देशभर बाढी र पहिरोको विनाश : २१ को मृत्यु, १० घाइते, १० बेपत्ता (अपडेट)

काठमाडौंको व्यवस्थित कोलोनीबाटै बोटमा उद्धार
वेलकम खबर
असार २८, २०७६

जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठ भन्छन्–आइतबारसम्म देशैभर अविरल वर्षा

काठमाडौं महानगरपालिकाभित्रैका कुलेश्वर–कलंकी–बल्खु क्षेत्र डुबानमा परे । कुलेश्वरको व्यवस्थित ओरियन्टल कोलोनीभित्र नै बाढी पसेर भुइँतला डुबानमा पर्‍यो । यीसँगै भक्तपुरको राधेराधे र ललितपुरको पाटन क्षेत्रका बाढीपीडितलाई सशस्त्र प्रहरीले बोटबाट उद्धार गर्‍यो । त्यस्तै, ग्वार्कोस्थित किस्ट अस्पतालको भुइँतलामा पानी पसेपछि बिरामीहरूको उपचारसमेत प्रभावित भयो ।

बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण पहाडमा पहिरो गएको छ भने काठमाडौं उपत्यका र तराई डुबानमा परेका छन् । शनिबार विहानसम्म २१ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । १० जना बेपत्ता छन् भने १० जना घाइते छन् । यसैगरी ५० जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।  मृतक र बेपत्ताहरूको संख्या थपिने क्रम जारी छ ।

गृहका अनुसार काठमाडौं र खोटाङमा तीन–तीनजनाको मृत्यु भएको छ । त्यस्तै, झापा, काभ्रे र भोजपुरमा दुई–दुईजनाको मृत्यु भएको छ । पर्सा, रामेछाप, सिन्धुली, ललितपुर, धादिङ, ओखलढुंगा, बारा र मकवानपुरमा एक–एकजनाको मृत्यु भएको छ ।

विपद्मा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट विशेष टिम परिचालन गरिएको छ । उपत्यकामा डुबान भएका क्षेत्रमा डुंगासहित नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिएको छ । तराईमा पनि सेना र सशस्त्र प्रहरीका विशेष टोली खटिएका छन् । पहाडी जिल्लाहरूका लागि पनि उद्धारमा सुरक्षा टोलीहरू राखिएको गृह मन्त्रालयले जनाएको छ ।

अविरल वर्षाका कारण काठमाडौं उपत्यकामै चारको ज्यान गएको छ । काठमाडौंको मूलपानीमा पर्खालमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ भने ललितपुरमा पहिरोमा पुरिएर एकजनाको ज्यान गएको छ । काठमाडौंको कागेश्वरी मनहरा– ६ टहरामा बस्दै आएका २० वर्षीया निलु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । बलराम खत्रीको घरको पर्खाल भत्किँदा टहरामा बस्दै आएका उनीहरू च्यापिएका हुन् । बारा स्थायी घर भएका उनीहरू काठमाडौंमा ज्यालादारी काम गर्थे । त्यस्तै, ललितपुरमा बागमती नगरपालिका–२ मा पहिरोले घर पुरिँदा सुरज जिम्बाको मृत्यु भएको हो ।

हेलिकोप्टर स्ट्यान्डबाई थिए, तर उद्धारका लागि उडाउन सकिएन 

बेदनिधि खनाल
प्रमुख, राष्ट्रिय आपत्कालीन सेवा सञ्चालन केन्द्र 

निरन्तरको वर्षापछि तराईका २३ वटै जिल्ला प्रभावित भएका छन् । पहाडका पनि मध्य र पूर्वी क्षेत्रका जिल्ला प्रभावित छन् । कुनै न कुनै रूपमा देशभर नै असर परेको छ । बिहीबार र शुक्रबार गरेर बाढी, पहिरो तथा डुबानमा १८ जनाको मृत्यु भएको छ, १३ घाइते छन्, सातजना बेपत्ता छन् । चार सय ३५ परिवार विस्थापित भएका छन् । एक सय ५३ भन्दा धेरैको उद्धार भएको छ । तराईमा सप्तकोसी र कमला नदी बस्तीमा छिरेको छ । राजमार्गहरू १२ ठाउँमा अवरुद्ध छन् । राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

शुक्रबार विभिन्न ठाउँबाट उद्धारका लागि हेलिकोप्टर माग भएको थियो । उद्धारका लागि तीन ठाउँमा हेलिकोप्टर स्ट्यान्डबाई राखिएका थिए । तर, प्रतिकूल मौसमका कारण उडाउन सकेनौँ ।

यसपटक पूर्वसूचना प्रणाली प्रभावकारी भएको छ । एक्सन प्लानअनुसार जिल्लाजिल्लामा उद्धार र पूर्वतयारीका काम भइरहेका छन् । स्थानीय तहबाट समेत प्रभावकारी काम भइरहेको छ । सुरक्षा निकाय, सडक विभागलगायत निकायका संयुक्त टोलीहरू पनि परिचालन भएका छन् । रणनीतिक ठाउँमा विशेष टोलीहरू खटिएका छन् ।

त्रिपाललगायतका सामानहरू जिल्लाजिल्लामा छन् । युनिसेफलगायत निकायले पनि विस्थापितहरूलाई वितरणका लागि सामान खरिद गरेका छन् । तराईमा रबरबोटको माग धेरै छ, मागअनुसार दिइएको छ । कतिपय स्थानमा खतराबारे सुसूचित गराउँदा पनि सर्वसाधारणले आफ्नो ठाउँ छाड्न मानेका छैनन् ।

हामीलाई प्राप्त मृतककाे नामावली

  • काठमाडौं– शर्मिला यादव, निलु यादव र कुन्दन यादव
  • खोटाङ– रेखा राई, रोमन राई र रोहन राई
  • काभ्रेपलाञ्चोक– गोमा दंगाल र सुहावी दंगाल
  • झापा– अञ्जन लावती र एलिजा न्यौपाने
  • भोजपुर– जनक विक र जगतबहादुर राई
  • पर्सा– निखिल पटेल
  • रामेछाप– पदमकुमारी सुनुवार
  • सिन्धुली– हेमकुमारी सुनुवार
  • ललितपुर– सुरज जिम्बा
  • धादिङ– अस्मिता तामाङ
  • मकवानपुर– सतमाया बलामी

८ घन्टापछि अन्तर्राष्ट्रिय विमानस्थल चल्यो, धेरै राजमार्गहरू अवरुद्ध

बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहट र सर्लाहीखण्डमा ठूला सवारीसाधन मात्र चल्न सक्ने अवस्था छ । बिपी राजमार्ग पहिरोले अवरुद्ध भएको छ । सुनसरीको रामधुनी, धनकुटाको पाख्रिबास, उदयपुरको रौतामाई, खोटाङको हलेँसी, ओखलढुंगाको मानेभञ्ज्याङ, सिन्धुलीको गोलञ्जोर, रामेछापको मन्थली, ललितपुरको महाँकाल–हेटौँडा राजमार्ग, कान्तिपथ र त्रिभुवनपथ तथा लमजुङ–मनाङ सडक पनि बाढीका कारण अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, धावनमार्गबाट यती एयरलाइन्सको जहाज चिप्लिँदा शुक्रबार बिहान ११ बजेदेखि ८ घन्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अवरुद्ध भयो । नेपालगन्जबाट आएको एटिआर नाइन एन अल्फा एमएम जहाज अवतरणका क्रममा धावनमार्ग छोडर दाहिनेतर्फ १५ मिटर घाँसेमैदानमा पुगेको थियो । दैनिक कम्तीमा तीन सय २५ उडान हुने विमानस्थलमा शुक्रबारको दुर्घटनापछि नियमित तालिकामा रहेका ८० प्रतिशत उडान अवरुद्ध भए । साँझ ७ बजेदेखि मात्र सेवा नियमित गरिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए ।

कहाँ के भयाे ?

सिंहदरबारको पर्खाल भत्कियो 
देशको प्रशासकीय केन्द्र सिंहदरबारकै पर्खाल असुरक्षित तरिकाले निर्माण गरिएको खुलेको छ । वर्षाका कारण सिंहदरबारको पूर्वतर्फको पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा एक सर्वसाधारण सामान्य घाइते भएका छन् ।

गाडीमा ढुंगाले लागेर घाइते 
ललितपुरमा गुडिरहेको गाडीमा ढुंगाले लागेर एक घाइते भएका छन् । बा.४ख ८६४ नम्बरको गाडीमा सवार ३५ वर्षीय दीपक घले घाइते भएका हुन् ।

कुलेश्वर, बल्खु र कलंकी डुबानमा 
शुक्रबार दिउँसो कलंकी र बल्खु क्षेत्रका बस्ती डुबानमा परेका छन् । कुलेश्वरको मनमती खोलाले स्थानीय विनोद चौधरीलाई बगाएको छ । चौधरीलाई खोलाले बगाएको ग्यास सिलिन्डर लिन जाने क्रममा भेलले बगाएको हो ।

कलंकीको मालपोत कार्यालय, भाटभटेनी सुपरमार्केट, खड्गेला पुललगायत क्षेत्र डुबानमा परेको कालिमाटी वृत्तका डिएसपी देवेन्द्र पालले बताए । त्यस्तै कुलेश्वरको भुवनेश्वरी मन्दिर आसपास क्षेत्रका घरमा पानी पसेको थियो । बल्खु खोला आसपासका बस्ती प्रभावित भएको छ । साँझबाट वर्षा कम भएपछि अवस्था सामान्यतिर गएको थियो ।

राधेराधे क्षेत्र डुबानमा 
गत वर्ष भक्तपुरको हनुमन्ते आसपास क्षेत्र डुबेपछि यसपालि पनि पानी पर्न थालेपछि स्थानीय त्रसित थिए । यो क्षेत्रमा सतर्कता पनि अपनाइएको थियो । तर, हनुमन्ते यसपालि पनि बस्ती छिर्‍यो । भक्तपुरका एसपी सविन प्रधानका अनुसार राधेराधे आसपासका १५–२० घर डुबानका परेका छन् ।

किस्ट कलेजमा पानी पस्यो 
ललितपुरको किस्ट अस्पतालको पहिलो तलामा समेत पानी छिरेपछि बिरामी प्रभावित भएका छन् । किस्टमा हरेक वर्ष बर्खामा पानी पस्ने गर्छ । त्यस्तै, पाटन र मंगलबजार क्षेत्रका घरहरू पनि डुबानमा परेको ललितपुर प्रहरीले जनाएको छ ।

डुबानमा जलेश्वर कारागार

रातो र बिग्ही नदीको बाढीले जलेश्वर कारागारसमेत डुबानमा परेको छ, कैदीहरूको घुँडासम्म पानी पुगेको छ । नदीमा पानी बहाव बढ्दै गए पिपरा र एकडारा गाउँपालिका तथा बल्वा, जलेश्वर र मटिहानी नगरपालिकाका बस्तीहरू पनि डुवानमा पर्ने खतरा छ । बल्वा–२ मा घाँस काट्न गएका ७० वर्षीय हनिफ बैठालार्ई रातो खोलाले बगाएको छ । बल्वा–११ को तटबन्ध भत्काएर बस्तीमा पानी पसेको छ ।

रौतहटमा १७ गोठाला बागमती खोलामा फसे
गाई चराउन गएका १७ गोठाला बागमती खोलाको बाढीमा फसेका छन् । उनीहरू रौतहट र सर्लाहीको बीचमा पर्ने वृन्दावन नगरपालिका–१ बलेरीखोर क्षेत्रमा नदीको बगरमा फसेको, तर उद्धार हुन नसकेको स्थानीय रुपेन्द्र पटेलले बताए । रूखमा चढेर ज्यान जोगाइरहेका उनीहरूको उद्धारका लागि सेनालाई लिखित आग्रह गरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । नगरपालिकाले गरेको उद्धार–प्रयास सफल नभएको मेयर रामस्नेही यादवले बताए ।

रूखमा बसेर ज्यान जोगाएकाको २४ घन्टापछि उद्धार
सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा कमला नदीको बाढीमा २४ घन्टाभन्दा बढी फसेका एकजनालाई नेपाली सेनाले उद्धार गरेको छ । ५५ वर्षीय बद्रु मुखिया रूखमा चढेर बाँचेका थिए । उनलाई नदीको बहाव कम भएपछि उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । त्यस्तै, कल्याणपुर नगरपालिका ५ स्थित कमला नदीमै पाँचजना फसेका छन् । उनीहरूको उद्धारको पहल भइरहेको प्रजिअ अधिकारीले बताए ।

मोरङमा चार सय परिवार विस्थापित, २५ सय प्रभावित 
कानेपोखरी–२ मा गेउरिया खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । उनको सनाखत नभएको मोरङ प्रहरीले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार मोरङमा करिब चार सय परिवार विस्थापित भएका छन् भने करिब २५ सय परिवार प्रभावित बनेका छन् । विराटनगर महानगरपालिकाको १, ६, ७, ८ र १६, सुन्दरहरैँचा नगरपालिका १ र जहदा गाउँपालिका कटहरी ४, धकनपालथान ४ र ५ र बुढीगंगाको ७ नम्बर वडाका गरी चार सय परिवार विस्थापित भएका हुन् । विस्थापितमध्ये केहीले स्कुल र सार्वजनिक स्थानमा त केहीले आफन्तकहाँ आश्रय लिएका छन् । मोरङ प्रशासनका प्रवक्ता उमेश पाण्डेका अनुसार विराटनगर–८ सिँगिया खोला किनारको सुकुमवासी बस्तीका ५० घर विस्थापित भएका छन् ।

तस्बिर : नेपाल प्रहरी

बाढीले बेनी–जोमसोम सडक कटान, यातायात अवरुद्ध
कालिगण्डकी नदीमा आएको बाढीले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर कटान गरेर सडक नै बगाएपछि यातायात अवरुद्ध भएको छ । करिब १० मिटर सडक कटान गरेको र सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् । भिरक्षेत्रको सडक बगेकाले तत्काल मर्मतको सम्भावना छैन । अन्नपूर्ण गाउँपालिकाको महभिरमा कालिगण्डकी र गलेश्वर रघुगंगा नदीमा बनाइएको बेलिब्रिजसमेत नदी कटानको जोखिममा परेको छ ।

ओखलढुंगामा जताततै पहिरो, सबै सडक अवरुद्ध
चार दिनदेखि लगातार परेको पानीसँगै आएको बाढी र पहिरोले जिल्लाका सबैजसो सडक अवरुद्ध भएका छन् । भँडारे खोलाको बाढीले सिद्धिचरण लोकमार्ग दुईदिनदेखि अवरुद्ध छ । ओखलढुंगा, खोटाङ र सोलुखुम्बु भएर राजधानी र तराईका जिल्ला जाने–आउने सयौँ सवारी र हजारौँ यात्रु अलपत्र परेका छन् । पैरे खोलाको बाढीका कारण जिल्लाको पश्चिमी क्षेत्रमा सवारी सञ्चालनमा आउन सकेका छैनन् ।

ललितपुरमा एकको मृत्यु 
ललितपुरको बागमती–२ बगुवामा घर भत्किँदा ११ वर्षीय सुरज जिम्बाको मृत्यु भएको छ । दलिनले किचिएर उनको मृत्यु भएको स्थानीयले बताए । दक्षिण ललितपुरका बागमती, महांकाल र कोन्ज्योसोम गाउँपालिकामा बिहीबारबाट विद्युत् तथा सडक अवरुद्ध भएको जनप्रतिनिधिहरूले बताएका छन् । जिल्लाभर दुई सयभन्दा बढी घर पहिरोको जोखिममा रहेको जनाइएको छ ।

बारा र पर्सामा दुई बालकको मृत्यु
परवानीपुर गाउँपालिका–१ रहरियाटोलमा घरअगाडि नालामा डुबेर अगेन्द्र यादवका साढे ४ वर्षका छोरा बिकी यादवको मृत्यु भएको छ । बाराका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार खेलिरहेका उनी नालीमा डुबेका हुन् । अविरल वर्षासँग नाली ठूलो भएको थियो । उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको राठौरले बताए । बाढीमा बग्दै आएको दाउरा संकलन गर्ने क्रममा शुक्रबार पर्सामा एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका–१ बगवनाका १२ वर्षीय निखिल पटेलको मृत्यु भएको प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले जानकारी दिए । चार दिनदेखि लगातार परिरहेको वर्षाका कारण पर्साको सदरमुकाम वीरगन्ज डुबानमा परेको छ । रानीघाट, श्रीपुर, राधेमाई, रामगढवा, आदर्शनगर, चिनी मिल आवास क्षेत्र, नगवालगायतका क्षेत्र पानीको निकास नहुँदा डुबेका छन् । त्यस्तै, भिस्वा, मुडली, लंगडी, धोबिनी, आसवारी, गुलरिया, जयमंगलापुर, सबैठवा, धोरे, हस्वा, मसिहानी, प्रसौनीभाटा, अमरपट्टि, गर्दौललगायतका अधिकांश गाउँ पनि डुबानमा परेका छन् ।

झापामा दुईको मृत्यु, एक बेपत्ता 
बाढीले बगाएर दमक–१० मा एक बालिकाको मृत्यु भएको छ । मामा लोकेन्द्र भण्डारीको घरमा बस्दै आएकी संखुवासभा चैनपुर नगरपालिका–७ की ६ वर्षीया बालिका एलिजा न्यौपानेलाई कलभर्टमा खेलिरहेको बेलामा बगाएको थियो । उनलाई पाँच सय मिटर दक्षिणमा फेला पारेपछि अस्पताल लगिएको थियो । त्यहीँ उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै, बाढीले बगाउँदा भद्रपुर नगरपालिका–९ प्रणामीनगरस्थित हडिया खोला तर्ने क्रममा मेचीनगर नगरपालिका–१४ मजदुर बस्तीका ४५ वर्षीय सुफल हस्दा सतार बेपत्ता भएका छन् । कमल गाउँपालिका–२ र शिवसताक्षी नगरपालिका–३ भएर बग्ने कमल खोलाको बाढीले बगाएर ल्याएको अवस्थामा शुक्रबार एक व्यक्तिको शव भेटिएको छ । साँझ साढे ६ बजे शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान १० बजेबाट बेपत्ता भएका इलाम चुलाचुली गाउँपालिका–१ का ५० वर्षीय अञ्चल लावतीको शव रहेको पुष्टी भएको प्रहरीले जनाएको छ ।

थाहा नगरमा दुईको मृत्यु, एक बेपत्ता
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा बाढीले बगाएर एक बालिका र भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । थाहा नगरपालिका– ३ मा महाभिर खोलाले बगाउ“दा घाइते भएकी बालिका सतमाया बलामीको मृत्यु भएको हो । खोलाले बगाएपछि स्थानीयले उद्धार गरी अस्पताल पु-याएका थिए । उनको अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विद्यालयबाट फर्कने क्रममा जनकल्याण मावि कक्षा ६ मा अध्ययन गर्ने बलामी र स्थानीय युवा सन्तोष बलामीलाई खोलाले बगाएको थियो । सन्तोषलाई सकुशल उद्धार गरिएको छ । त्यस्तै, कैलाश गाउ“पालिका– ५ कालिखोलामा आएको पहिरोमा परी तारामाया पाख्रिन बेपत्ता भएकी छिन् । वर्षा जारी रहेको र खोला तर्न नसकिएको कारण स्थानीय बासिन्दा घटनास्थल पुग्न सकेका छैनन् । थाहा नगरपालिका– ७ आग्राको बाल्चा भिरबाट लडेर रौतहटका २७ वर्षीय उमेश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

काभ्रेमा पहिरोले घर पुर्दा दुईको मृत्यु
काभ्रेको बनेपा नगरपालिका–३, चुनातालमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । ५५ वर्षीया गोमा दंगाल र उनकी सात वर्षीया नातिनी सुहावी दंगालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गोमाकी बुहारी सुशीला दंगाल र तीन महिनाकी नातिनी अनुष्का दंगाल भने घाइते भएका छन् । उनीहरूको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । बिहीबारदेखिको निरन्तर वर्षाका कारण काभ्रेका ग्रामीण भेगमा ठाउँठाउँमा पहिरो गएको छ । बनेपा र पनौती डुबानमा परेका छन् । वर्षाका कारण पुन्यमती खोला बढेपछि डुबान भएको हो ।

खोटाङमा घर बगाउँदा तीनको मृत्यु, एक घाइते 
खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा पहिरोले घर बगाउँदा तीनजनाको मृत्यु भएको छ । शुक्रबार बिहान पहिरोले घर बगाउँदा २९ वर्षीया रेखा राई र उनका छोराहरू चार वर्षीय रोमन र सात महिनाका रोहन बेपत्ता भएको थियो । अपराह्न तीनैजनाको शव फेला परेको छ ।

मृतकका श्रीमान् ३१ वर्षीय विष्णु राई गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि खोटाङ बजार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए । मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको प्रहरीले जनाएको छ । बिहान करिब पाँच बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारैजनालाई बगाएको स्थानीयवासीले बताएका थिए । पहिरो झर्नासाथ स्थानीयवासीले विष्णुलाई उद्धार गरेको प्रहरीले जनाएको छ । बेपत्ता तीनजनाको शव भने इलाका प्रहरी कार्यालय खोटाङबजारबाट उद्धारमा खटिएका प्रहरी टोली र स्थानीयवासीले अपराह्न फेला पारेका हुन् ।

तस्बिर : नेपाल प्रहरी

ओखलढुंगामा दुईजनाको मृत्यु
ओखलढुंगामा बाढीले बगाएर दुई जनाएको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका ४ की ८५ वर्षीया पासाङकुटी शेर्पा र सुनकोसी गाउँपालिका ४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको मृत्यु भएको हो । बिहिबार बेलुका बेपत्ता भएकी शेर्पाको शव शुक्रबार दिउँसो स्थानीय लसुनेखोलाको किनारमाफेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक राजीव श्रेष्ठले बताए । त्यस्तै खेतमा पसेको भेल थुन्ने क्रममा मोलुङ खोलाले बगाएर कुमार राईको पनि मृत्यु भएको छ । उद्धारपछि उपचारका लागि उदयपुरको घुर्मी लैजाने क्रममा उनको मृत्यु भएको स्थानीय बुद्धिमान राईले बताए । राईसँगै रहेका उनका दुईजना नाति घाइते भएका छन् ।

पाँचथरमा खोलाले बगाउँदा बालक बेपत्ता 
दक्षिणी पाँचथरको मिक्लाजुङ गाउँपालिकास्थित रविबजारका आठ वर्षीय जीवन राईलाई खोलाले बगाएको छ । होलिचाइल्ड स्कुलमा अध्ययनरत उनको खोजी भइरहेको पाँचथर प्रहरी प्रमुख नरेन्द्र कुँवरले बताए । लगातार पानी परिरहेकाले खोजी कार्य जटिल बनेको प्रहरीले जनाएको छ । जिल्लाको निबु खोलाछेउमा पहिरो खरेर मेची राजमार्गसमेत अवरुद्ध भएको छ ।

रामेछापमा गोठ भत्किँदा एक महिलाको मृत्यु
रामेछाप नगरपालिका–५ रामपुरमा शुक्रबार बाढीले गोठ भत्काउँदा एकजनाको ज्यान गएको छ । भैँसीलाई घाँस हाल्न गएकी ७१ वर्षीया पदमकुमारी सुनुवारको गोठले किचेर मृत्यु भएको हो । दुईवटा भैँसी पनि मरेका छन् ।

रुकुम (पश्चिम)मा ढुंगाले लागेर किशोरीको मृत्यु 
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पहिरो खस्दा ढुंगाले लागेर एक किशोरीको मृत्यु भएको छ । वडा नम्बर ५ गोतामकोट रिम्काकी १६ वर्षीया कौशिला बस्नेतको मृत्यु भएको हो । सरस्वती माध्यमिक विद्यालय मिग्रीमा कक्षा ८ मा अध्ययनरत बस्नेतलाई जलिगारबाट रिम्का जाँदै गर्दा फारुलाको भिरमा ढुंगाले लागेको वडा नम्बर ५ का अध्यक्ष प्रजित विकले जानकारी दिए ।

सिन्धुलीमा पहिरोले एकको मृत्यु, दुई बस्ती डुबानमा 
पहिरोले गोठ भत्किँदा फिक्कल गाउँपालिका–१ महादेवडाँडाकी ३५ वर्षीया हेमकुमारी सुुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । वस्तुलाई घाँस हाल्न गोठमा गएकी सुनुवारलाई शुक्रबार गोठसँगै पहिरोले बगाएको थियो । उनीसँगै पहिरोमा पुरिएकी एक महिलालाई स्थानीयले सकुशल उद्धार गरेका छन् । सुनवारको तीनवटा गाई र तीनवटा बाख्रासमेत पहिरोले पुरेको छ । बागमती नदीमा आएको बाढीका कारण मरिण र हरिहरपुरगढीका दुई बस्ती डुबानमा परेका छन् । हरिहरपुरगढी गाउँपालिका–३ घँटेगुर्जीका ६० भन्दा बढी घर डुबेको गाउँपालिका अध्यक्ष करसाङ लामाले बताए । त्यस्तै, मरिण गाउँपालिका–७ बाह्रबिसेका बस्ती डुबाननमा परेको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताए बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गको दर्जनभन्दा बढी पहिरो खसेको छ । गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा चट्याङ लागेर ४० वर्षीया निर्मला कार्की घाइते भएकी छन् ।

 

बाराका दुई सय घरपरिवार विस्थापित
बारामा बाढीका कारण करिब दुई सय घरपरिवार विस्थापित भएका छन् । बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले फेटा गाउँपालिका– १ त्रिवेणीमा ८० घर, जीतपुरसिमरा उपमहानगरपालिका– ८ रमौलीमा ३५ घर, वडा नं. १० मा २५ घर, वडा नं. २४ हरपुरमा २५ घरपरिवारलाई अन्यत्र सारिएको जानकारी दिए । राठौरले डुबानका कारण जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेको जानकारी आइरहेको र उद्धारका लागि प्रहरी परिचालन भइरहेको जानकारी दिए । त्रिभुवन राजपथको पथलैया–हेटौँडा सडकखण्डअन्तर्गत चुरियामाई क्षेत्रमा पहिरो जाँदा यातायात प्रभावित बन्न पुगेको छ । निजगढस्थित सहिद चोक क्षेत्र डुबानमा परेको छ । डुबानका कारण केहीबेर यातायात आवागमनसमेत रोकिएको थियो । डुबानकै कारण निजगढ नगरपालिकाको शैक्षिक क्षेत्र पूर्ण रूपमा प्रभावित बनेको छ ।

ताप्लेजुङमा पुल बग्यो, ३२ घर बाढीको जोखिममा
दुर्गम गाउँ याम्फुदिनका ३२ घर खोलाको जोखिममा परेको छ । चार दिनदेखि पानी परिरहेकाले तुम्याहाखोलाले बस्तीतिरको जमिन कटान गर्दै गएको स्थानीय डिल्लीकुमार गुरुङले बताए । खोलाले झोलुंगे पुल बगाएपछि ३२ परिवारलाई गाउँपालिका केन्द्र थुंगीनसँग छुटाएको छ । डिल्लीकुमारले आफूहरू रातभर जागा बस्ने गरेको बताए ।

महोत्तरीमा एक वृद्ध बेपत्ता
बल्वा–२ मा घाँस काट्न गएका ७० वर्षीय हनिफ बैठालार्ई रोतो खोलाले बगाएको छ । बल्वा–११ को तटबन्ध भत्काएर बस्तीमा पानी पसेको छ । रातो र बिग्ही नदीको बाढीले पिपरा र एकडारा गाउँपालिका तथा बल्वा, जलेश्वर र मटिहानी नगरपालिकाका बस्ती डुबानको खतरामा छन् । सोनमा गाउँपालिकाको मगरथाना र औरही नगरपालिकाको फुलबरियामा पनि बाढी छिरेको छ । जलेश्वर कारागारसमेत डुबानमा परेको छ ।

धनकुटामा दुई बालिका घाइते 
धनकुटाको चौबिसे गाउँपालिका–१ सौरेका दिलीप गजमेरको घर पहिरोले बगाउँदा उनका दुई छोरी ६ वर्षीया एलिसा र ८ वर्षीया एलिना घाइते भएका छन् । चौबिसे– ५ का नहेन्द्र लिम्बू र दिलबहादुर मुदेलको घर भत्किएका छन् । दर्जनौँ घर जोखिममा रहेको स्थानीय तहहरूले जनाएका छन् भने केही स्थानमा यातायात अवरुद्ध भएको छ ।

तस्बिर : नेपाल प्रहरी

सुनसरीमा ६० घर विस्थापित 
मंगलबारदेखि परेको पानीको कारण सुनसरीका ठूला सहर डुबानमा परेका छन् । इटहरी, इनरुवा, दुहबीलगायतका सहर डुबेका छन् । हरिनगरामा ६० घर परिवार डुबानमा परेका छन् । उनीहरूलाई स्थानीय तहको पहलमा सुरक्षित स्थानमा सारिएको सुनसरीका प्रमुख जिल्लाअधिकारी प्रेमप्रसाद उप्रेतीले जानकारी दिए ।
सेहेरा खोलामा आएको बाढी इटहरीमा पसेको छ । सयौँ घर डुबेका छन् भने तरहरादेखि इटहरीसम्मको सात किमी सडक जलमग्न भएको छ ।

रौतहटमा १७ गोठाला बागमती खोलामा फसे
गाई चराउन गएका १७ गोठाला बागमती खोलाको बाढीमा फसेका छन् । रौतहट र सर्लाहीको बीचमा वृन्दावन नगरपालिका–१ बलेरीखोर क्षेत्रमा नदीको बगरमा फसेको तर उद्धार हुन नसकेको स्थानीयले बताएका छन् । उनीहरू रूखमा चढेर बसेको र उद्धारका लागि हारगुहार गरिरहेको स्थानीय रूपेन्द्र पटेलले बताए । प्रमुख जिल्ला अधिकारी किरण थापाले उनीहरूको उद्धारका लागि लिखितपत्र पठाएर सेनाको हेलिकोप्टर मगाइएको बताए । नगरपालिकाले आवश्यक सामग्रीसहित उद्धार टोली पठाए पनि प्रयास असफल भएको नगरप्रमुख रामस्नेही यादवले बताए ।

त्यस्तै, गढीमाई नगरपालिका–६ पकहाबखरी टोल डुबानमा पर्दा ४० वर्षीया दुलारी देवी बेपत्ता भएकी छिन् । पकहाबखरी टोलमा दुई सय घर छन् । चन्द्रपुर नगरपालिका–३ समेत नदी कटानको खतरामा परेको छ । चाँदी खोलामा आएको बाढीका कारण चन्द्रनिगाहपुरसँग वडाको सम्बन्ध नै टुटेको वडाध्यक्ष रवि देवकोटाले बताए । धार परिवर्तन गरेर खोला गाउँ पस्न थालेको उनले बताए । ३ नम्बर वडामा तीन दिनदेखि बिजुलीसमेत अवरुद्ध छ । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु