बालुवाटार जग्गा प्रकरणमा गलत गर्ने चारतारे र लालतारे कसैलाई छोडिन्न् : सञ्चारमन्त्री बास्कोटा

वेलकम खबर
बैशाख १९, २०७६

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गामा बेइमानी गर्नेलाई सरकारले ठेगानमा ल्याउने बताएका छन् । बिहिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले सरकारले यो विषयमा पिठ्यु नफर्काउने बताए ।

उनले भने– ‘सार्वजनिक जग्गामा वेइमान गरेको कुरामा सरकार सचेत छ । सरकार यो विषयमा आँखा चिम्लिनेवाला, आँखा झिम्क्याँउनेवाला, पिठ्यु फर्काउनेवाला छैन । सरकार आफैंले छानविन समिति बनाएर तथ्य बाहिर ल्याउँदा उल्टै सरकारलाई लखेट्ने काम भएको छ ।’

उनले यही सरकारले सो जग्गाबारे छानविनका लागि समिति बनाएर तथ्य बाहिर ल्याएको बताउँदै पार्टीका महासचिव विष्णु पौडेलको नाम देखिने बित्तिकै सरकारलाई लखेट्ने काम भएको बताए । उनले सो प्रकरण अरु थुप्रै भएपनि विष्णु पौडेलमाथि मात्रै धनु चलाउने काम भएको उल्लेख गर्दै विषय विष्णु पौडेल, सुवर्ण शम्शेरको मात्र नभएको बताए ।

उनले भने– ‘कोही प्रति रिसिइवी गर्न उत्खनन् गरेको हैन, यो सुशासन र सरकारी सम्पति भित्रको विषय पर्छ । चारतारे वा लालतारे जो सुकै पर्नुस् तथ्य प्रमाणले जसलाई देखाउँछ, कसैलाई छोड्दैनौ, यो सरकारको स्यान्ड हो ।’

मन्त्री बास्कोटाले आफूले विष्णु पौडेललाई सरकारले क्षतिपूर्ति दिनुपर्छ नभनेको उल्लेख गर्दै सो प्रकरणमा काँग्रेस सभापति देउवा वा नेकपा महासचिव पौडेल भएपनि सरकारले क्षतिपूर्ति नतिर्ने बताए । उनले भने– ‘सो प्रकरणमा गल्ती छ भने पौडेल पनि जान्छन्, देउवा पनि जान्छन् । यहाँ देउवा जोडिनुभयो सरकार पूर्वाग्राही भयो भन्न थालियो, विष्णु पौडेल जोडिँदा चाही कसरी अपराधी हुनुभयो ?

उनले लालपूर्जामा महासचिव, सभापति वा पूर्व प्रधानमन्त्री भनेर नलेखेको बताउँदै बेइमान गरेको कुरालाई ठेगान लगाएरै छाड्न उल्लेख गरे ।

उनले सरकारले नै सार्वजनिक जग्गा सुरक्षा गर भन्ने मत स्थापित गरेकाले यो विषयलाई नरोकी सरकारले अगाडि बढाउने बताए । उनले भने– ‘अन्त अन्त पनि विभिन्न ठाउँमा सार्वजनिक जग्गा मिचिएको छ भन्ने कुराको सरकारलाई सूचना आएको छ, देशभरिको जग्गा छानविनका लागि उच्चस्तरीय छानविन आयोग पनि बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु