नवनियुक्त पर्यटनमन्त्री भट्टराई भन्छन्–‘मलाई खुसी पार्न आइस्यो र गइस्यो नभन्नू’

वेलकम खबर
साउन १६, २०७६

नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सिंहदरबारभित्र हुने चाकडी संस्कृति नअँगाल्न कर्मचारी र मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन् । पदभार ग्रहण गर्नासाथ मन्त्रीलाई खुसी पार्न पत्रिकामा विज्ञापन छाप्ने र जी–हजुरी गर्ने प्रवृत्तिको भट्टराईले आलोचना गरेका हुन् ।

मन्त्री भट्टराईले आफू बधाईको लालची नभएको भन्दै त्यस्तो चलनलाई निरन्तरता नदिन भनेका हुन् । ‘पत्रिकामा बधाई दिने चलन छ, म सबैलाई आग्रह गर्न चाहन्छु कसैले पनि मलाई पत्रिकामा बधाई विज्ञापन नदिनु होला,’ बुधबार साँझ पदभार ग्रहणपछि बोल्दै भट्टराईले मन्त्रालयमा बोलिने भाषा आइन्दा प्रयोग नगर्न सुझाए, ‘सिंहदरबारमा आइस्योस्, गइस्योस् भन्ने भाषा छ भन्ने सुनेको छु, यसअघि भए पनि अब त्यस्तो भाषा कसैले पनि प्रयोग नगरिदिनु होला ।’

नेकपाका स्थायी समिति सदस्य तथा युवा नेता बुधबारै संस्कृति पयर्टन तथा नागरिक उड्डयन्त्रमन्त्री नियुक्त भएका हुन् । मन्त्री नियुक्त भएसँगै मन्त्री भट्टाराईले नेपाल एयरलाइन्सको साख माथि उठाउने प्रतिबद्धता व्यक्त गरे । ‘अहिले नेपाल एयरलाइन्सप्रति जसरी प्रश्न उठेका छन्, तिनको समाधानका लागि छलफल गर्नेछौँ, उठेका प्रश्न न्यूनीकरण गर्नेछौँ,’ भट्टराईले भने, ‘एकदिन यस्तो बनाउँछौँ, वाह ! नेपाल एयरलाइन्स भन्ने हुन्छ ।’

डेढ वर्षअघि ताप्लेजुङको चुनावी प्रचारमा भट्टराईलाई प्रतिनिधिसभामा जिताए मन्त्री बनाउने घोषणा गरेका प्रधानमन्त्री ओलीले पुरानो प्रतिबद्धता पूरा गर्दै उनलाई मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री भट्टराईले बुधबार पद तथा गोपनीयताको शपथलगत्तै मन्त्रालयको कार्यभार सम्हाले । गत १५ फागुनमा तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङको फुङलिङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्दै आएका थिए ।

३ फागुन ०७४ मा प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै सरकारमा भट्टराईलाई समावेश नगरेको भन्दै प्रधानमन्त्री ओली पार्टीभित्र र बाहिर आलोचित थिए । ढिलै भए पनि पुरानो वाचा पूरा गर्दै प्रधानमन्त्रीले भट्टराईलाई मन्त्री नियुक्त गरेका छन् । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भट्टराई गृहजिल्ला ताप्लेजुङबाट २९ हजार ४ सय ७९ मत प्राप्त गरी पहिलोपटक विजयी भए । त्यसअघि ०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–६ र दोस्रो ०७० को संविधानसभा निर्वाचनमा काठमाडौं–५ मा उम्मेदवार थिए ।

दुवै निर्वाचनमा उनी झिनो मतान्तरमा पराजित भएका थिए । नेकपाभित्र वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिने भट्टराईले सांसदमा निर्वाचित भएपछि संसदीय फाँटको जिम्मेवारीमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका थिए । विश्व वातावरण दिवस २३ जेठमा प्रधानमन्त्रीनिवास बालुवाटारमा ओलीले भट्टराईलाई मन्त्रीका लागि तयार रहन आग्रह गरेका थिए । जवाफमा भट्टराईले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग मन्त्रिपरिषद् पुनर्गठनमा सहमति गर्दा जिम्मेवारी लिन तयार रहेको सन्देश दिएका थिए ।

विद्यार्थी आन्दोलन हुँदै सिंहदरबारसम्म
योगेश भट्टराईको राजनीतिक आरम्भ विद्यार्थी संगठनबाट भएको हो । उनी ताप्लेजुङ साँघु (मैवाखोला गाउँपालिका–३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमा २१ भदौ २०२३ मा जन्मिएका थिए । भट्टराईको परिवार मध्यमवर्गीय थियो । उनका बुबा भीमलाल समाजसेवी थिए । शिक्षाको ज्योति फैलाउनुपर्छ भन्ने भावनाले भीमलाल नयाँ विद्यालयहरू स्थापना गर्न प्रेरित गर्थे । योगेशले ०५१ सालमा ताप्लेजुङ ढुंगेसाँघुनिवासी विन्दा घिमिरेसँग विवाह गरे ।

 मादीको हडतालदेखि  केन्द्रीय कारागारसम्म
साँघुकै नारायणी निमाविमा कक्षा ७ सम्मको पढाइ सकेर माध्यमिक शिक्षाका लागि योगेश संखुवासभाको मादी माविमा भर्ना  भए, जहाँ पुग्न उनको गाउँबाट दुई दिनको पैदलयात्रा गर्नुपथ्र्यो । गाउँमा माध्यमिक विद्यालय नभएका कारण ०३७ सालमा उनी मादी पुगेका थिए । ०३६ सालको विद्यार्थी आन्दोलनको रापताप बिस्तारै गाउँसम्म फैलिँदै थियो । गाउँसम्म अनेरास्ववियुको चर्चा हुँदै थियो । पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँबाट उठ्नुपर्ने सन्देश मादीसम्म त्यतिवेला पुगिसकेको थियो । पञ्चायती व्यवस्थाविरुद्ध ०३७ चैत १४ मा पहिलोपटक अनेरास्ववियुले आमहडताल ग-यो । नेपालकै पहिलो ऐतिहासिक हडताल सफल पार्न उनी सक्रिय सहभागी भए । संगठित हिसाबले उनको राजनीतिक यात्राको आरम्भ त्यही थियो ।

स्वविवेकले आन्दोलनमा होमिएका योगशले स्कुले जीवनपछि भने ताप्लेजुङका अगुवा शिक्षकहरू डिल्ली घिमिरे, हरि घिमिरे, बोलिनन्द फागोबाट राजनीतिक सम्पर्क र शिक्षा प्राप्त गरे । एसएलसीपछि उच्च शिक्षाका लागि ०४० सालमा राजधानीको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना भए ।  पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा (विषाक्त दूधका विरुद्धको आन्दोलन) १८ वर्षको उमेरमा नै पहिलोपटक केन्द्रीय कारागारमा थुनिएका भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई त्यसवेलै जेलमा भेटेका थिए ।

छोटो समयमै क्याम्पसमा लोकप्रिय र जुझारू नेताका रूपमा उनी स्थापित भए । ०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु निर्वाचनमा उपसभापति र ०४३ सालमा सभापति पदमा अत्यधिक मतले विजयी भए । उनले अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटीको सदस्य तथा बाग्मती अञ्चल कमिटी सचिवको जिम्मेवारी सम्हाले । राजनीतिक जिम्मेवारीसँगसँगै उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तरसमेत गरे ।

०४६ सालको जनआन्दोलनका जुझारू नेता
योगेश ०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भए । बसाइ त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित होस्टलमा थियो । त्यसवेला उनको जिम्मेवारी अखिलको केन्द्रीय सदस्यका रूपमा थियो । जनआन्दोलनका लागि अखिल र नेविसंघबाट समन्वय गर्ने समितिमा अखिलका तर्फबाट जिम्मेवारी योगेशलाई दिइएको थियो ।

सुरुमा कांग्रेस र वामपन्थीको सहकार्य थिएन । उनीहरूकै पहलकदमीबाट विद्यार्थीहरूले सहकार्यको सुुरुवात गरे । नारा तय भयो– आजको आवश्यकता संयुक्त संघर्ष, प्रजातन्त्रका निम्ति पञ्चायतको अन्त्य । ०४६ फागुन ७ गते काठमाडौंको नयाँ सडकमा प्रदर्शन गर्ने कार्यक्रम थियो । उपत्यकाको कमान्डरका हिसाबले त्यसको व्यापक तयारीमा थिए योगेश । तर, ६ गते राति २ बजे उनलाई पक्राउ ग-यो । केही दिनपछि सिन्धुपाल्चोकको चौतारामा लगेर राखियो ।

प्रजातन्त्र आएपछि मात्रै उनी रिहा भए । उनी सम्झिन्छन्, ‘२६ गते राति हामीलाई पनि जेलबाट छोडियो । पछि काठमाडौं खुलामञ्चमा मनमोहन अधिकारी, गणेशमान सिंह, झलनाथ खनाल, कृष्णप्रसाद भट्टराई, साहना प्रधान, गिरिजाप्रसाद कोइरालालगायतले बोल्नुुभयो । प्रजातन्त्र आएको त्यो दिन हर्ष र गौरवको दिन थियो ।’

 सडकदेखि अनेरास्ववियुको  केन्द्रीय अध्यक्षसम्म
०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरेका योगेश संगठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै ०५१ देखि ०५६ सालसम्म अध्यक्ष थिए । उनी अध्यक्ष भएका वेला सबैभन्दा बढी ७३ प्रतिशत क्याम्पसका स्ववियुमा अखिलले सफलता हासिल गरेको थियो । उनी भन्छन्, ‘हाम्रो पालामा पहिलोपटक ७३ प्रतिशत कलेजमा स्वावियुु चुनाव जित्यौँ । विद्यार्थी आन्दोलनलाई शैक्षिक एजेन्डातिर केन्द्रित ग¥यौँ ।’ विद्यार्थीलाई सार्वजनिक सवारीसाधनमा छुट गराउने आन्दोलनको नेतृत्व पनि उनले गरेका थिए ।

०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरेका योगेश संगठनको कार्यालय सचिव, प्रचार विभागप्रमुख, सचिव र महासचिव हुँदै अध्यक्ष थिए

 देशभक्ति र राष्ट्रियताको आन्दोलनका अगुवा
योगेशको आमव्यक्तित्व नेपाली राष्ट्रियताको पक्षमा संगठित ढंगले आवाज बुलन्द गर्ने एक देशभक्त तथा प्रखर राष्ट्रवादी नेताका रूपमा स्थापित छ । राष्ट्रवादी आन्दोलनका अनेक महत्वाकांक्षी कार्यक्रमलाई कार्यान्वयन गरेर उनले यो यथार्थलाई पुष्टि गरेका छन् । उनकै नेतृत्वमा भारतले कब्जा गरेको नेपाली भूमि कालापानी फिर्ता अभियान सम्पन्न भएको थियो । ०५५ जेठमा काठमाडौंदेखि दार्चुलाको कालापानीसम्म भएको काठमाडौं–कालापानी मार्चको नेतृत्व गरेर आफ्नो राष्ट्रवादी छविलाई झन् विस्तारित गरे ।

कालापानी बचाउने आन्दोलन अघि बढिरहँदा नेपालका ६२ स्थानमा भारतले सीमा अतिक्रमण गरेको प्रमाण सार्वजनिक गरियो । पूर्वपाँचथरको च्याङ्थापुदेखि सुस्ता, महेशपुर, टनकपुर हुँदै कालापानीसम्मको सीमासुरक्षा अभियानको अगुवाइ योगेशकै नेतृत्वमा भयो । यसरी उनले आफूलाई वैदेशिक हस्तक्षेपविरुद्ध आन्दोलनमा आफूलाई अग्रभागमा उभ्याउन सफल भएका थिए । उनले ०४५ सालमा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध विद्यार्थी नेताका रूपमा आन्दोलनको अगुवाइ गरे ।

 ‘अप्रिल क्रान्ति’मा  काठमाडौंका कमान्डर
योगेशले २०६२/६३ मा सम्पन्न ऐतिहासिक जनक्रान्तिमा नेकपा (एमाले) को काठमाडौं उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनमा कमान्डरको भूमिका निर्वाह गरे । उपत्यकामा आन्दोलनको उभार ल्याउनमा उनको नेतृत्वदायी भूमिका थियो । आन्दोलनमा उपत्यकाभित्र अन्य राजनीतिक दल, नागरिक समाज तथा १२ बुँदे सहमतिपश्चात् तत्कालीन माओवादीलाई समेत समन्वय गर्न अग्रणी भूमिका खेल्ने ।

 साढे तीन दशकको पार्टी जीवन
०३९ देखि तत्कालीन नेकपा (माले) सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न रहेका योगेशले पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी समिति हुँदै पदाधिकारी तहसम्मको नेतृत्व गरेका छन् । ०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौँ महाधिवेशनबाट अत्यधिक मत ल्याई केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए । उनी पार्टीको नवौँ महाधिवेशनबाट पार्टीको सचिव पदमा निर्वाचित भए । योगेश मदन भण्डारी, नेल्सन मन्डेला र मार्टिन लुथर किङलाई आफ्नो आदर्श मान्छन् ।

तेस्रोपटकको प्रतिस्पर्धामा सांसद हुँदै मन्त्रीसम्मको यात्रा 
तेस्रो चुनावी प्रतिस्पर्धामा सांसद निर्वाचित भएका भट्टराई संसद्मा प्रभावकारी उपस्थिति जनाउँदै संस्कृति पयर्टन तथा नागरिक उड्डयनमन्त्री निर्वाचित भएका हुन् । ०६४ सालको पहिलो संविधानसभा चुनावमा काठमाडौं–६ र ०७० को दोस्रो चुनावमा क्षेत्र नम्बरमा ५ बाट उम्मेदवार बनेका उनी थोरै मतान्तरमा पराजित भएका थिए । पछिल्लोपटक ०७४ सालको संसदीय निर्वाचनमा गृहजिल्ला ताप्लेजुङबाट प्रतिनिधिसभा निर्वाचनमा भट्टराई २९ हजार ४ सय ७९ मत प्राप्त गरी विजयी भए ।

भट्टराईको चुनावी प्रचारमा ताप्लेजुङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई जिताएर पठाउन ताप्लेजुङवासीलाई आग्रह गर्दै मन्त्री बनाउने जिम्मा लिएको घोषणा गरेका थिए । सरकार गठनलगत्तै भट्टराईलाई मन्त्री नबनाइएपछि प्रधानमन्त्री ओली वचनमा पक्का नभएको भन्दै आलोचना भएको थियो । अन्ततः चुनावी प्रचारको वाचा पूरा गर्दै योगेश भट्टराईलाई ओलीले मन्त्री नियुक्त गरेका छन् । नयाँपत्रिकाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*