ताप्लेजुङ लाखेजात्रा फुटबलमा ‘ब्रेक’
ताप्लेजुङमा लाखेजात्राको अवसरमा २०२९ सालदेखि हुँदै आएको फुटबल प्रतियोगिताले स्वर्ण उत्सव मनाउनुपर्ने हो । तर दुर्भाग्य, हजारौं दर्शक, स्थानीय र खेलप्रेमीको चासोबीच पनि आयोजकको अभावमा प्रतियोगितामा ब्रेक लाग्ने अवस्था आएको छ ।
ताप्लेजुङ ।जब साउन/भदौ लाग्छ, ताप्लेजुङमा मात्र होइन, वरपरका जिल्लामा लाखेजात्रा फुटबल प्रतियोगिताको चर्चा सुरु भइहाल्छ । खेलप्रेमी र स्थानीयबीच प्रतियोगितासम्बन्धी ज्वरो ह्वात्तै बढ्छ । नहोस् पनि किन ? धान, कोदो, मास, मस्यामलगायतका बर्खायामका बाली लगाएका गाउँका युवादेखि वृद्धवृद्धासम्म प्रतियोगिता हेर्न सदरमुकाममा केन्द्रित हुन चाहन्छन् ।
तर दुःखको कुरा २०२९ सालदेखि लाखेजात्राको अवसरमा निरन्तर हुँदै आएको प्रतियोगिता पछिल्लो तीन वर्षयता ठप्प छ । यो वर्ष पनि भएन भने चार वर्ष पुग्छ । दुई वर्ष कोभिड महामारीका कारण खेल रोकियो । गत वर्ष भने खेल मैदानका कारण भएन । यो वर्ष हुन्छ कि भन्ने आशा थियो, तर आयोजकको अभावमा तयारी हुने समयसम्म पनि सुनसान छ । विगतका आयोजकमध्येका कोही विदेश गए । जिल्लामै भएकाहरू निष्क्रिय भएर बसेका छन् ।लाखेजात्रा खेल सञ्चालक समितिका अध्यक्ष नारान थापा चासो लिने मान्छे नभएकै कारण प्रतियोगिता अन्योल रहेको बताउँछन् । हाल उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका थापा यसअघिका आयोजक हुन् । ‘पहिलाको टिम फाटेर छिन्नभिन्न भएको छ,’ उनले भने, ‘कोही साथीहरू विदेश गए, अहिले त खै चासो लिने कोही छैनन ।’ यसअघि रक्षाबन्धन (जनैपूर्णिमा) को दिन सुरु भएर श्रीकृष्ण जन्माष्टमीमा समापन हुन्थ्यो । यो वर्ष रक्षाबन्धन भदौ १४ मा छ ।
प्रतियोगिता आयोजक समितिका अर्का पूर्वअध्यक्ष युगराज गुरुङ भने अझै पनि समय रहेको बताउँछन् । तर यस वर्ष प्रतियोगिता हुन निकै कठिन देख्छन् थापा । उनका अनुसार विगतकै शैलीमा गरे प्रतियोगिता सम्पन्न गर्न ३५ लाख रुपैयाँसम्म चाहिन्छ । सदरमुकाममै रहेको फुङलिङ नगरपालिकाले ७०/८० हजार रुपैयाँ दिने गरेको छ । ‘पहिला पुरस्कारको व्यवस्था पाथीभरा समितिले गरेको थियो । नामै पाथीभरा गोल्डकप राखिएको थियो,’ थापाले भने, ‘गत असोजमा भएको महोत्सवमा पाथीभराको विषयमा विवाद भयो । अहिले अन्योल छ ।’
हजारौं दर्शक, स्थानीय र खेलप्रेमीको चासो हुने भएकाले प्रतियोगिताको जिम्मा फुङलिङ नगरपालिका वा जिल्ला फुटबल संघले लिनुपर्ने पूर्वआयोजकहरू बताउँछन् । ‘पहिला गोर्खा ब्रुअरीलगायतले स्पोन्सर गर्थे । अहिले उनीहरूले विज्ञापन गर्न नपाउने भएछन् । त्यसैले दाता पनि छैनन्,’ थापाले थपे, ‘हामीसँग पहिलाको पाँच/छ लाख पैसा छ । अब खेलकुदकै क्षेत्रमा काम गर्नेले जिम्मा लिनुपर्छ ।’
जिल्ला फुटबल संघका अध्यक्ष अशोक चेम्जोङ प्रतियोगिता गराउने पक्षमा छन् । तर फुटबल संघ एक्लैले मात्रै गर्न नसक्ने उनको भनाइ छ । ‘अहिले यस्तो मन्दी छ, पहिला जस्तो स्पोन्सर पाइँदैन,’ चेम्जोङले थपे, ‘हामी पनि फुटबलकै विकासका लागि आएका हौं, तर एक्लैले गर्न सकिँदैन ।’ विगतमा भने कुनै पनि प्रतियोगिता घाटामा नगएका आयोजकहरू बताउँछन् । उनीहरूका अनुसार टिकटबाटै पनि आधा खर्च उठ्ने गरेको छ ।
प्रतियोगिता गराउने मैदान भानुजन माविको मात्रै छ । गत वर्ष विद्यालयले मैदान सुधारको क्रममा रहेको भनेर दिएन । यो वर्ष मैदान दिन सकिने तर संरचनामा क्षति पुगे मर्मत गर्नुपर्ने भानुजन माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष युगराज गुरुङ बताउँछन् । उनका अनुसार दुई/तीन लाख रुपैयाँ विद्यालयले पहिल्यै धरौटी माग गर्छ । गुरुङ स्वयं यसअघिको खेल आयोजक समितिका अध्यक्ष पनि हुन् ।

आर्थिक सहयोगदेखि आयोजकसम्मको अपेक्षा गरिएको फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन भने आगामी वर्षदेखि प्रतियोगिता हुने दाबी गर्छन् । ‘खेल मैदानको समस्याकै कारण नगरपालिकाले यो आर्थिक वर्षमा जमिन खरिदका लागि बजेट विनियोजन गरेको छ,’ मेयर मादेनले भने, ‘यही वर्ष त्यसलाई सम्याएर अर्को वर्षचाहिँ त्यसैमा गर्ने तयारीमा छौं ।’ नगरले ३ करोड ५० लाख रुपैयाँ खेल मैदान बनाउने जमिन खरिद गर्न बजेट विनियोजन गरेको छ । हेलिप्याडछेउको रिट्ठे पोखरीको ३५ रोपनी जग्गा खरिदको चर्चा छ । नगरले गत आर्थिक वर्षमै जग्गाका लागि आह्वान गरेको थियो ।
तर फुटबलप्रेमीहरू यसै वर्ष जमिन किनेर, सम्याएर, त्यसैमा आगामी वर्षकै प्रतियोगिता गर्न सम्भव नहुने बताउँछन् । उनीहरूको बुझाइमा द्रुत गतिमा काम भए पनि तीन/चार वर्ष लाग्न सक्छ । लाखेजात्रा खेल सञ्चालक समितिका सहसचिव टिकेन्द्र नेपालीलगायतका युवा भने जे जस्तो भए पनि यसै वर्ष प्रतियोगिता गर्नुपर्ने पक्षमा छन् । उनीहरूले सरोकारवालालाई झक्झक्याउने काम गरिरहेका छन् । ‘प्रतियोगिता गर्नुपर्छ भन्नेमा युवाको एकमत छ,’ नेपालीले भने, ‘हामी गर्छौं भनेर उद्घोष गरिहाल्नचाहिँ सकेका छैनौं ।’
यसअघिको प्रतियोगिताका विजेतालाई ३ लाख र उपविजेतालाई १ लाख ५१ हजार नगद पुरस्कार दिइएको थियो । अन्य जिल्लाबाट आएका खेलाडीलाई बस्ने, खाने र खेलेका दिनको भत्ता दिइन्थ्यो । दर्शकको टिकटका लागि सेमिफाइनलअघिसम्म एक सय, सेमिफाइनलमा १ सय ५० र फाइनलमा २ सय रुपैयाँ पर्थ्यो । हरेक वर्षजसो खेलको रेफ्री गर्दै आएका मोतीहाङ लिम्बूका अनुसार पछिल्ला वर्ष विदेशी र ए डिभिजन लिगका गरी डेढ दर्जनभन्दा बढी खेलाडी सहभागी हुने गरेका थिए । काठमाडौं, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र भारतको सिक्किम र दार्जिलिङका खेलाडी टिमसहित सहभागी हुन्थे ।
२०२४ मा भानुजन मावि हाल नेपाली सेनाको ब्यारेक रहेको तोक्मे डाँडामा थियो । त्यहाँ रहेको पोखरीलाई पुरेर मैदान बनाउन शिक्षक र विद्यार्थीहरू लागे । पुराना खेलाडी भरतकुमार गुरुङका अनुसार शिक्षक बालकृष्ण श्रेष्ठको नेतृत्वमा दिनहुँ एक घण्टा माटो हालेर पोखरी पुरेर मैदान बनाउन खटिनुपर्थ्यो । अहिले नेपाली सेनाले मैदानकै रूपमा प्रयोग गरिरहेको उक्त स्थानमा फुटबल प्रतियोगिता हुन थाल्यो ।

जिल्लाबाट बेलायत सैनिकमा भर्ना भएका युवाले नगद, फुटबल र सिल्डलगायतका सामग्री पठाइदिन थाले । पहिलो पटक २० हजार पठाएको पुराना खेलाडी भरत गुरुङ बताउँछन् । त्यसपछि छिमेकी जिल्ला पाँचथर र तेह्रथुमका खेलाडीलाई पनि बोलाउन थालियो । २०२९ देखि भने लाखेजात्राको अवसरमा लाखेजात्रा फुटबल प्रतियोगिताकै नाममा सुरु भयो । त्यसयता कोभिड महामारीअघिसम्म प्रतियोगिता हरेक वर्ष भयो ।
लाहुरेहरूले पठाएकाले लाहुरे सिल्ड, त्यसपछि कञ्चनजंघाको प्रचार गर्ने मनसायले कञ्चनजंघा सिल्ड र पाथीभराको सहयोगमा पाथीभरा गोल्डकप नाम राखिएको थियो । २०३० सालमा भानुजन मावि अम्बिटारमा सरेपछि फुटबल हुने गरी मैदान बनाइएको खेलाडीहरू बताउँछन् । कतिपय प्रतियोगिता विद्यालयले र कतिपय क्लब वा समिति बनाएर गरिएको थियो ।यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।



















