नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण
काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री पदको शपथ गराएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार नै उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए । उनले रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा गौरीकुमारी यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेका हुन् ।यसअघि श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका दीपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए ।
उद्योग मन्त्रालयको जिम्मेवारी भने यसअघि प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए । रामजी यादव सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरीकुमारी यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।



















