूले (केशरजंग) राजाहरूकै लाइन लिए । उनका विरुद्ध हामीले प्रतिरोध गर्नुपरेको थियो ।

रायमाझीलगायत अरू साथीहरूसँग पनि कैयौँपटक मतभेदहरू भएका छन् । रायमाझीहरूको पञ्चायती व्यवस्थाको चुनावमा भाग लिनुपर्छ भन्ने विचार थियो । हामीले चाहिँ त्यो बहिष्कार गर्नुपर्छ भन्यौँ । यस्ता वैचारिक मतभेदकै कारण पार्टीमा फुट पनि हुन्छन् । जस्तो, माओवादीसँग सशस्त्र संघर्षको विषयमा हाम्रो ठूलो मतभेद भयो । विभिन्न प्रसंगमा विभिन्न व्यक्तिका आ–आफ्ना विषय, काम र पृष्ठभूमि छन् । ती सबै कुरालाई नहेरीकन सरसर्ती बाहिरी रूपमा मतभेद र फुटको कुरा मात्रै गर्दाखेरि गलत विचारहरू पैदा हुन्छन् । त्यसकारण प्रत्येक फुटको पछाडिको मतभेद के हो ? सैद्धान्तिक र वैचारिक कारण के हो त्यसलाई हेर्नुपर्छ । लेनिनको समयमा पनि धेरैपटक पार्टी फुटेको छ । स्टालिनको समयमा कैयाैं मतभेद देखिएका छन्, कारबाही भएका छन् । माओको समयमा ११ वर्ष त्यस्तै भएको छ । यो सबै चीजलाई अध्ययन गरेर मात्रै धारणा बनाउनुपर्छ ।

हाम्रो पार्टीभित्र विचारको संघर्ष चल्यो पहिलोपल्ट । रायमाझीसँग हाम्रो कडा संघर्ष चल्यो । हामीले विद्रोह नगरेको हाम्रो पूरै पार्टी रायमाझी पथमा जान्थ्यो । पुष्पलालसँग पनि हाम्रो विचारमा फरक पर्‍यो । त्यहाँ संघर्ष गर्नुपर्ने स्थिति बन्यो । त्यस्तै, माओवादीको सशस्त्र संघर्षको हामीले विरोध गर्‍यौँ । त्यसमा हाम्रो सैद्धान्तिक संघर्ष नै चल्यो ।
पार्टीलाई सही क्रान्तिकारी रूपमा राख्नका लागि त्यसरी आउने गलत विचारविरुद्ध संघर्ष गर्नु उपयुक्त हुन्छ । संघर्ष भएन भने पार्टीको विनाश हुने सम्भावना हुन्छ, नष्ट हुने सम्भावना हुन्छ । यसकारण सैद्धान्तिक र राजनीतिक आवश्यकताअनुसार संघर्ष गर्नुपर्ने हुन्छ । संघर्ष गर्दा सबैपटक पार्टीमा फुट हुन्छ भन्ने होइन । जतिपटक फुट भएको छ, त्योभन्दा धेरैपटक संघर्षहरू चलेका छन् ।

अभियोग ४ : आलोचना र भिन्न मत सुन्नै सक्नुहुन्न । पार्टीभित्र पनि भिन्न मतको बहसलाई स्थान दिनुहुन्न । कसैले भिन्न मत राखे कारबाही गरेर किनारा लगाउनुहुन्छ । यसपटक पनि केही नेताहरूलाई कारबाही गरेर महाधिवेशन गर्नुभयो र महामन्त्री बन्नुभयो । 

यो गलत आरोप हो । किनभने मतभेद अथवा विरोधहरूलाई सबैभन्दा बढी जनवादी तरिकाले हाम्रो पार्टीले छलफल÷सम्बोधन गरेको छ । कैयौँ मान्छेहरूसँग मतभेद हुँदा छलफल गरौँ भनेर सँगै बसेका छौँ । अहिले महाधिवेशनको समयमा पनि हामीबीच अल्पमत र बहुमतको कुरा आयो, त्यसमा तल्ला कमिटीसम्म छलफल चल्यो । पार्टीका विभिन्न फोरम र महाधिवेशनमा छलफल भयो । त्यसमा पनि मतभेदहरू आए । यसले पनि हाम्रो पार्टीमा अत्यन्त सहिष्णुतापूर्वक मतभेदहरूमा पनि बहस चलाउने नियम छ भन्ने प्रस्ट पार्छ । अहिले जो साथीहरूलाई कारबाही गरिएको छ, उहाँहरूलाई विचारको भिन्नताका कारण कारबाही गरिएको होइन । लामो समयदेखि मतभेद रहेका साथीहरू पनि हामी पार्टीमा सँगै छौँ । मतभेद र भिन्न मत राखेकै आधारमा कुनै साथीहरूलाई अहिलेसम्म हटाएका छैनौँ । कसैले पार्टीको अनुशासन उल्लंघन गरेको छ भने उसलाई पार्टीको विधानअनुसार कारबाही गरिएको हो । महाधिवेशनलाई लक्षित गरेर वा महाधिवेशनमा बहुमत पुर्‍याउन हामीले कसैलाई कारबाही गरेका छैनौँ । पार्टीको आन्तरिक मामिलाबारे जसलाई जानकारी छैन उनीहरूले, गलत सूचनाहरू प्रवाह गरिरहेका छन् ।

अहिले नेकपाले जुन प्रकारको नीति अपनाइरहेको छ, त्यसलाई हेरेर हामीले त्यो कम्युनिस्ट होइन भनेका छौँ । ऊ नेतृत्वको सरकारबारे हाम्रो स्पष्ट धारणा छ । नेकपा कम्युनिस्ट पार्टी होइन, उसको चरित्र दक्षिणपन्थी संशोधनवादी छ । ऊ नेतृत्वको सरकार कम्युनिस्ट होइन, ढुलमुले र अवसरवादी हो । यसले अपनाएको नीतिको हामी विरोध गर्छौँ ।

अभियोग ५ : जीवनभर त्यागको राजनीति गर्नुभयो । तर, उमेर ढल्दै जाँदा तपाईंमा परिवाद हाबी भयो । पत्नी दुर्गालाई सांसद बनाउनुभयो, मन्त्री बनाउन शक्तिकेन्द्रहरूसँगको संवादमा रहेको आरोप तपाईंमाथि लाग्यो । छोरा समिरलाई प्रगतिशील लेखक संघको महासचिव नै बनाउनुभयो । 

परिवारका मान्छेहरूको विषयमा हामीले विचार गर्नुपर्छ । एकथरि साथीहरूको धारणा के छ भने आफू पार्टीमा काम गर्ने, परिवारका मान्छेहरू कसैलाई पनि पार्टीमा काम नगराउने । विभिन्न व्यवसाय, पेसा, गृहस्थीमा लगाउने । त्यो दृष्टिकोण सही हो कि आफ्ना परिवारका सदस्यलाई पार्टीको आन्दोलनका कामहरूमा लगाउने सही हो, पहिले यसमा स्पष्ट हुनुपर्‍यो । पार्टीको काममा अरू मान्छेहरूलाई मात्र लगाउने, आफ्ना मान्छे कसैलाई नलगाउने ? परिवारका मान्छेलाई गृहस्थी गर, पेसा गर, पैसा कमाऊ भन्ने ? यो सोचाइलाई हामी सही मान्दैनौँ । परिवारका व्यक्तिहरूलाई पार्टीमा आउन दिनुहुन्न, काम गरे पनि उसलाई पदमा राख्नुहुन्न भन्ने त संसारमा कहीँ पनि नियम छैन । कम्युनिस्ट पार्टीमा पनि त्यस्तो नियम छैन । लेनिनकी पत्नी क्रुप्स्कायाले पार्टीमा काम गरिन् । उनी कैयौँ पदहरूमा पुगिन् । लेनिनकी पत्नी भएकाले मात्र होइन, उनको स्वयम् आफ्नो पृष्ठभूमि थियो । माओले पत्नी चियाङ चीनले पार्टीमा काम गरिन्, उनी पनि माथिल्ला पदमा पुगिन् । उनको पनि आफ्नै पृष्ठभूमि थियो ।

हामीकहाँ पनि पत्नी, छोरा जुन पदमा पुगेका छन् । त्यो नेतासँगको सम्बन्धले होइन, पार्टीमा, संगठनमा उनीहरूको आफ्नै योगदान छ । दशकौँदेखिको पृष्ठभूमि छ । दुर्गा ३५ वर्षदेखि लगातार पार्टीमा सक्रिय छिन् । सांसद त भर्खर भएकी हुन् । त्यसकारण पार्टीले उनलाई कुनै कमिटीमा राख्छ या कुनै पदमा राख्छ भने त्यो पार्टीले निर्णय गर्ने कुरा हो । चित्रबहादुर केसीजी नातामा मेरो ससुरा पर्नुहुन्छ । कतिपय मेरा मामा पर्ने हुनुहुन्छ, ज्वाइँ पर्ने छन् । अरू नाताका पनि छन् । अरू साथीहरूका पनि यस्तै छन् । के हामीले नाता पर्ने कसैलाई पनि पदमा नलैजाने ? यस्तो नियम त संसारमा पनि छैन, पार्टीमा पनि छैन । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि छैन । यस्तो सोचाइ नै गलत हो । व्यक्तिगत नाता परेको कारणले मात्र कसैलाई पदमा लगिन्छ भने त्यो परिवारवाद हो, नातावाद हो ।

अर्को, मैले पत्नीलाई मन्त्री बनाउन भारतीय राजदूतसँग गोप्य छलफल गरेँ भनेर समाचार आयो । त्यसका विरुद्ध दुर्गाले प्रेस काउन्सिलमा उजुरी दिएकी छिन् । खासमा हामी विवाहको एउटा निम्तो मान्न गएका थियौँ, त्यहाँ भारतीय राजदूत पनि आएका थिए । हामीबीच देखादेख भएको हो । कसैले मेरो उनीसित परिचय पनि गराएन, मेरो उनीसँग कुरा पनि भएन  । जाने वेलामा हामी एकअर्काका अगाडि पर्‍यौँ र गयौँ । त्यसैलाई हामीले दुई घन्टासम्म गोप्य वार्ता गरेको र मैले दुर्गालाई मन्त्री बनाउन प्रस्ताव गरेको भनेर समाचार आयो । भाइरल नै बन्यो त्यो । यो व्यक्तिगत चरित्र हत्याको राजनीति हो, पत्रकारितामा त्यो देखा पर्‍यो । त्यस्तै, केपी शर्मा ओलीलाई भेटेर कैयौँपटक मन्त्री बनाउन कोसिस गरेँ भनेर पनि लेखेको छ । जब कि ओली प्रधानमन्त्री भएदेखि एकपल्ट पनि भेट भएको छैन, फोनमा कुराकानी पनि भएको छैन । यस्ता वाहियात समाचार आए ।

दशकौँअघि आरती भन्ने साप्ताहिकले मैले दलाई लामासँग पैसा खाएर चीनको विरोध गरिराख्या छु भन्ने समाचार लेखेको थियो । हामीले चीन संसद्वादी भयो भनेर उसको विरोध गर्‍यौँ । त्यो विरोधलाई दलाई लामासँग पैसा खाएर गरेको आरोप लगाए । जब राजाले गरेको पूर्व–पश्चिम राजमार्गलाई हामीले समर्थन गर्‍यौँ, कोदारी राजमार्गको समर्थन गर्‍यौँ, कांग्रेसहरूले यो राजावादी भयो भनेर मेराविरुद्ध प्रचार गरे । जब हामीले व्यवस्थाको विरोध गर्‍यौँ, यो अराष्ट्रिय तत्व हो, त्यसैले विरोध गर्‍यो भने । यसप्रकारका पर्चाहरूको लामो सूची छ मसँग ।

अभियोग ६ : ढोंगी हुनुहुन्छ । पञ्चायतमा मात्रै होइन, देशमा प्रजातन्त्र आइसकेपछि पनि तपाईं अर्धभूमिगत बस्नुभएको छ । शान्तिपूर्ण राजनीति गरिरहेको तपाईं र तपाईंको पार्टीले किन भूमिगत हुनुपरेको हो भन्ने कुरा जनताले अहिलेसम्म बुझेका छैनन् । बरु, बाटोमा तपाईंलाई देख्ने मान्छेहरू ‘भूमिगत नेता आउनुभयो, उहाँलाई नहेरौँं, उर्ता फर्कौं’ भनेर ठट्टा गर्छन् ।

यससम्बन्धी पार्टीका नीतिहरू नबुझ्दा कहीँ भ्रमहरू पैदा हुने गरेका छन् । जस्तो माओवादीले भूमिगत भएर काम गरे, सशस्त्र संघर्षपछि शान्तिपूर्ण राजनीतिमा आए, अब संसदीय चुनाव नै उनीहरूको राजनीतिको मुख्य लक्ष्य हो । त्यसमा पूरै लागेका छन्, भूमिगत हुनुपर्ने जरुरी भएन । हामीले भने यो संसदीय प्रणालीलाई खाली उपयोग मात्र गरिरहेका छौँ । हाम्रो मूल नीति भनेकै अहिलेको व्यवस्थामा आमूल परिवर्तन हो । त्यसका लागि संसदीय प्रणालीमा पूरै सामेल भयौँ भने हामी त्यसमै डुब्छौँ, संसदीय पार्टी बन्छ । त्यसकारण हामीले एउटा त संसदीय खुला राजनीतिमा काम अगाडि बढाएका छौँ । वैधानिक एउटा पार्टी बनाएका छौँ । अर्कोतिर संगठनको मूल स्वामित्वलाई हामीले अर्धभूमिगत राखेका छौँ । म अर्धभूमिगत भएको मात्र होइन, हाम्रो सम्पूर्ण संगठनको संरचना भूमिगत छ । कुन जिल्लामा को सक्रिय छ, को सदस्य छ केही थाहा हुँदैन । खाली हाम्रा केन्द्रीयस्तरका, प्रदेशस्तरका, जिल्लास्तरका प्रवक्ताहरू मात्र सार्वजनिक हुन्छन् ।

अहिलेको संसदीय व्यवस्थामा काम गर्नु मात्र हाम्रो मुख्य पक्ष होइन । यसलाई बदल्ने, क्रान्तिमा जाने, समाजवादमा जाने, साम्यवादमा जाने दीर्घकालीन कार्यनीति लिएर हामीले काम गरिरहेका छौँ । यो व्यवस्थालाई हामीले खुला रूपमा उपयोग गरे पनि मूल रूपमा हाम्रो पार्टी भूमिगत छ । पार्टीका आमसदस्यहरू भूमिगत छन् । उनीहरू पार्टी सर्कलभन्दा बाहिर आउँदैनन् । या त उनीहरूको मृत्यु भएपछि पार्टीले नाम बाहिर ल्याउँछ, या पूरै निष्काशित गर्‍यो भने आउन सक्छ । अरू अवस्थामा हामीले कसैको नाम बाहिर ल्याउँदैनौँ । तर, प्रवक्ताहरू खुला रूपमा सभा, मिटिङ सबैतिर जान्छन् । महामन्त्रीको विचारचाहिँ बाहिर जान्छ, नाम बाहिर जान्छ, पद बाहिर जान्छ, तर सार्वजनिक रूपमा बाहिर जाँदैनौँ । अहिले वारेन्ट छैन, त्यसैले हामीले पूरै भूमिगत पनि हुनुपरेको छैन । वारेन्ट भएका वेला हामी पूरै भूमिगत हुन्छौँ । साथसाथै संगठनको मूल संरचनालाई हामीले भूमिगत राख्ने प्रयत्न गरेका छौँ । यही स्थिति भएर हामी अर्धभूमिगत भएका हौँ । हाम्रो पार्टीको यो नीति नबुझेर नै साथीहरूले त्यस्तो भनेका हुन सक्छन् । उनीहरूले यो कुरा बुझ्न पनि सक्दैनन् ।

हामीले सुरुमा पुष्पलाललाई गद्दार हुन् भन्ने निर्णय गर्‍यौँ । केही वर्षपछि ‘पुष्पलाललाई गद्दार भन्नु गलत रहेछ’ भन्ने निर्णय गर्‍यौँ । मैले सुरुमा निकालेको ‘गद्दार पुष्पलाल’ भन्ने पुस्तकको शीर्षक नै परिवर्तन गरेँ । अनि ‘क्रान्तिमा भ्रान्ति’ भनेर प्रकाशन गरेँ । यसले के प्रस्ट पार्छ भने हामी कहिले पनि जिद्दी गर्दैनौँ । हामी त्रुटि भएका चिजहरूलाई सच्याउने, त्यसमा सही दिशा खोज्ने प्रयत्न गर्छौँ । तत्कालीन माले (पछि एमाले)का दस्ताबेजहरूले पुष्पलाल, मनमोहन अधिकारी, मसहित सबैलाई गद्दार भनेका छन् । हामीले त एकाधपटक भनेर पछि सच्यायौँ, उनीहरूले त सयौँपटक भनेका छन् ।

अभियोग ७ : पार्टीलाई समयानुकुल चलाउने नेतृत्व क्षमता पनि तपाईमा छैन् । करिब ६ दशकदेखि कम्युनिष्ट आन्दोलनमा हुनुहुन्छ । पार्टीको नेतृत्व नै ४५ बर्ष गर्नुभयो । तर, पार्टी र तपाईको जति पाको हुँदै हुनुहन्छ, पार्टीको आकार भने झन सानो हुँदैछ ।

संसारमा कैयौँ ठूला पार्टीहरू समाप्त भएर पनि गएका छन् । रुसमा लेनिन, स्टालिनले नेतृत्व गरेको पार्टी त विघटन भएर गयो । संसारभरका धेरै कम्युनिस्ट पार्टीहरू समाप्त भएर गए । त्यस्तै, दक्षिण पूर्वी एसियाका कैयौँ पार्टीहरू समाप्त भएर गए । नेपालमै कतिपय पार्टीहरूको विघटन भयो । विश्वभर कम्युनिस्ट पार्टीहरू अहिले रक्षात्मक अवस्थामा छन् । कमजोर अवस्थामा छन् । चौथो महाधिवेशनको समयमा हाम्रो पार्टी देशको सबैभन्दा शक्तिशाली कम्युनिस्ट पार्टी थियो । अहिले हामी धेरै कमजोर भएर गएका छौँ । विश्व कम्युनिस्ट आन्दोलनमा जुन उभार थियो, त्यसको असर नेपालमा पनि परेको थियो । त्यसकारण हाम्रो पार्टी धेरै शक्तिशाली भएको थियो । विश्वमा कम्युनिस्ट पूरै सुक्दै गएको छ, समाजवादी व्यवस्थामा पनि खत्तम भएर गयो । तर, पछिल्लो अवस्थामा विश्व कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गयो, धेरै पार्टीहरू समाप्त भएर गए । यस्तो अवस्थामा पनि हामीले आफ्नो अस्तित्व बचाउन सफल भएका छौँ । हाम्रो पार्टी अस्तित्वमा त छ नि सानो भए पनि ।

एमालेहरू या माओवादीहरू कम्युनिस्ट सिद्धान्तबाट विचलित भए, त्यस्तो नीति हामीले अपनाएको भए सायद हामीहरू पनि उनीहरूजस्तै शक्तिशाली हुन्थ्यौँ होला । तर, हामीले आफ्नो सिद्धान्त, संगठन, कार्य प्रणाली कायम राखेका छौँ । यद्यपि, पहिलेका तुलनामा हामीहरू धेरै कमजोर भएका छौँ ।

अभियोग ८ : जड्सूत्रवादी हुनुहुन्छ । पुरातन ढंगले चल्नुहुन्छ । नेतृत्व विकासमा लाग्नुको सट्टा पार्टीभित्र परिवर्तनको आवाज उठाउने युवाहरूलाई किनारा लगाउनुहुन्छ । नवराज सुवेदी, परी थापालगायतका युवाहरूलाई पार्टीबाटै लखेट्नुभयो । 

युवाहरूलाई स्थान नदिने भए त हाम्रो पार्टीका सबै साथीहरू ७०/८० वर्ष माथिका हुनुपथ्र्यो । म र चित्रबहादुर केसीजी त छौँ पाका । हाम्रा धेरै कमिटीमा हेर्‍यौँ भने प्रायःजसो जवान साथीहरू छन् । अर्को लामो उमेरसम्म नेतृत्वमा रहनु नराम्रो होइन । माओले ८५ वर्षको उमेरसम्म कम्युनिस्ट आन्दोलनको नेतृत्व गरिराखे नि । लेनिनको त छिट्टै मृत्यु भयो । स्टालिनले लामो समयसम्म नेतृत्व गरिराखे । व्यक्तिमा इच्छाशक्ति छ र त्यसमाथि साथीहरूले विश्वास गर्छन् भने त्यस्ता धेरै उदाहरणहरू मैले देखेको छु । हाम्रो पार्टीमा माथिल्लो तहदेखि तल्लो तहसम्म थुप्रै युवक साथीहरू हुनुहुन्छ । दुई/चारजना हामी बुढा भयौँ । सम्पूर्ण पार्टी बुढाले मात्र त चल्दैन, नयाँ युवकहरू छन् । फेरि युवक हुँदैमा कोही पनि नेतृत्वका लागि उपयुक्त हुन्छन् भन्ने होइन । मार्क्सवादी दृष्टिकोणप्रति आस्था पनि हुनुपर्‍यो, अनुशासनमा बस्नुपर्‍यो । यहाँ कतिपय युवकहरूमा महत्वाकांक्षा बढी, पदको आकर्षण बढी देखियो । वैचारिक, अनुशासित, दृष्टिकोण भएका युवक नेतृत्वका लागि उपयुक्त हुन्छन् । त्यस्ता, युवक हाम्रो पार्टीमा थुप्रै छन्, विभिन्न तहमा काम गरिरहेका छन् । यदि, ठूलो संख्यामा युवा साथीहरूको जमात नहुँदो हो त हाम्रो पार्टीको अस्तित्व पनि रहने थिएन ।

अभियोग ९ : हठी हुनुहुन्छ । आफ्नो कुरा गलत र असान्दर्भिक भए पनि त्यसकै पछि लागिरहनुहुन्छ । कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलाई पुस्तक लेखेरै ‘गद्दार’ करार गर्नुभयो । तर, कालान्तरमा पुष्पलालकै नीति सही देखिए पनि औपचारिक रूपमा तपाईंले अहिलेसम्म आफ्नो गल्ती सच्याउनुभएन । 

चीजहरूलाई राम्ररी नबुझ्दा, गलत प्रकारका जानकारी राख्दा यस प्रकारका भ्रमहरू पैदा हुन्छन् । हामीले सुरुमा पुष्पलाललाई गद्दार हुन् भन्ने निर्णय गर्‍यौँ । समयक्रममा केही वर्षपछि ‘पुष्पलाललाई गद्दार भन्नु गलत रहेछ’ भन्ने निर्णय गर्‍यौँ । त्यसकारण मैले सुरुमा निकालेको ‘गद्दार पुष्पलाल’ भन्ने पुस्तकको शीर्षक नै परिवर्तन गरेर ‘क्रान्तिमा भ्रान्ति’ भनेर प्रकाशन गरेँ । यसले के प्रस्ट पार्छ भने हामी कहिले पनि जिद्दी गर्दैनौँ । त्रुटि भएका चिजहरूलाई सच्याउने, त्यसमा सही दिशा खोज्ने प्रयत्न गर्छौँ ।

हामीले त्यतिखेर पुष्पलाललाई गद्दार भन्नुको एउटा कारण छ । ०२६ सालमा हामी भद्रगोल जेलमा हुँदाखेरि पार्टीको सम्पूर्ण विश्लेषण गरेका थियौँ, दस्ताबेजहरू तयार पारेका थियौँ । पूरै पार्टीको निष्कर्ष पार्टी  नयाँ जनवादी क्रान्तिको मित्रशक्ति हो, जनताको शक्ति हो भन्ने निष्कर्ष थियो । त्यसका आधारमा हाम्रो विश्लेषणले नेपाली कांग्रेस  र राजा जस्तै सामन्तवादी र दलाल, पुँजीवादीहरूको पार्टी हो भन्ने निष्कर्ष निकाल्यो । त्यसका प्रतिनिधिहरू दुष्मन शक्ति हुन् भनेर विश्लेषण गर्‍यौँ । कांग्रेसबारे हामीले त्यतिवेला गरेको विश्लेषण पछि पुष्पलाल धारबाहेकका सबै वामपन्थीहरूले अपनाए । तर, पुष्पलालजीमा त्यतिवेलैदेखि त्यो जनवादी क्रान्तिको मित्रशक्ति हो भन्ने धारणा थियो । दुष्मन शक्तिलाई मित्रशक्ति मान्यो भनेर हामीले पुष्पलाललाई गद्दार भनेर व्याख्या गरेका हौँ । यो विषयमा मैले आफ्ना धेरै लेखहरूबाट प्रस्ट गरिसकेको छु ।

तत्कालीन माले (पछि एमाले)का दस्ताबेजहरूले पुष्पलाल, मनमोहन अधिकारी, मसहित हामी सबैलाई गद्दार भनेका छन् । हामीले त एकपटक भनेर पछि सच्यायौँ, उनीहरूले त सयौँपटक भनेका छन् । त्यसको कसैले चर्चा गर्दैन । जब कि, पुष्पलालको विचार संसद्वादी नै रह्यो । सोचाइ कांग्रेसपरस्थ नै रह्यो । उहाँलाई दक्षिणपन्थी भने पनि, संशोधनवादी भने पनि, मध्यपन्थी भने पनि उहाँलाई गद्दार भन्नु गलत हो भनेर हाम्रो पार्टीले पछि विश्लेषण गर्‍यो, निर्णय गर्‍यो । त्यसपछि पार्टी सम्मेलनमा गयो, त्यसमा मैले किताबको शीर्षक नै बदलेर ‘क्रान्तिमा भ्रान्ति’ भनेर प्रकाशन गरें । किताबभित्र कहीँ पनि एक शब्द ‘गद्दार’ लेखिएको थिएन । शीर्षकमा मात्रै थियो, त्यो पनि चेन्ज गरियो ।

यस्ता अरू पनि उदाहरण छन् । जस्तो कि पहिला हामीले मनमोहनजीहरू, माओवादीसँग कार्यगत एकता नगर्ने निर्णय गरेका थियौँ, पछि त्यो गर्ने भनेर निर्णय गर्‍यौँ । पहिला हामीले राजा र कांग्रेसलाई समान दुष्मन भनेका थियौँ, पछि राजालाई मुख्य दुष्मन र कांग्रेसलाई दुष्मन शक्ति त हो, तर राजासरह होइन भन्यौँ । ०४६ सालमा हामीले ऊसँग मिलेर संघर्ष गर्‍यौँ, ०६२/६३ मा गर्‍यौँ । यसले के देखाउँछ भने हामीले आफ्ना निर्णयहरूमा कैयौँपटक पुनर्विचार गरेका छौँ । भएका गल्तीहरूलाई महसुस गरेर सच्याएका छौँ । यी सबै कुराहरू थाहा नपाएका मान्छेहरू गलत भ्रम राख्छन् ।

अभियोग १० : अवसर पाउँदा आफ्ना मान्यताहरूमा पनि सम्झौता गर्नुहुन्छ । जिन्दगीभर संघीयताको विरोध गरिरहनुभयो । तर, संघीयताका विरोधी दलहरूसँगै मिलेर पार्टीलाई सरकारमा पठाउनुभयो । 

मार्क्सवादी, लेनिनवादी सिद्धान्तलाई सही तरिकाले नबुझ्दा यस्ता भ्रमहरू पैदा हुन्छन् । हाम्रो पार्टीमा सिद्धान्त हुन्छ, रणनीति हुन्छ, कार्यनीति हुन्छ । रणनीति भनेको लामो समयसम्म अपनाइने एउटा नीति हो । कार्यनीति भनेको तत्कालीन नीतिअनुसार अपनाइने नीति हो । संघर्ष अनिवार्य छ भनेर हामीले भन्छौँ, शान्तिपूर्ण तरिकाबाट गर्नुपर्छ पनि भन्छौँ । तर, तत्काल त्यो सम्भव छैन । हामी संघीयताको विरोध गर्छौँ, तर संघीयताको मुख्य पक्ष प्रादेशिक संरचना हो भन्छौँ । प्रादेशिक संरचनाहरूमा पनि हामीले साथीहरूलाई पठाएका छौँ । गाउँपालिकाहरूमा हाम्रा साथीहरू पठाएका छौँ । यसलाई कतिले विरोधाभाष ठान्छन् । वैचारिक असन्तुलन भयो भन्छन् ।

एमालेहरू वा माओवादीहरू कम्युनिस्ट सिद्धान्तबाट विचलित भए, उनीहरूकै जस्तो नीति हामीले अपनाएको भए सायद हामीहरू पनि उनीहरूजस्तै शक्तिशाली हुन्थ्यौँ होला । तर, हामीले आफ्नो सिद्धान्त, संगठन, कार्य प्रणाली कायम राखेका छौँ । यद्यपि, पहिलेका तुलनामा हामीहरू धेरै कमजोर भएका छौँ ।

हामी सरकारमा जाने वेला भारतले नाकाबन्दी लगाएको थियो । सरकारमा गएर देशभित्रको आन्दोलनलाई मजबुत पार्ने निर्णय गर्‍यौँ । अर्काेतिर, स्थानीय चुनावका वेला कांग्रेससँग हामीले कार्यगत एकता गर्‍यौँ, सहकार्य गर्‍यौँ । तर, प्रतिनिधिसभाको चुनावमा फेरि हामीले विरोध गर्‍यौँ, उनीहरूलाई हराउने कुरामा जोड दियौँ । किनभने, कांग्रेसको नेतृत्वमा राजावादीहरू, मधेसवादीहरू मिलेका थिए, तिनीहरूको विरुद्धमा संघर्ष गर्ने नीति अपनायौँ । गणतन्त्रको प्रश्नमा, धर्मनिरपेक्षताको प्रश्नमा नेकपाले प्रस्ट नीति अपनाएको थियो । हामीले सोचेका थियौँ, कांग्रेसको जित हुनुको अर्थ राष्ट्रियतामा खतरा पैदा हुन्छ, गणतन्त्रमा खतरा पैदा हुन्छ, धर्मनिरपेक्षतामा खतरा पैदा हुन्छ । कांग्रेसभित्र ठूलो तप्काको जोड धर्मनिरपेक्षताको विरुद्ध, हिन्दूराष्ट्र बनाउनेमा थियो । राप्रपाले त त्यो कुरामा जोड दिएकै थियो । मधेसवादी दलहरूले मधेस टुक्र्याउने कुरामा जोड दिएका थिए । त्यसकारण एमाले र माओवादीको गठबन्धनलाई जिताउनुपर्छ भन्नेमा हामीले जोड दियौँ । यसबाट के स्पष्ट हुन्छ भने हामीले सधैँ एकै प्रकारको नीति अपनाउँदैनौँ । रणनीतिक रूपमा हाम्रो एकै प्रकारको नीति हुन्छ, तर तात्कालिक रूपमा प्रस्तुतिमा हुने परिवर्तनअनुसार हामीले नीति अपनाएका हुन्छौँ । पार्टीकोे अहिले पनि मूल रूपमा विरोधको नीति छ । संघीयताको विरोध गरेका छौँ । संघीयता भएकै कारणले सम्पूर्ण संविधानलाई विरोध गर्‍यौँ भने गणतन्त्रको पनि विरोध हुन्छ, धर्मनिरपेक्षताको पनि विरोध हुन्छ । त्यसकारण त्यो गलत हुन्छ ।

अभियोग ११ : तपाईंमा कम्युनिस्ट दर्शनसँगै असीमित कुण्ठा पनि छन् । स्वच्छ प्रतिस्पर्धामा कमजोर देखिएपछि सहकर्मी र सहयात्री कम्युनिस्ट दलहरूमाथि आक्षेप थोपर्नुहुन्छ । पुष्पलाललाई गद्दार भन्नुभयो । तत्कालीन माले र माओवादीमा उग्रवामपन्थ देख्नुभयो । अहिलेको नेकपालाई त कम्युनिस्ट नै मान्नुहुन्न ।

त्यसरी भन्ने हो भने त केशरजंग रायमाभीलाई हामीले विरोध गरेको पनि कुण्ठा हो भन्न सकिन्छ । ऊवेला बहुमतमा थिए उनीहरू । हामीले सबैको बीचमा एक्स्ट्राका लागि जोड गर्नुपथ्र्यो भन्न पनि सकिन्छ । तर, त्यसो गरेको भए पार्टी कहाँ पुग्थ्यो ? पूरै राजाको क्याम्पमा जान्थ्यो, आज त्यसको अस्तित्व समाप्त हुन्थ्यो । हामीले जो विभिन्न पक्षको विरोध गर्छौँ, सिद्धान्त, नीति र उनीहरूको चरित्रमाथि निर्भर गर्छौँ । कुनै वेला चीन र रुसका बीचमा मतभेद भयो । रुस संसद्वादी हो, पुँजीवादमा गयो भन्ने आरोप लाग्यो । व्यवहारले त्यो प्रमाणित पनि गर्‍यो । रुसमा समाजवाद खत्तम भयो र कम्युनिस्ट पार्टीको विघटन भयो ।

हामीले तत्कालीन मालेलाई उग्रवामपन्थी भड्काव भयो भनेर विरोध गर्‍यौँ । पछि स्वयम् उसले ‘गल्ती गर्‍यौँ’ भनेर भन्योे । उनीहरूले हामीलाई गद्दार भने । माओवादीहरूले जब सशस्त्र संघर्ष सुरु गरे, हामीले त्यसको पनि विरोध गर्‍यौँ । उनीहरूले पनि हामीलाई गद्दार भने । तर, पछि आएर उनीहरूको त्यो नीति गलत साबित भयो । उनीहरू शान्ति प्रक्रियामा आए । अहिले नेकपाले जुन प्रकारको नीति अपनाइरहेको छ, त्यसलाई हेरेर हामीले त्यो कम्युनिस्ट होइन भनेका छौँ । उ नेतृत्वको सरकारबारे हाम्रो स्पष्ट धारणा छ । नेकपा कम्युनिस्ट पार्टी होइन, उसको चरित्र दक्षिणपन्थी संशोधनवादी छ । उ नेतृत्वको सरकार कम्युनिस्ट होइन, ढुलमुले र अवसरवादी हो । यसले अपनाएको नीतिको हामी विरोध गर्छौ । को कम्युनिस्ट हो र को होइन भन्ने कुरा सिद्धान्तलाई कसले कति अनुसरण गरेको छ, ग्रहण गरेको छ भन्नेमा निर्भर हुन्छ । नेकपाले सिद्धान्तलाई छाड्दै गइरहेको छ, त्यसैले उसलाई कम्युनिस्ट भन्न मिल्दैन । यो हाम्रो कुण्ठा होइन, सिद्धान्त र प्रस्तुतिको ठोस विषयमा आधारित हाम्रा निष्कर्ष हो ।

अभियोग १२ : पार्टीको आर्थिक पक्ष अपारदर्शी छ । पछिल्लो महाधिवेशनमा त आर्थिक प्रतिवेदनसमेत पेस भएन । 

हाम्रो महाधिवेशनमा मात्र होइन, राष्ट्रिय सम्मेलन कहीँ पनि आर्थिक प्रतिवेदन प्रस्तुत हुँदैन । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दा पार्टीका आर्थिक स्रोत के हुन् ? आम्दानीको स्रोत कहाँ कहाँ छ ? कसरी खर्च भएको छ ? कहाँ के भएको छ ? लगायतका सबै गोप्य चीजहरू बाहिर जान्छन् । हाम्रो परम्परा नै त्यो छ । हामीले अहिले मात्र होइन, सुरुदेखि कुनै पनि महाधिवेशनमा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छैनौँ । हामीले अडिट रिपोर्ट तयार पार्छौँ, त्यसको विश्लेषण गर्छौँ । अहिले पनि विस्तृत रूपमा हिसाब राखिन्छ, अडिट गरिन्छ, जिल्लाहरूको अडिट गरिन्छ । त्यसकारण आर्थिक रूपमा अपारदर्शी भन्ने आरोप नै गलत हो । राष्ट्रिय जनमोर्चा र अरू जनवर्गीय संगठनको भने हिसाब प्रस्तुत गरिन्छ, तर पार्टीमा कहिले पनि गरिन्नँ । यसको अर्थ हिसाब राखिन्न भन्ने होइन । म आफू देशभित्र वा बाहिर जाँदा एक–एक पैसाको हिसाब हुन्छ । हाम्रो अर्थ विभाग हुन्छ, त्यहाँ हामीले सबै हिसाब प्रस्तुत गर्छौँ । कति खर्च भयो भनेर एकएक हिसाब दिनुपर्छ । हाम्रो पार्टीका आमकार्यकर्तालाई त्यो थाहा भएको कुरा हो । नयाँपत्रिकाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*